गुल्मी उद्योग संघको आयोजनामा पहिलो पटक तम्घासमा महोत्सव हुने भएको छ।
आगामी कात्तिक १५ गतेदेखि २५ गतेसम्म उपल्लो तम्घासको खाला चौरमा महोत्सव आयोजना गरिने गुल्मी उद्योग संघका अध्यक्ष नवराज भुसालले जानकारी दिए।
सोमबार बुटवलमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष भुसालले स्थापना भएको छोटो समयमै गुल्मी उद्योग संघले महोत्सव आयोजना गर्न लागिएको बताए। उद्योग, कृषि र पर्यटनलाई प्राथमिकता दिएर आयोजना गर्न लागिएको महोत्सवले समग्र आर्थिक क्षेत्रमा टेवा पुग्ने अपेक्षा गरिएको भुसालले बताए।
महोत्सवमा कृषि र स्थानीय उत्पादनलाई सहुलियतमा स्टल उपलब्ध गराइने आयोजकले जनाएको छ।
महोत्सवले सुन्तला, कफीलगायत कृषि उत्पादनका हिसाबले देशभर प्रख्यात रहेको गुल्मी पर्यटनका लागि पनि महत्वपूर्ण छ भन्ने पुष्टि गराउने अध्यक्ष भुसालले बताए।
गुल्मीमा रहेका विभिन्न मठमन्दिर र रेसुङ्गाको प्रचारप्रसारलाई समेत महोत्सवमा जोडिने उनले बताए।
रेसुंगा नगरपालिकाले समेत जाऊँ हिँड रेसुंगा अभियान संचालन गरेको र त्यही अभियानलाई समेत सहयोग पुर्याउने गरी महोत्सवमा पर्यटनलाई प्राथमिकता दिइएको संघका उपाध्यक्ष जनक पन्थले जानकारी दिए।