नेपाल चेम्बर अफ कमर्स र नेशन फर युथ नामक संस्थाको आयोजनामा पशुपतिको बनकाली क्षेत्रमा सात दिने महायज्ञ सुरू गरिएको छ।
पशुपति क्षेत्रमा हस्पिटल निर्माणको लागि रकम संकलन गर्ने अभियान अन्तर्गत यो महायज्ञ सुरू गरिएको आयोजकले जनाएको छ।
बिहीबार ओम अस्पतालका संस्थापक डा. भोला रिजाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, युवा अभियान्ता डा. निकलोस भुसाल लगायतको सहभागितामा महायज्ञ सुरू गरिएको हो।
चेम्बर अध्यक्ष मल्लले पशुपति विकास कोषले जग्गा उपलब्ध गराउने र सोही जग्गामा यसरी संकलन भएको रकम प्रयोग गरेर हस्पिटल बनाउने जानकारी गराए।
यो हस्पिटलमा स्वतःस्फूर्त डाक्टरहरूले निःशुल्क सेवा दिने र गरिब तथा असाहयहरूलाई निःशुल्क उपचार गराउने अभियान रहेको उनले बताए।
'पैसाको अभावमा उपचार नपाएर अहिले पनि धेरै मानिसको मृत्यु हुने गरेको छ। त्यस्ता मान्छेको उपचारमा सहयोग पुगोस् भनेर यो अभियान सुरू गरिएको हो,' मल्लले भने, 'व्यवसायिक जगतले सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम निम्न वर्गकोहरूको जनजीवनमा सहयोग गर्नुपर्छ।'
आजदेखि सुरू भएको महायज्ञ सात दिनसम्म चल्नेछ। महायज्ञमा आचार्य चैतन्य कृष्णले प्रवचन दिनेछन्।