भुटानको पारो विमानस्थलबाट शनिबार विहान ५ः५५ बजे उडेको ड्रुक एयरको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ६:४० मा ल्यान्ड भयो। १५० सिट क्षमता भएको उक्त जहाजमा जम्मा ३ जना यात्रु आएको पोखरा विमानस्थल प्रमुख देवेन्द्रलाल कर्णले बताए।
‘आज पोखरा अवतरण भएको ड्रुक एयरको विमानमा ३ जना यात्रु थिए, यहाँबाट ४२ जना गए, उनले भने, ‘यो पोखरा अवतरण भएको पहिलो व्यवसायिक अन्तर्राष्ट्रिय उडान हो।’
भुटानबाट नेपाल आएका यात्रुहरुमा नेपाली, अमेरिकी र भियतनामी १/१ जना थिए। पोखराबाट भुटान जानेहरुमा अमेरिकी, क्यानेडियन र भारतीय पर्यटक रहेका छन्।
भुटानबाट चार्टर उडान भए पनि पोखरा विमानस्थललाई तिर्नुपर्ने रकम तिरेकाले पहिलो व्यवसायिक अन्तर्राष्ट्रिय उडान भएको उनले बताए। नेपाल नगारिक उड्यन प्राधिकरणको नियम अनुसार अन्तर्राष्ट्रिय उडान गर्दा प्रतियात्रु ३ हजार रूपैया र ग्राउन्ड ह्याण्डलिङको शुल्क ड्रुक एयरले तिरेको कर्णले बताए।
उनका अनुसार पोखरा अवतरण गराएको ड्रुक एयरका पाइलट भुटानको वरिष्ठ पाइलट हुन्। जहाज ल्याण्डिङ गर्दापनि कुनै समस्या नभएको उनले बताए।
‘उहाँले पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टमा अवतरण गरेपछि ‘बेष्ट’ भन्नुभयो,’ कर्णले भने।
पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न पोखरामा पर्यटक आगमन बढाउनुपर्नेमा कर्णले जोड दिए। पर्यटकीय गतिविधि बढाउनुपर्ने र नियमित पोखरा आउजाउ गर्ने यात्रु बढ्दा मात्र नियमित अन्तर्राष्ट्रिय उडान हुन सक्ने उनले बताए।
भुटानबाट पोखरा आएका पर्यटकलाई पोखरा पर्यटन परिषदले एयरपोर्टमा स्वागत गरेको थियो। पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानको सुरूवात नेपाल एयरलायन्सले गर्नुपर्ने परिषदको अध्यक्ष पोमनारण श्रेष्ठले बताए।
‘पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट चल्छ भनेर हामीले धेरै लगानी गरेका छौं, यसलाई चलाउनुपर्छ,’ उनले भने, ‘नेपाल एयरलायन्सले नियमित अन्तर्राष्ट्रिय उडान शुरु गरोस्।’
पोखरा महानगरका मेयर धनराज आचार्यले पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न विभिन्न देशसँग कुटनीतिक पहल भइरहेको बताए।
नेपाल सरकारले भारत र चीनसँग कुटनीतिक पहल गरिरहेको भन्दै उनले पोखरामा पर्यटकीय गतिविधि बढाउन आफुहरु गम्भिर रहेको बताए।