कोशी प्रदेश सरकारले ५४ वटा योजना तयार पारेर वैशाख १८ र १९ मा पहिलो प्रदेश लगानी सम्मेलन आयोजना गर्दैछ।
२०७४ देखि नै लगानी सम्मेलन गर्ने बताउँदै आएको सरकारको योजना बल्ल यसपटक पूरा हुँदैछ। यसअघि निजी क्षेत्रको सहभागितासम्बन्धी विवाद समाधान गर्न नसकेको आरोप खेपेर सम्मेलनको मिति सारेको प्रदेश सरकारले यसपटक भने तोकिएकै मितिमा लगानी सम्मेलन गर्ने बताएको छ।
प्रदेशको आर्थिक विकास, रोजगारी सिर्जना र औद्योगिकीकरणलाई गति दिन लगानी सम्मेलन उपलब्धिमूलक हुने मुख्यमन्त्री हिक्मत कार्कीले बताए।
उनले पहिलो लगानी सम्मेलनको सोकेसमा ५४ वटा परियोजना समावेश गरिएको जानकारी दिँदै भने, ‘यो लगानी सम्मेलनले प्रदेशमा आन्तरिक तथा बाह्य लगानी भित्र्याउन मद्दत गर्ने आशा छ।’
उनले सबै परियोजनामा लगानी भित्रिनेभन्दा पनि लगानीका लागि बढीभन्दा बढी योग्य परियोजनालाई समावेश गर्ने नीतिमा सरकारले काम गरेको बताए। जसमा केही पुराना र केही नयाँ परियोजनालाई समेटेर योजना सोकेस तयार पारिएको कार्कीले जानकारी दिए।
मुख्यमन्त्री कार्कीका अनुसार लगानी सम्मेलनमा तीन प्रकारका परियोजना समावेश छन्।
पहिलो, प्रदेश सरकार आफैले तयार पारेका, दोस्रो निजी क्षेत्रले प्रस्तावका रूपमा तयार पारेका र तेस्रो स्थानीय सरकारले सिफारिस गरेर तयार पारेका परियोजनालाई लगानी सम्मेलनमा प्रस्तुत गरिनेछ।
सरकारले यस वर्षलाई प्रदेश पर्यटन वर्ष समेत घोषणा गरिसकेका कारण पर्यटन प्रवर्द्धनका क्षेत्रमा बढी परियोजना तयार भएको मुख्यमन्त्री कार्कीले बताए। करिब १५ वटा परियोजना अहिले पनि अध्ययनकै क्रममा रहेका कारण सबै जोड्दा १ खर्ब ७० अर्ब रुपैयाँ बराबरका परियोजना प्रदेश लगानी सोकेसमा पर्ने उनको भनाइ छ।
लगानीका लागि सरकारले आठ वटा क्षेत्र निर्धारण गर्दा सबभन्दा बढी पर्यटन क्षेत्रमै ३५ अर्ब ९७ करोड रुपैयाँ लागतका १५ वटा परियोजना समेटिएको छ।
पहिलो पटक प्रदेशमा लगानी सम्मेलनको पहल हुँदा यसको राष्ट्रिय सन्देश प्रवाह हुने सरकारको दाबी छ।
यसले नेपालको प्रमुख लगानी गन्तव्य कोशी प्रदेशलाई बनाउन बाटो खोल्ने तथा स्वदेशी, निजी तथा प्रत्यक्ष विदेशी लगानी भित्र्याउन सरोकारवालाहरूलाई समेत ऊर्जा प्रदान गर्ने सरकारको भनाइ छ।
सरकारले लगानीका आठ क्षेत्र अन्तरगत पर्यटन, कृषि प्रवर्द्धन, हरित ऊर्जा, स्वास्थ्य सेवा विस्तार, स्मार्ट सहरी पूर्वाधार लगायतका योजनाहरूलाई समावेश गरेको छ।