दाङको छिल्लीकोटमा लुम्बिनी प्रदेशकै सबभन्दा लामो जिपलाइन निर्माणाधीन अवस्थामा छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ स्थित छिल्लीकोटको मालिका र कालीका मन्दिरको बीचमा विगत एक वर्षदेखि जिपलाइन निर्माणको काम जारी छ।
हाल निर्माण कार्य अन्तिम चरणमा पुगेको सञ्चालक २८ वर्षीय श्रीधर न्यौपानेले सेतोपाटीलाई बताए।
उनले जिपलाइन निर्माणको काम ९० प्रतिशत बढी सकिएको र अब टिकट काउन्टर लगायतका संरचना निर्माण गर्न बाँकी रहेको जानकारी दिए। बढीमा अबको एक महिनाभित्र जिपलाइनको डेमो प्रदर्शन गर्ने तयारी गरिएको छ।
जिपलाइन ११०० मिटर लम्बाइको छ। सञ्चालक न्यौपानेका अनुसार टेक अफ टावर र ल्याण्डिङ टावरका बीचको उचाइ एक सय ३२ मिटर छ।
स्थानीय भुल्के सामुदायिक वनको जग्गामा जिपलाइन निर्माण गरिएको छ। वनसँग समन्वय गरी निजी साझेदारी कार्यक्रम अन्तर्गत निर्माणको काम भइरहेको हो।
जिपलाइनबाट हुने आम्दानी अन्तर्गत टिकेटको पाँच प्रतिशत रकम वन समूहलाई दिनुपर्ने गरी पहिलो चरणमा दश वर्षे सम्झौता भएको छ।
छिल्लीकोटमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूले साहसिक खेल मानिने जिपलाइन खेलेर रमाउन सकून्, थोरै भए पनि स्थानीयले रोजगारी पाऊन्, पर्यटन प्रवर्द्धनमा टेवा पुग्न सकोस् भन्ने उद्धेश्यका साथ केही साथीहरू मिलेर जिपलाइन निर्माणको काम सुरू गरेको न्यौपानेले बताए।
नजिकै सानो खाजा घर पनि सञ्चालन गर्ने तयारी गरिएको छ।
पहिलो चरणमा जिपलाइनको काम सकिएपछि सोही ठाउँमा रिसोर्ट निर्माण गरिने भएको छ। त्यसका लागि उनीहरूले पहिलै नै दश कठ्ठा जग्गा खरिद गरिसकेका छन्। एडभेञ्चरका लागि स्काइ साइक्लिङ, क्यानोपी वाक, फ्रि फल र मिनी बञ्जी जम्प पनि निर्माण गर्ने उनीहरूको लक्ष्य छ।
‘यहाँ हामीले मिनी कुस्मा बनाउन चाहेका छौं,’ न्यौपानेले भने, ‘हेरौं हामी त्यसका कतिको सफल हुन्छौं।’
दुई वर्ष पहिले कम्पनी ऐन अन्तर्गत रजिष्ट्रारको कार्यालय काठमाडौंमा छिल्लीकोट रिसोर्ट एण्ड एड्भेन्चर प्रालिको नाममा कम्पनी दर्ता गरी काम सुरू गरिएको ६५ वर्षीय प्रबन्ध निर्देशक शिव श्रेष्ठले जानकारी दिए।
कोरोना महामारी, भारतबाट प्राविधिक टोलीहरू ल्याउनुपर्ने जस्ता केही प्राविधिक समस्याले काममा केही ढिलाइ भए पनि अब जिपलाइन निर्माणको काम अन्तिम चरणमा पुगेको श्रेष्ठले बताए।
त्यस्तै अप्ठ्यारो भूगोलका कारण सबै सामान मानिसले बोकेर ल्याउनु पर्दा काममा केही ढिलाइ भएको हो।
‘पहाड र अप्ठ्यारो भौगोलिक बनावट रहेका कारण कुनै पनि मेसिन वा उपकरण प्रयोग गर्न सम्भव भएन,’ न्यौपानेले भने, ‘यहाँ आवश्यक पर्ने सबै सामग्री मानिसले नै बोकेर ल्याउँदा निर्माणको काममा केही ढिलाइ भएको हो।’
पहाडमा ११ फिटमुनि खनेर राफ्टिङ गरी फाउन्डेसन निर्माण गरिएको हुँदा त्यसमा पनि सोचेभन्दा धेरै समय लागेको उनले जानकारी दिए।
जग्गा खरिदसहित हालसम्म तीन जनाको एक करोड जति लगानी पुगिसकेको छ। जिपलाइन सञ्चालनमा आएपछि रिसोर्ट लगायत अन्य सबै संरचना तयार गर्न करिब डेढ करोड लगानी लाग्न सक्ने अनुमान श्रेष्ठको छ। जिपलाइन सञ्चालन आएलगत्तै रिसोर्ट निर्माणको थालनी हुने उनले बताए।
‘जिपलाइनको काम सकिनेबित्तिकै हामी रिसोर्ट निर्माणतर्फ लाग्नेछौं,’ श्रेष्ठले भने, ‘छिल्लीकोट आउने पर्यटकहरूले साहसिक खेल्दै मनोरञ्जन लिनुका साथै यही रिसोर्टमा बसेर रूचीअनुसार स्थानीय परिकार खान पाउन भन्ने हाम्रो चाहना छ।’
उनले थ्री स्टार लेबलको रिसोर्ट निर्माण गर्ने गरी स्वीकृति लिइसकेको जानकारी दिए।
सरकारले छिल्लीकोटको मालिका कालिका देवी मन्दिरसम्म पुग्नका लागि सबभन्दा प्राथमिकतामा राखेर सडक निर्माण गर्नुपर्ने माग आफूहरूले गर्दै आएको श्रेष्ठले बताए।
‘यहाँ आउन बाटो राम्रो भएन भने आन्तरिक तथा बाह्य पर्यटक आउन धौ मान्छन्,’ उनले भने, ‘त्यस्तै यस क्षेत्रमा भरपर्दो बिजुली बत्ती र पिउने पानीको राम्रो व्यवस्था गर्न अत्यन्तै आवश्यक म देख्छु।’
नयाँ वर्षदेखि छिल्लीकोटमा पहिलो पटक प्रहरीको बिट स्थापना भइसकेको छ।
‘यहाँ प्रहरीको बिट ल्याउन पनि हामीले पहल गरेका हौं,’ श्रेष्ठले भने, ‘सुरक्षाको प्रबन्ध भइसकेको छ अब सरकारले सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नु जरूरी छ।’
प्राकृतिक दृष्टिकोणले सुन्दर छिल्लीकोटमा हाल आन्तरिक पर्यटक मात्रै गइरहेको भए पनि जिपलाइन लगायतका संरचना निर्माणको काम पूरा भएपछि दाङको कोइलाबास नाका हुँदै छिमेकी देश भारतबाट समेत पर्यटकहरू आउने उनले आशा व्यक्त गरे।
जिल्लाका धारापानी, दंगीशरण थारू संग्रहालय, पुरन्धारा झरना, छिल्लीकोट लगायत विभिन्न तालतलैया घुमाउने गरी प्याकेजका रूपमा भारतीय पर्यटक भित्र्याउन सके जिल्लाको आर्थिक संमृद्धिमा टेवा पुग्न सक्ने उनले बताए।
छिल्लीकोटलाई पर्यटकीय गन्तव्यका रूपमा चिनाउन सकेमा मात्रै स्थानीय स्तरमा रोजगारी सृजना हुने तथा विकासले फड्को मार्ने अपेक्षा गर्न सकिने श्रेष्ठको धारणा छ।
पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले तुलसीपुर उपमहानगरपालिकाको लगानीमा छिल्लीकोटमा केही वर्ष पहिले नै भ्यूटावर निर्माण गरिएको छ। यद्यपि पहाडमा निर्मित उक्त भ्यू टावरको औचित्य साबित हुन सकेको छैन। यहाँ आउने मानिसहरू भ्यू टावरमा खासै जाँदैनन्।
मौसम खुलेको समयमा छिल्लीकोटको डाँडोबाट सिस्ने हिमाल, धौलागिरि हिमालका साथै दाङ उपत्यकाको समथर फाँट सहजै नियाल्न सकिन्छ।
जिपलाइनको काम अन्तिम चरणमा पुगेको भन्दै अब टिकट काउन्टर, ड्रेस चेन्जिङ कक्ष, चमेना गृह, ट्वाइलेट–बाथरूम निर्माणको काम अगाडि बढ्ने श्रेष्ठले बताए।
जिपलाइन महिना दिनभित्रै सञ्चालनमा आए पनि विधिवत् उद्घाटन भने आगामी दसैंको घटस्थापनाका दिन गर्ने सोच रहेको श्रेष्ठले जानकारी दिए।
छिल्लीकोट आफैंमा एउटा ऐतिहासिक, पर्यटकीय र धार्मिक क्षेत्र हो। यहाँ दैनिक सयौंको संख्यामा पर्यटकहरू आउने गर्छन्,’ श्रेष्ठले भने, ‘साहसिक खेल जिपलाइन सञ्चालनमा आएमा र रिसोर्ट तयार भएमा दैनिक हजार बढी मानिस छिल्लीकोट आउने हाम्रो आशा छ।’
छिल्लीकोटको विकास लागि केही नयाँ कुराहरू ल्याई पर्यटन प्रवर्द्धनमा टेवा पुगोस् र स्थानीयस्तरमा रोजगारी बढाउने सकियोस् भन्ने उद्धेश्यले आफूहरू मिलेर काम गरिरहेको श्रेष्ठ बताउँछन्।
निर्माणाधीन जिपलाइन दाङ जिल्लाको लागि मात्रै नभई लुम्बिनी प्रदेश तथा पश्चिम नेपालकै सबभन्दा लामो जिपलाइन भएको कम्पनीको दाबी छ।
तुलसीपुर–११ का युवाद्वय २८ वर्षीय श्रीधर न्यौपाने, सोही उमेर समूहका माधव कार्की र शिव श्रेष्ठकी बुहारी आरती श्रेष्ठको संयुक्त लगानीमा काम सुरू गरिएको थियो।
श्रेष्ठ क्लिनिक सञ्चालक हुन् भने न्यौपाने स्नातकोत्तर उत्तीर्ण गरेका छन् भने कार्की आइटीको क्षेत्रमा काम गर्दै आएका छन्।