मोडल इन्टिच्युट अफ टेक्नोलोजी काठमाडौंले एकेडेमिक लिडरशिप समिट २०२३ एवम् एमआइटी लन्च सेरेमनी सम्पन्न गरेको छ।
उक्त कार्यक्रमको उद्घाटन अमेरिकाका लागि नेपाल सरकारका पूर्व राजदूत डा. अर्जुन कार्की र अध्यक्ष सुरेन्द्र सुवेदीले संयुक्त रुपमा गरे।
कार्यक्रममा बोल्दै सुवेदीले विदेशिने विद्यार्थीको आँकडा प्रस्तुत गर्दै ती युवा जनशक्तिलाई नेपालमै विश्वस्तरको शिक्षा प्रदान गरी स्वेदशमा अवसर प्रशस्त गर्न सकिने विचार राखे।
गुणस्तरीय शिक्षा केही महँगो हुने तर यसले देशलाई दीर्घकालीन सहयोग गर्ने तर गुणस्तरहीन शिक्षा सस्तो भएता पनि यो कालान्तरमा महँगो पार्न जाने विचार राखे।
यसका लागि नेपाल सरकार, शिक्षाविद्ध, बुद्धिजीवि, उद्योगपति, व्यापारी तथा सबै व्यावसायीहरूबाट मोडल इन्टिच्युट अफ टेक्नोलोजीलाई साथ र सहयोग हुनेमा आफू विश्वस्त रहेको बताए।
कार्यक्रमा मध्यपश्चिम विश्वविद्यालयका पूर्व भाइस चान्सलर प्रा.डा. उपेन्द्रकुमार कोइरालाले उच्च शिक्षाको आवश्यकता, समस्या तथा समाधान” विषयमा कार्यपत्र प्रस्तुत गर्दै इमान्दार भई शिक्षा क्षेत्रमा लागेमा नेपालमा सम्भावना नै सम्भावना भएको र नेपालको शिक्षित युवा जनशक्तिलाई विदेशिनबाट रोक्ने बताए।
नेपाल सरकारका पूर्व अमेरिकी राजदूत डा. अर्जुन कार्कीले आधुनिक समाजको निर्माणमा दक्ष जनशक्ति देशको अर्थतन्त्रको मेरुदण्ड भएको र देशलाई दक्ष जनशक्तिले नै विश्वसामु चिनाउने भएकोले एमआइटीले दक्ष, अनुशाशित तथा विश्वसमाज बुझ्ने र विश्वसमाजमा जुध्न सक्ने युवा जनशक्ति निर्माण गर्न यसले अगिंकार गरेको पाठ्यक्रम, विषयवस्तु तथा यसले सञ्चालन गर्ने अनुसधानात्मक शिक्षण विधिले देशलाई अगाडि बढाउने विचार राखे ।
कार्यक्रममा एमआइटीका रामकृष्ण दाहालले आफू शैक्षिक क्षेत्रमा लामो समयदेखि लागि परेको र नेपालमा स्वदेश तथा विदेशका राम्रा विश्वविद्यालयका कार्यक्रमहरू सञ्चालन गरी स्वदेशमै विश्वस्तरको ज्ञान र क्षमता प्रदान गर्ने उद्देश्यले इन्टरनेशनल अमेरिकन युनिभर्सिटी (आइएयु) सँगको सहकार्यमा उच्च शिक्षामा व्यावस्थापन र आइटीका कार्यक्रमहरू सर्व सुलभ शुल्कमा विभिन्न छात्रावृत्ति सहित नेपालमै गर्न लागेको जानकारी गराए।