रूवाण्डा सरकारले नेपालका लागि वाणिज्यदूतमा व्यवसायी प्रज्वलजंग पाण्डेलाई नियुक्त गरेको छ।
नेपाल औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष एवम् सफल व्यवसायी पाण्डेलाई रूवाण्डा सरकारले आफ्नो वाणिज्यदूतमा नियुक्त गरेको हो।
नवनियुक्त वाणिज्यदूत पाण्डेलाई परराष्ट्रमन्त्री एनपी साउदले प्रमाणपत्र दिँदै नेपालका लागि रूवाण्डाको वाणिज्यदूतको आधिकारिकता प्रदान गरेका हुन्।
वाणिज्यदूतमा पाण्डेको नियुक्तिसँगै द्विपक्षीय सहायता तथा सहयोगमा काम हुने भएको छ। जसमा व्यापार, आयात निर्यात, पर्यटन, संस्कृतिलगायत दर्जनौं क्रियाकलापमा द्विपक्षीय रूपमा विशेष सुविधाको उपयोग गर्न पाइने नवनियुक्त वाणिज्यदूत पाण्डेले जानकारी दिए।
साथै आगामी दिनमा रूवाण्डा र नेपालबीच भाइचारा सम्बन्ध विस्तार गर्दैै देशमा वैदेशिक लगानी भित्र्याउन सहयोग पुग्ने पाण्डेले बताए।
'रूवाण्डाले भर्खरै मात्र नेपालमा आफ्नो वाणिज्यदूत नियुक्त गरेको छ,' नवनियुक्त वाणिज्यदूत पाण्डेले भने, 'यसले दुई देशबीचको सम्बन्ध अझै प्रगाढ बन्नेछ।'
साथै कार्यक्रममा परराष्ट्र मन्त्री साउदले पाण्डेको नियुक्तिसँगै नेपाल र रुवान्डाबीच दुई देशीय व्यापार अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास सरकारले लिएको बताए।