नेपाल क्रिकेट संघ (क्यान) र आइएमई डिजिटल सोलुसन लिमिटेडबीच रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर भएको छ।
काठमाडौंमा बिहीबार एक समारोहबीच नेपाल क्रिकेट संघको तर्फबाट सचिव पारस खड्का र आइएमई डिजिटल सोलुसन लिमिटेडका तर्फबाट आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुरूप आइएमई डिजिटल सोलुसन लिमिटेड आउँदो २ वर्षको समय अवधिका लागि नेपाल क्रिकेट संघले देशभित्र आयोजना गर्ने अन्तर्राष्ट्रिय खेलहरूको टिकेटिङ पार्टनरका
रूपमा रहने छ।
सम्झौता लागु भएसँगै आउँदो २ वर्षको समय अवधिमा नेपाल क्रिकेट संघले नेपालमा आयोजना गर्ने सम्पूर्ण अन्तर्राष्ट्रिय खेलहरूको फिजिकल र अनलाइन टिकेटको बिक्रीको जिम्मेवारी आइएमई पेले पाएको छ।
नेपाल क्रिकेट संघका सचिव पारस खड्काले आइएमई पेसँगको यो साझेदारीले नेपाली क्रिकेटको बहुआयामिक विकासमा सहयोग पुग्ने बताए।
'नेपाली क्रिकेटको स्तरवृद्धि र दिगो विकासका लागि आउँदो दिनहरूमा हामीले अन्तर्राष्ट्रिय टोलीहरूसँग धेरैभन्दा धेरै खेलहरू खेल्नुपर्ने अवस्था रहेको छ। यसै बीचमा आई एम ई पे जस्तो संस्थाले नेपाली क्रिकेटमा लगानी गर्ने निर्णय गर्नु हामी सबैका लागि खुसीको खबर हो।’
यस्तै, नेपाली क्रिकेटको विकासका विभिन्न आयाममा जोडिन पाउँदा गौरवान्वित रहेको आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए।