नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले रेमिटेन्सको रकम उत्पादनमूलक उद्योगमा लगानी गर्न सक्ने सुविधा दिने गरी नीतिगत व्यवस्था गर्नुपर्ने बताएका छन्।
चेम्बरको ७४औं वार्षिकउत्सवमा उनले रेमिटेन्सबाट भित्रिने रकमलाई उत्पादनमूलक क्षेत्रमा लगाउने गरी नीतिगत व्यवस्था गर्नुपर्ने बताएका हुन्।
मुलुकलाई आत्मनिर्भर बनाउन अर्थतन्त्रका हरेक क्षेत्रमा उत्पादन र उत्पादकत्व बढ्नु अपरिहार्य रहेको उनले बताए।
आयात व्यवस्थापन र निर्यात प्रवर्द्धनको लागि पनि आन्तरिक उत्पादन अनिवार्य रहेको उनको भनाइ थियो।
तुलनात्मक लाभ भएका कृषि, जलश्रोत, पर्यटन तथा सूचना प्रविधिको क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउन आवश्यक रहेकोमा अग्रवालले जोड दिए।
'युवाहरूलाई स्वेदशमै रोजगारी सिर्जना गर्ने गरी रणनीतिक योजना बनाइनुपर्दछ। रोजगारीका लागि विदेशिएका युवाहरू स्वदेश फर्किने क्रममा अध्यागमनमा उनीहरुको सिप र ज्ञानको लगत संकलन गरी स्वदेशकै उत्पादनमूलक क्षेत्रमा प्रयोग गरिनुपर्दछ।'
नेपाल उज्यालो युगमा प्रवेश गरिरहँदा विद्युत उत्पादनको क्षेत्रमा अझै पनि नीतिगत चुनौतीहरु देखापरेको अध्यक्ष अग्रवालले बताए।
ऊर्जा विधयेकमा उल्लेखित प्रावधान, अदालतबाट आएका फैसला र बन मन्त्रालयबाट आएका निर्देशिकाले जलविद्युत आयोजनाहरूको निर्माणमा गम्भीर चुनौती खडा गरेको भन्दै यस विषयमा ध्यान दिनु पर्ने उनको भनाइ थियो।
‘संरक्षित बन क्षेत्रमा विद्युत विकास विभाग मार्फत अनुमति लिएर डेभलपरहरुले लगानी गरिसकेको अवस्थामा पछिल्लो समय अदालतको फैसलाको आधारमा सम्बन्धित निकायबाट बन क्षेत्रमा भएको अवरोधले प्रसारण लाइन र आयोजना निर्माण अन्यौलमा परेको छ भने लगानीकर्ताको करोडौं रूपैयाँ थप जोखिममा परेको छ,' अग्रवालले भने, 'जटिल प्रावधानलाई संसदबाट कानुन बनाएर संशोधन गरिनुपर्दछ।'
सहकारी क्षेत्र समस्याग्रस्त हुँदा साना, मझौला उद्यमी व्यवसायीहरू पीडित भएको भन्दै उनले सहकारी क्षेत्रको समस्या अविलम्ब समाधान गरिनुपर्ने बताए।
चेम्बरले ७४ औं वार्षिकउत्सवको अवसरमा विभिन्न विधामा उत्कृष्ठ व्यवसाय गर्ने आठ व्यवसायीलाई अवार्ड दिएको छ।
इश्वरलाल लाइफ टाइम एचिभमेन्ट अवार्ड आइजे ग्रुपका अध्यक्ष रवीभक्त श्रेष्ठलाई दिएको छ। त्यस्तै बनवारीलाल मित्त मेमोरिय अवार्ड पर्यटनतर्फ राइका ट्राभल्स एण्ड टुरका अध्यक्ष अमरबहादुर शाहीलाई दिइएको छ।
राजबहादुर चिपाल मेमोरियल अवार्ड कृषितर्फको अवार्ड त्रिपुल वागवानीका फणिनारायण अर्यालले पाएका छन्।
इन्द्रभक्त मोरियल अवार्ड उद्योगतर्फ त्रिवेणी ग्रुपका अध्यक्ष पुरूषोत्तमलाल संघाइले प्राप्त गरेका छन्। भने बालकृष्ण श्रेष्ठ ममोरियल अवार्ड सामाजिक सेवातर्फ चितवन मेडिमकल कलेजका प्रवन्ध निर्देशक हरिशचन्द्र न्यौपानेले पाएका छन्।
त्यस्तै जुद्धबहादुर श्रेष्ठ मेमोरियल अवार्ड व्यापारतर्फ क्वालीटी आयलका धनश्याम काबराले प्राप्त गर्दा जनकदास श्रेष्ठ मेमोरियल अवार्ड महिला उद्यमी तथा नवप्रवर्द्धन व्यवसायी अनसमा पियाले प्राप्त गरेकी छन्।
७४औं वार्षिकउत्वसका अवसरमा चेम्बरले लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, कैलाली चेम्बर र देवदह चेम्बरका अध्यक्षलाई सम्मान पनि गरेको छ।