दसैं, तिहार लगायतका चाडपर्वलाई लक्षित गरेर भरतपुरमा पर्व विशेष मेला सुरू भएको छ। मेलामा अहिले नेपालमा उत्पादन भएका जुत्ता, चप्पलका स्टलहरू राखिएका छन्।
नेपाल जुत्ता घरसँगको सहकार्यमा चितवन उद्योग संघले आयोजना गरेको पर्व विशेष मेला गत बिहीबारदेखि सुरू भएको हो।
स्वदेशी उत्पादनको उपभोगलाई प्रोत्साहन गर्ने उद्देश्यले जुत्ता चप्पल, खाद्यान्न, लत्ताकपडा, खसी, बोका लगायतका उपभोग्य वस्तुहरू एउटै छानामुनि उपलब्ध गराउने गरी मेला आयोजना गरिएको संघका अध्यक्ष त्रिलोचन कँडेलले बताए।
मेलाको पहिलो चरणमा जुत्ता–चप्पलको प्रदर्शनी भएको हो। असोज ३० गतेसम्म चल्ने जुत्ता, चप्पल प्रदर्शनीमा १३ वटा स्वदेशी ब्राण्डका स्टलहरू छन्। नेपाली जुत्ताघरका अध्यक्ष होमनाथ उपाध्यायले स्वदेशी जुत्ता गुणस्तरको बारेमा उपभोक्तालाई जानकारी गराउने र विदेशी जुत्तालाई निरूत्साहित बनाउने उद्देश्य रहेको बताए।
मेलाले देशमै रोजगारी सिर्जना, राजस्वमा योगदान, आयात प्रतिस्थापन गरी राज्यको आर्थिक समृद्धिमा सहयोग पुर्याउने दाबी उपाध्यायको छ।
मेलाको माध्यमबाट उत्पादक, उपभोक्ता र सरोकारवाला बीचको प्रत्यक्ष सम्बन्ध स्थापना हुने तथा उत्पादनको बजारीकरण हुने विश्वास उनको छ।
फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष रूद्रप्रसाद न्यौपानेकाअनुसार भारतबाट अनौपचारिक रूपमा नेपाल भित्रिने जुत्ता, चप्पलले नेपाली उत्पादनको बजार बिगारिरहेको छ। मेलामार्फत् ती जुत्ता, चप्पललाई निरूत्साहित गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न आह्वान गरिएको उनले बताए।
नेपालमा अहिले साना, ठूला गरी १ हजार भन्दा बढी जुत्ता उद्योग छन्। करिब ३० वटा ब्राण्डहरू नेपालमा स्थापित भइसकेका छन्। केहीले विभिन्न देशमा निर्यात पनि गर्छन्।
नेपालमा बर्सेनि १० करोड जोर जुत्ता, चप्पल खपत हुने गरेको तथ्यांक एसोसिएसनसँग छ। यसमध्ये करिब ६५ प्रतिशत स्वदेशी उत्पादन खपत हुन्छ। ३५ प्रतिशत विदेशी जुत्ता खपत हुने गरेकोमा करिब एक तिहाइ भारतबाट अवैधानिक रूपमा आउने गरेका छन्।
नेपालमा उत्पादन भएका एक करोड जोर जुत्ता वार्षिक रूपमा निर्यात हुने गरेको न्यौपानेले बताए।
‘नेपाली उद्योगहरूको उत्पादन क्षमता वर्षमा १४ करोड जोर जुत्ता, चप्पल उत्पादन गर्ने हो। तर पूर्ण क्षमतामा उत्पादन हुन सकेको छैन,’ न्यौपाने भन्छन्, ‘नेपाली जुत्ताको गुणस्तर बढाउँदै देशलाई आत्मनिर्भर बनाउन हामी लागिरहेका छौं।’
वैधानिक बाटोबाट आइरहेका जुत्तालाई यसवर्ष ५० प्रतिशतले कम गर्ने लक्ष्य रहेको उनले बताए।
‘नेपाली जुत्ताको प्रवर्द्धन गर्न ठाउँ–ठाउँमा प्रदर्शनी गर्ने काम भइरहेको छ। हामीले देशका ठूला सहरहरूमा नेपाली ब्राण्डका जुत्ता, चप्पलको संयुक्त शोरूम स्थापना गर्न थालेका छौं,’ न्यौपानेले भने, ‘यसले एकै ठाउँबाट फेसनअनुसारका स्वदेशी जुत्ता, चप्पल खरिद गर्न उपभोक्तालाई सहज भएको छ। संयुक्त शोरूम हुँदा उत्पादकको खर्च पनि घटेको छ।’
फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालका अर्का उपाध्यक्ष सुरज बन्जाडेले गुणस्तरीय र समयअनुसारको फेसनका जुत्ताहरू उत्पादन गरेर बिक्री गरिरहेको बताए।
भरतपुरमा भइरहेको मेलामा बिएस डियर हिल, फस्र्ट वाक, केटिएम, फुट स्टेप, रन, स्मार्ट, सुज लेन, आइलाइफ, क्रस रोड, सिल्स, पिजी सुज, डिजे कलेक्सन, बेल्लीका स्टलहरू छन्।
मेलामा करिब २ लाख जनाले भ्रमण गर्ने अनुमान गरिएको छ।
गत वर्षको फागुन र चैतमा पनि भरतपुरमा एक महिना जुत्ता मेला गरिएको थियो।
उक्त मेलामा ६ करोड रुपैयाँको कारोबार भएको बन्जाडेले बताए। यसपालि चाडपर्वको समयमा मेला गरिएकाले १० करोड रुपैयाँको कारोबार हुने लक्ष्य राखेको उनले बताए। जुत्ता मेला असोज ३० गतेसम्म चल्नेछ।
पर्व विशेष मेलामा असोज २१ गतेदेखि दैनिक उपभोग्य खाद्यान्न लगायतका सामग्रीको समेत बिक्री वितरण गरिँदैछ। विभिन्न गार्मेन्ट उद्योगहरूसँगको सहकार्यमा अन्तिम हप्ता लत्ताकपडाको स्टलहरू राख्ने चितवन उद्योग संघले जनाएको छ।
प्रदर्शनी केन्द्रमा भइरहेका मेलामा दसैंका लागि खसी, बोका, भेडा–च्याङ्ग्रा, हाँस लगायतका मासुजन्य उत्पादनहरूको पनि बिक्री वितरण गरिने संघका अध्यक्ष कँडेलले बताए।
‘आर्थिक मन्दीका कारण बजारमा चहलपहल घटेको छ। चाडपर्वका लागि आवश्यक पर्ने सबै सामान एकै ठाउँमा किन्न मिल्ने व्यवस्था मिलाउन सके उत्पादक र उपभोक्त दुवैलाई सहज हुने देखेर पर्व मेला आयोजना गरिएको हो,’ कँडेलले भने, ‘यसले पलायन हुने अवस्थामा पुगेका उद्यमीहरूलाई प्रोत्साहन गर्ने विश्वास लिएका छौं।’