के एन्ड ए इन्जिनियरिङ परामर्श पिसीले नेटवर्किङ एवम् च्यारिटी कार्यक्रम आयोजना गरेको छ।
सोमबार आयोजित उक्त कार्यक्रममा नेपालको इन्जिनियरिङ र प्रविधि शिक्षा, रोजगारीको परिदृश्य र सम्भावनाहरूबारे विभिन्न विशेषज्ञ, प्राज्ञिक विज्ञ र विद्युतीय इन्जिनियरिङका प्रभावशाली व्यक्तित्वहरूबीच छलफल भएको थियो।
कार्यक्रममा नेपालको लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर. थोमसनको समेत उपस्थिति थियो। साथै कार्यक्रममा सिडर गेट, डियरहोल्ड नेपाल, फ्युजमेसिन्स नेपाल, अमेरिकन चेम्बर अफ कमर्स, युएसएआइडी, विश्व बैंक, एनइए, एडिबी जस्ता गैर-सरकारी संस्थाहरूको समेत उपस्थिति थियो।
कार्यक्रममा बोल्दै के एन्ड एका अध्यक्ष एवम् सिइओ पूर्ण खरेलले नेपालमा स्टिम एजुकेसनलाई प्राथमिकतामा राख्नुपर्ने बताए। उनले नेपालमा इन्जिनियरिङसम्बन्धी राम्रो पढाइ भएको तर पढाइपछि रोजगार बजारमा टिक्न मुश्किल रहेको बताए। यसका लागि सम्बन्धित निकायले चासो राख्नुपर्नेमा जोड दिए।
के एन्ड एले पछिल्लो तीन महिनामा मात्रै नेपालका ४० भन्दा बढी इन्जिनियरलाई रोजगार प्रदान गरेको बताउँदै भविष्यमा थप इन्जिनियरलाई रोजगारी दिने समेत बताए।
कार्यक्रमबीच के एन्ड एले आफ्नो सामाजिक उत्तरदायित्वप्रति आफ्नो प्रतिबद्धता जनाउँदै 'एक्सन फर नेपाल' र 'वुमन लाइट द वर्ल्ड' लाई आर्थिक सहयोग समेत गरेको छ। यसले 'एक्सन फर नेपाल' लाई पाँच लाख र 'वुमन लाइट द वर्ल्ड' लाई एक लाख ५० हजारको आर्थिक सहयोगको प्रतिबद्धता जनाएको हो।
यी दुवै गैर-नाफामूलक संस्थाले नेपालको ग्रामीण भेगमा रहेका मानिसको दैनिकी उकास्न आवश्यक कार्य गर्दै आएका छन्।