महिला शक्ति विकास केन्द्र नेपाल (एमएसबिकेएन)ले आफ्नो १६ औं वार्षिकोत्सवको अवसरमा ‘महिला नेतृत्वको १६ वर्ष’ कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा संस्थाले विगत १६ वर्षमा गरेको उपलब्धी प्रस्तुतीसँगै छलफल गरिएको थियो। गत फागुन ११ गते संस्था स्थापनाको १६ वर्ष पूरा भएको हो।
महिला शक्ति विकास केन्द्रले अवसरबाट बञ्चित महिलाहरूको आर्थिक, सामाजिक एवम् राजनीतिक अवस्था उकास्न विभिन्न तालिम र प्रशिक्षण दिँदै आएको छ।
संस्थाले सन् २०१२ देखि भिलेज वुमन ग्रुप (गाउँ महिला समूह) स्थापना गर्दै नेपालको विभिन्न १२ जिल्लामा काम गर्दै आएको छ। हालसम्म ८५२ गाउँ महिला समूह स्थापना भएको संस्थाका कार्यकारी निर्देशक कविता गुरुङले कार्यक्रममार्फत जानकारी गराइन्। २२ हजार चार सय बढी महिला यस प्रकारको समूहको सदस्य छन्।
गुरुङका अनुसार यस्ता समूहमध्ये ७८२ वटा समूह स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ। ७० वटा समूह विभिन्न अन्य सहकारीहरूसँग सहकार्य गरिएको छ।
कार्यक्रमको प्रमुख अतिथिमा बागमति प्रदेशका उपसभामुख अप्सरा चापागाईंको उपस्थिति थियो। महिला शक्ति विकास केन्द्र स्थापना गर्दा उनी सचिवको भूमिकामा रहेको बताउँदै संस्थाले १६ वर्ष पूरा गरेर १७ वर्षमा प्रवेश गरेको देख्दा खुशी लागेको बताइन्।
उनले राजनीतिमा महिलाहरूको भूमिका महत्वपूर्ण रहेको बताउँदै संस्थाले गर्दै आएको कामको प्रशंसा गरिन्।
यस्तै कार्यक्रममा प्यानल डिस्कसन पनि भएको थियो। यसका लागि लैङ्गिक समानता र सामाजिक समावेश विशेषज्ञ भारती सिलवाल गिरी र पूर्व सांसद समेत भएका उद्यमी छाया शर्मा उपस्थित थिए। कार्यक्रमलाई मिडियाकर्मी साहाना बज्राचार्यले सहजीकरण गरेकी थिइन्।
प्यानलबाट बोल्दै भारती सिलवाल गिरीले नेपालको महिलाको स्तर र अवस्था अझै नाजुक रहेको बताइन्। उनले २०७२ सालको संविधान जारी भएपछि महिलाले लोकतान्त्रिक हक पाएको तर कार्यान्वयनमा भने अझै कमजोर रहेको बताइन्।
यसबाहेक नेपाली समाज पितृसत्तात्मक सोचबाट चलिआएको हुँदा यस प्रकारको सोचाइलाई जराबाटै उखेल्न सकेमात्रै नेपाली महिलाको अवस्थालाई उकास्न सक्ने धारणा राखिन्।
अन्तर्राष्ट्रिय महिला दिवस २०२४ को नारा ‘इन्भेस्ट इन वुमनः एसिलिरेट प्रोग्रेस’ अर्थात् महिलामा लगानी, प्रगतिलाई गति भन्ने भावमा केन्द्रीत रहेको बताउँदै उनले महिलाहरूलाई अघि बढाउन र फराकिलो क्षेत्रमा स्थापित गर्न उनीहरूमा लगानी आवश्यक रहेको बताइन्।
उद्यमी छाया शर्माले नेपालको संविधानले महिलाहरूको हक र समानताको लागि थुप्रै प्रावधानहरू दिएको भएपनि कार्यान्वयन पक्ष फितलो भएको बताइन्। स्थानीय तहदेखि प्रदेश र अन्तिममा केन्द्र तहबाटै कार्यान्वयनको विषयमा ध्यान नपुगेको बताइन्। यसका लागि सम्बन्धित निकाय र सरोकारवालाले चासो राख्नु आजको आवश्यकता बताइन्।
कार्यक्रममा महिला शक्ति विकास केन्द्रबाट तालिम लिएका र नेतृत्व भूमिकामा रहेका विभिन्न जिल्लाका महिलाहरूको समेत उपस्थिति थियो। उनीहरूले विभिन्न समय भोग्नु परेको दुःख बताउँदै महिला शक्ति विकास केन्द्रको तालिम लिएपछि भएका सहज घटनाहरू सुनाए।
करिब तीन घण्टा लामो कार्यक्रममा संस्थाले तयार पारेको भिडिओ समेत प्रदर्शन गरिएको थियो।