त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकले नेपाल आयल निगमलाई डिपीआर हस्तान्तरण गरेको छ।
क्याम्पसले बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा निर्माण हुने अत्याधुनिक हवाई इन्धन डिपो निर्माणको डिपीआर हस्तान्तरण गरेको हो।
निगमले बनाउन लागेको उक्त डिपोमा तीन हजार किलोलिटर क्षमताका पाँच वटा भण्डारण ट्याङ्की रहनेछ। नयाँ बन्ने डिपो अत्याधुनिक प्रविधिसहितको हुनेछ।
डिपो ६ अर्ब ५४ करोड २९ लाख रूपैयाँमा निर्माण हुने निगमका उपनिर्देशक तथा आयोजना प्रमुख ई.प्रदीप यादवले जानकारी दिए।
उनका अनुसार हाल डिपो निर्माण गर्ने स्थानमा जग्गा चार किल्ला छुट्याई नागरिक उड्डयन प्राधिकरणले साइट क्लियरेन्सको काम गरिरहेको छ।
डिपीआर अध्ययन गरी भदौमा डिपो निर्माणका लागि बोलपत्र आह्वान गर्ने कार्यालयको योजना छ।
६ महिनाभित्र निर्माणको काम सुरू गरेर २०८४ को मंसिरसम्ममा डिपो सञ्चालनमा ल्याइने प्रमुख यादवले जानकारी दिए।
विमानस्थलको गुह्येश्वरीतर्फ नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराएको ५० रोपनी जग्गामा ‘अमेरिकी पेट्रोलियम इन्ष्टिच्युट’ (एपिआइ) मापदण्डअनुसारको डिपो निर्माण हुनेछ।
करिब ५० वर्ष पुरानो सिनामङ्गल हवाई इन्धन डिपोको भण्डारण क्षमता सात हजार छ सय ६० किलोलिटर छ।