आजदेखि काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन सुरू भएको छ।
११औं अन्तर्राष्ट्रिय महाधिवेशनले बिहीबार नयाँ नेतृत्व चयन गर्दैछ। अध्यक्ष पदमा चार जना भिड्दैछन्। आसन्न महाधिवेशनमा उपाध्यक्षका लागि १८ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
जसमध्ये रामशरण सिम्खडा पनि हुन्। सिम्खडा बेलायतमा बस्छन्। एनआरएनएका संस्थापक समेत रहेका सिम्खडाले आफू विदेशमा बस्ने नेपालीको हकहित तथा एनआरएनका हरेक अभियानमा क्रियाशील र समर्पित भएको दाबी गरेका छन्।
उनी एनआरएनए एनसिसीको सदस्यबाट सचिव हुँदै हाल उपमहासचिवको भूमिकामा छन्।
अहिलेसम्मको आफ्नो अनुभवका आधारमा क्षमताले भ्याएसम्म योगदान गर्ने इच्छाका साथ आफूले उम्मेदवारी दिएको उनको भनाइ छ।
'सबैले सोचेजस्तो सुन्दर संस्था निर्माणका लागि काम गर्छु। संघभित्र भएका विमति, असमझदारी हटाउन प्रयत्न गर्छु। यहि दृढताका साथ मैले म उपाध्यक्षमा उम्मेद्वारी दिएको हुँ,' उनले भने।
संस्थाको विकास तथा चुनौतीको सामना गर्ने प्रतिवद्धता उनले व्यक्त गरे।