अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरूको छाता संस्था अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम) नेपालले अमेरिकास्थित युएस चेम्बर अफ कमर्सको सदस्यता प्राप्त गरेको छ।
बिहीबार अमेरिकामा आयोजित कार्यक्रममा युएस चेम्बर अफ कमर्सका दक्षिण एसियातर्फका उपाध्यक्ष अतुल कश्यप र युएस चेम्बर अफ कमर्सका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख जोन मर्फीले एमच्याम नेपालका अध्यक्ष अजित शाहलाई सदस्यताको प्रमाणपत्र प्रदान गरेका हुन्।
एमच्याम नेपालले आफ्नो स्थापनाको दुई वर्षमै युएस चेम्बर अफ कमर्सको सदस्य बन्न सफल भएको हो। जुन ऐतिहासिक उपलब्धि भएको एमच्याम नेपालका अध्यक्ष अजित शाहले बताए।
एमच्याममार्फत् अब संसारभरबाट नेपालमा लगानी गर्नका लागि अनुरोध गर्न सक्ने अवस्था बनेको छ। नेपालमा वैदेशिक लगानी भित्र्याउनका लागि यो उपलब्धि कोसेढुंगा सावित हुने अध्यक्ष शाहको भनाइ छ।
अध्यक्ष शाहले एमच्याम नेपालले सन् २०२४ मा नेपालमा युएस/नेपाल इकोनोमिक समिट आयोजना गर्ने घोषणा समेत गरे।
इकोनोमिक समिटमा अमेरिकाको निजी क्षेत्र र विभिन्न मुलुकका एमच्याम सदस्यहरूको सहभागीता हुनेछ।
नेपालमा ऊर्जा, सूचनाप्रविधि तथा पर्यटन लगायतका क्षेत्रमा अमेरिकी लगानी हुँदै आएको छ।
एमच्याम नेपालमा हालसम्म ४४ सदस्य रहेका छन्, जहाँ १५ हजारभन्दा बढीले प्रत्यक्ष र लाख बढीले अप्रत्यक्ष रोजगारी पाएका छन्।
विश्वभर १३० मुलुकमा युएस चेम्बर अफ कमर्सका च्याप्टर (एमच्याम) हरू रहेका छन् जहाँ ३० लाख बढी व्यवसायिक संस्था आवद्ध छन्।
परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा नेपालको टोली अमेरिकाको औपचारिक भ्रमणमा रहेकै समयमा एमच्याम नेपालले सदस्यता पाउनुलाई महत्त्वका साथ हेरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउदले अमेरिका र निजी क्षेत्रले नेपालको ऊर्जा क्षेत्रमा लगानी बढाउनु पर्नेमा जोड दिए। यस्तै नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले अर्थतन्त्र सञ्चालनका लागि निजी क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन्।