इम्पेरियल वर्ल्ड स्कुलले गणितलाई कला, सिर्जनाको माध्यमबाट मनोरञ्जनात्मक वातावरणमा सिकाउने/सिक्ने अवसरका लागि राजधानीमा गणितसँग सम्बन्धित दुई दिने सिर्जनात्मक प्रदर्शनी र कार्याशाला सुरू गरेको छ।
बूढानिलकण्ठस्थित उक्त स्कुलले अन्तर्राष्ट्रिय गणित दिवसको अवसर पारेर अध्ययन/अध्यापनमा गाह्रो विषयको रूपमा लिइने गणितलाई सरल र सहज रूपमा कला सिर्जनाको माध्यमबाट बुझाउन गणितसँग सम्बन्धित प्रदर्शनीको आयोजना गरेको हो।
नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले बिहीबार उद्घाटन गरेको यस प्रदर्शनीमा विद्यार्थीहरूले कागज, काठ, ढुंगा, माटो, अन्न, फूलपातलगायतका प्राकृतिक रूपमा उपलब्ध सामग्री र विभिन्न रङ्गको माध्यमबाट बनाइएका चित्र र स्टलहरू राखिएका छन्।
स्कुलका संस्थापक/निर्देशक कुमार कार्कीले गत वर्षदेखि गणितलाई सरल र चाख लाग्दो रमाइलो गतिविधि चित्र, फोटो, पजलको अभ्यासबाट सिकाउने लक्ष्यले स्कुल परिसरमा घाम/पानीले नबिग्रिने सामग्रीको प्रयोग गरेर 'गणित पार्क' बनाएको बताए।
साथै गणित विषय नबुझिने, गाह्रो हुन्छ, भन्ने अवधारणामा परिवर्तन ल्याउन सकिने विश्वाससहित आयोजित प्रदर्शनीको अवलोकन/भ्रमणका लागि बूढानिलकण्ठ नगरपालिकालगायतका निजी र सामुदायिक विद्यालयका विद्यार्थी/शिक्षकलाई आमन्त्रण गरिएको स्कुलले जनाएको छ।
प्रदर्शनीको दोस्रो दिन भने गणित विज्ञ र गणितका शिक्षक, अभिभावक, विद्यार्थीबीच गणित कार्यशालाको आयोजना गरिएको छ।
प्रधानाध्यापक जुनिता कार्कीले सो स्कुलमा अध्ययनरत कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूले गणितलाई शुत्र र विभिन्न विम्बात्मक अभ्याससहित सिक्ने क्रममा तयार भएका सिर्जनात्मक सामग्री नै प्रदर्शनीको प्रमुख आकर्षण भएको बताइन्।