लामो समयदेखि चर्चाको विषय मात्र बन्दै आएको प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया अगाडि बढेको छ।
विगत २२ वर्षदेखि चर्चामा रहे पनि प्रगति नभएको उक्त विमानस्थल निर्माणले गति लिएको पर्यटन मन्त्री जितेन्द्रनारायण देवले बताएका छन्। पर्यटन मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरव आयोजना निर्माणलाई तीव्रता दिने योजनाअनुसार निजगढ विमानस्थल निर्माणको काम अघि बढेको उनले जानकारी दिए।
आफू मन्त्री हुनेबित्तिकै लुम्बिनी, पशुपति क्षेत्र, पोखरा, भैरहवा, निजगढ विमानस्थल निर्माणलाई गति दिन विशेष संयन्त्र नै बनाएर काम थालेको उनको भनाइ छ। मन्त्री भएपछिको दुईमहिने कार्ययोजना प्रस्तुत गर्दै मन्त्री देवले राष्ट्रिय गौरवको नाम दिने तर काम केही नगर्ने प्रवृत्तिले आयोजना रोकिएको उनले बताए।
निजगढ विमानस्थल निर्माणका लागि मन्त्रीकै संयोजकत्वमा संयोजन समिति बनाएको र उक्त समितिले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको सन्दर्भमा स्थानीयस्तरमा सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ।
सार्वजनिक सुनुवाइ भइसकेकाले अब उक्त प्रतिवेदन नागरिक उड्डयन प्राधिकरण हुँदै मन्त्रालयमा आउने र अबको १० दिनभित्र उक्त प्रतिवेदन पास हुने मन्त्री देवले जानकारी दिए।
त्यस्तै, कोरियाली कम्पनी एलमएम डब्लुले तयार पारेको विस्तृत सम्भाव्यताम अध्ययन प्रतिवेदन प्राप्तीको लागि उक्त कम्पनीसँग वार्ता भइरहेको र छिट्टै सहमतिमा पुगिने अधिकारीहरुले बताएका छन्। कोरियाली कम्पनीले ६७ करोड रुपैयाँ माग गर्दै आएको छ भने सरकाले ३७ करोडमात्र दिन सकिने बताएको छ।
उक्त कम्पनीका स्थानीय प्रतिनिधिसँग छलफल भइरहेको मन्त्री देवले जानकारी दिए। उक्त कम्पनीसँग सम्झौता गर्न राष्ट्रिय विकास समस्या समाधान समितिले पनि मन्त्रालयलाई कार्यादेश दिइसकेकोले काम अगाडि बढाउन बाटो खुलेको अधिकारीहरुले बताएका छन्।
विमानस्थल निर्माणको इआइए तयार भइसकेको छ। त्यस्तै उक्त प्रतिवदेन पारित गर्न सार्वजनिक सुनुवाई पनि भइसकेको छ। विमानस्थलको पेरिमिटर बनाउन, रुख काट्न र रुखको सुरक्षा गर्न नेपाली सेनासँग नागरिक उड्डयन प्राधिकरणले सम्झौता गरिसकेको छ।
विमानस्थल निर्माणको लागि ठुला रुख ६ लाखसहित २४ लाख संख्यामा काट्नुपर्ने इआइए प्रतिवेदनले औंल्याएको छ। उक्त रुखको कटानी तथा सुरक्षाको जिम्मा सेनाको हुने छ।
अबको दुई महिनाभित्र सबै काम सकाएर विस्तृत अध्ययन प्रतिवेदन तयार पार्न बोलपत्र आब्हान गरिने र त्यसको लागि आफूले क्यानलाई निर्देशन दिइसकेको मन्त्री देवले जानकारी दिए।
विमानस्थल निर्माण तथा संचालनको मोडल तयार गर्न गठित समितिले मन्त्री देवलाई प्रतिवेदन बुझाइसकेको छ। सहसचिव शुरेश आचार्यको नेतृत्वमा गठित समितिले विभिन्न मोडल सुझाएको आचार्यले जानकारी दिए।
मन्त्री देवले उक्त प्रतिवेदनमा केही प्राविधिक शब्दावली मिलाउन बाँकी रहेको र हप्तादशदिनमा मन्त्रीपरिषदमा पेस गरी निर्णय गर्ने तयारीमा आफूहरु रहेको बताए।
उक्त समितिले निर्माण संचालन हस्तान्तरण र इपिसिएफ मोडलको सिफारिस गरेको आचार्यले बताए। उनका अनुसार समितिको जोड भने बुट मोडलमै रहेको छ।
३६ सय मिटर लामो र ४५ मिटर फराकिलो तथा दोहोरो धावनमार्ग हुने विमानस्थल निर्माणछि वर्षमा ६ करोड चाप थेग्ने छ। यसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप क मगर्ने र द्रुतमार्गले काठमाडौंसँग जोड्ने सरकारी योजना छ। निजगढ विमानस्थलका सबै काम गरी दुईमहिनाभित्र डिपिआरको लागि बोलपत्र आब्हान भइसक्ने मन्त्री देवले बताए।