बागबजारमा रहेको काठमाडौं मोडेल कलेजले आफ्ना विद्यार्थीहरूलाई क्रिकेट खेलको अभ्यास गर्नका लागि विद्यालय हाताभित्र निर्माण गरेको अभ्यास नेटको उद्घाटन गरेको छ।
उक्त कार्यक्रम नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा क्यानका सचिव पारस खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कलेजका प्रिन्सिपल डा. नगेन्द्रबहादुर अर्यालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि खड्कासँग कलेजका विद्यार्थीहरूले नेपाली क्रिकेटको सम्भावना र भविष्यका बारेमा विभिन्न प्रश्नसमेत गरेका थिए।
चार हजारभन्दा बढी विद्यार्थीहरू अध्ययनरत केएमसी कलेजका विद्यार्थीहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा खड्काले नेपाली क्रिकेटको विकासका लागि यस्ता कलेज र यस तहका विद्यार्थीहरूको केन्द्रीय भूमिका रहने बताए।
उनले यसै कुरालाई ध्यानमा राखेर क्यानले आगामी दिनमा विद्यालय र कलेज स्तरीय राष्ट्रिय क्रिकेट टुर्नामेन्टको आयोजना गर्न लागेको पनि जानकारी दिए।
उक्त कार्यक्रममा कलेजका निर्देशक मुक्तिराम अर्याल, मोर्डन इन्स्चिच्युट अफ टेक्नोलोज कलेजका प्रिन्सिपल आर के दाहाल, कलेजको विभिन्न संकायका संयोजकहरू, शिक्षक–शिक्षिका तथा कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो।