मनास्लु वर्ल्ड कलेजले विभिन्न विधामा काम गर्ने उत्कृष्ट ५ जना विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरेको छ।
कलेजले स्वागत तथा विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रम २०८० मा कक्षा ११ र १२ मा उत्कृष्ट नतिजा सहित उत्तीर्ण विद्यार्थीहरूलाई सम्मानका लागि नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित कार्यक्रममा सम्मान गरेको हो।
विगतका वर्षहरूमा जस्तै कलेजले आफ्नो उत्कृष्ट १० विद्यार्थीहरूलाई मनास्लु एक्सिलेन्स अवार्डले सम्मान गरेको र आफ्ना उत्कृष्ट शिक्षक तथा कर्मचारीहरूलाई समेत सम्मान गरेको बताएको छ।
कार्यक्रममा गायिका कुन्ती मोक्तानलाई मनास्लु संगीतकर्मी सम्मान २०८०, सञ्चारकर्मी सम्मान २०८० पत्रकार जगदीश खरेललाई, कराँते खेलाडी एरिका गुरुङलाई मनास्लु खेलाडी सम्मान २०८०, शिक्षाकर्मी जयन्ती सत्याल अधिकारीलाई मनास्लु शिक्षासेवी सम्मान २०८० र समाजसेवी बालकृष्ण बुर्लाकोटीलाई मनास्लु समाजसेवी सम्मान २०८० प्रदान गरिएको हो।
सम्मानित व्यक्तित्वहरूलाई कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, कलेजका अध्यक्ष गेन्द्र लामा र प्रिन्सिपल राजन श्रेष्ठले संयुक्त रूपमा सम्मान प्रदान गरेका थिए।
कार्यक्रममा मनास्लु कलेजमा अध्ययनरत विद्यार्थीहरूमध्ये उत्कृष्ट १० जनालाई विभिन्न विधाहरू, मनास्लु एकाडेमिक अचिभ्मेन्ट अवार्ड, मनास्लु लिडरसिप अवार्ड, आर्टफुल्लि क्रियटिभ अवार्ड लगायतका विधाहरूले सम्मान गरिएको थियो।
कक्षा ११ को बोर्ड परीक्षाको नतिजाको आधारमा साइन्स, म्यानेजमेन्ट, ह्युम्यानिटिज र ल संकायका विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। साथै कक्षा १२ को पनि बोर्ड परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रमकै अवसरमा कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई मनास्लु आइडल २०८०, मनास्लु डान्सिङ स्टार २०८० र मिस्टर एण्ड मिस मनास्लु २०८० लगायतका विभिन्न कार्यक्रमहरूको ग्राण्ड फिनालेको समेत आयोजना गरिएको थियो।