सरकारले भोली (सोमबार) विश्व बसोबास दिवस मनाउने भएको छ।
सबैका लागि उपयुक्त आवास सुनिश्चित गरी दिगो सहरी विकास गर्ने उद्देश्यले यो दिवस मनाउन लागिएको हो।
भोलि उपत्यकामा सहरी अर्थतन्त्रका विभिन्न पक्षसहितको प्राविधिक शत्र र छलफल आयोजना गरी यो दिवस मनाइने सहरी मन्त्रालयका सहसचिव दिलीप भण्डारीले जानकारी दिए।
संयुक्त राष्ट्रसंघीय मानव बसोवास कार्यक्रम (युएन ह्याबिट्याट) ले सन् १९८६ देखि हरेक वर्ष पहिलो अक्टोबरमा विश्व बसोबास दिवस मनाउँदै आएको छ।
यो वर्षको विश्व बसोबास दिवसको मूल नारा समृद्धि एवम् पुनर्लाभयुक्त सहरः उत्थानशील अर्थतन्त्रको आधा छ।
संयुक्त राष्ट्रसंघीय मानव बसोवास कार्यक्रमले सन् २०२२ को अक्टोबरमा प्रकाशित गरेको विश्व सहरी प्रतिवेदनअनुसार सहरीकरणको प्रक्रिया विकसित राष्ट्रहरूमा बढी देखिएको छ।
ती मुलुकमा कुल जनसंख्याको ७९ प्रतिशत नागरिक सहरी क्षेत्रमा बसोबास गर्छन्।
यो दरले निरन्तरता पाउने हो भने सन् २०५० सम्ममा ति मुलुकमा सहरी जनसंख्या ८७ प्रतिशत पुग्ने देखिन्छ।