काठमाडौंको कपनमा रहेको मौलिक भान्साघरले मौलिक उत्पादन तथा विभिन्न परिकारका खानपिन मेला आयोजना गर्ने भएको छ।
भान्साघरले हरितालिका तीजको अवसरबाट सुभारम्भ गरी एक वर्षसम्म (५२ हप्ते सप्ताहन्त) हरेक हप्ताको शुक्रबार र शनिबार मौलिक उत्पादन र ४२ व्यञ्जन खानपिन मेला २०८० आयोजन गर्न लागेको हो।
'मौलिक बजार कपन जाउँ, मौलिक भान्सामा रमाऔं, सात प्रदेशको परिकार खाऔं, सात सय ५३ पालिकाको उत्पादन लैजाऔं,' भन्ने नाराका साथ मेला सुरू हुन लागेको भान्साघरका सञ्चालक सुमन दाहालले जानकारी दिए।
वर्ल्डर्माट युनिक सोलुशनद्वारा सञ्चालित अर्गानिक फार्म हाउस तथा मौलिक भान्साघर र मौलिक बजारले हरितालिका तीजको अवसरमा भदौ ३० र ३१ गते ४२ व्यञ्जन परिकारको दर खुवाउने र ४२ व्यञ्जन परिकार मेला निरन्तर आयोजना गर्नेछ।
सञ्चालक दाहालकाअनुसार आफ्नो जात धर्मअनुसार मनाइने मौलिक चाडपर्व र यसमा खाइने विशेष परिकारको महत्व बुझाउने उद्देश्यले भान्साघरले यो मेला आयोजना गर्न लागेको हो।
मौलिक भान्साघरले तीजको दर खाने अवसरलाई लक्षित गरी विशेष छुट सहित चाहे जति मात्रामा ४२ व्यञ्जन खाने गरी स्टल बुफे थाली प्याकेज पनि ल्याएको छ।
भदौ अन्तिम साता अर्थात् तिजबाट सुरू हुने प्याकेज १ वर्षसम्म हरेक हप्ताको शुक्रबार र शनिबार नियमित रूपले सञ्चालन गरिने उनको भनाइ छ।