संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल पर्यटन बोर्डको बजेट विकृतिपूर्ण भएकाले पारित हुन नसकेको बताएका छन्।
बोर्डको प्रस्तावित १ अर्बको बजेटमा ७७ करोड युरोपमा जनसम्पर्क प्रतिनिधि राख्न र बाँकी २२/२३ करोड नेपालमा पूर्वाधारमा खर्च गर्न खोजेकाले आफूले रोकेको बताए।
‘एक अर्ब बजेटमा ७७ करोड त युरोप घुम्न प्रस्ताव गरेका छन्, एजेण्टलाई दिने गरी राखेका छन्,’ उनले भने, ‘अनि २२/२५ करोड टेण्डरबाट पूर्वाधार बनाउने भनेका छन्, मैले यसलाई अस्वीकार गरें, यही हो बजेट नआउनुको कारण।’
पोखरा पर्यटन परिषदले शनिबार पोखरामा आयोजना गरेको अन्तर्क्रियामा बोल्दै मन्त्री किराँतीले पर्यटन बोर्डको रकम पर्यटन प्रवर्द्धनमा मात्र खर्च गर्नुपर्ने आफ्नो अडान रहेको उनले बताए।
‘पर्यटन बोर्डको काम पर्यटन प्रवर्द्धन गर्ने हो, विदेश घुम्ने होइन, पूर्वाधार बनाउने होइन,’ उनले भने।
बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनञ्जय रेग्मीले चालु आर्थिक वर्षका लागि असार मसान्तमै बजेट बनाएर बुझाए पनि स्वार्थका कारण पारित हुन नसकेको बताएका थिए। बिहीबार सेतोपाटीसँग कुरा गर्दै उनले बजेट पारित हुन नसक्दा २ महिनादेखि कर्मचारीले तलबसमेत नपाएको बताएका थिए।
बोर्ड ऐन अनुसार साउन १५ भित्र बजेट पारित भइसक्नुपर्छ। बोर्डको बजेटमा पूर्वाधार बनाउने र युरोपमा एजेण्ट राख्न बजेटको ठूलो हिस्सा विनियोजन गरेपछि पारित हुन नसकेको मन्त्री किराँतीको भनाइ छ।
‘बोर्डको बजेट विकृतिपूर्ण हुन दिन्नँ, बरू एक वर्ष काम नहोस्,’ किराँतीले भने, ‘मन्त्रीज्यू त २, ३ दिनमा गइहाल्नुहुन्छ भन्छन्, कर्मचारी ज्योतिषी हो चिना हेर्ने?’
उनले आफ्नो जिल्लाका लागि बोर्डबाट पाँच पैसा पनि विनियोजन गर भनेर दबाब नदिएको बताए।
बोर्डमा आफू सदस्य नभए पनि मन्त्रालयमातहत भएकाले बोर्डको बजेट गलत ठाउँमा जान नदिएको उनले बताए। भारत र चीनमा पर्यटन प्रवर्द्धन गर्न आफूले केन्द्रित गरेको भन्दै उनले युरोप र अमेरिकामा पनि समानान्तर ढंगले प्रवर्द्धन गर्नुपर्ने बताए।
पर्यटन बोर्डको बजेट प्रसंगमा मन्त्री किराँतीले पुच्छरले कुकुर हल्लाउन खोजेको टिप्पणी गरे।
‘पुच्छरले कुकुर होइन, कुकुरले पुच्छर हल्लाउँछ,’ उनले भने, ‘कुकुर चाहिँ म हो, राम्रो शब्द त होइन, तर पुच्छरले कुकुर चलाउँछ हेर्नुस्।’
अर्को प्रसंगमा मन्त्री किराँतीले जहाज किन्ने प्रक्रिया अघि बढाएको बताए। नेपालमा रहेका २२ वटा विमानस्थल अहिले पनि संचालनमा नरहेको भन्दै उनले तीनवटा साना जहाज किन्ने तयारी भइरहेको बताए। यस्तै, एसियाली देशमा उड्न सक्ने न्यारोबडी जहाज किन्न पनि आफूले प्रस्ताव अघि बढाएको उनले बताए।
‘जनतालाई सेवा गर्ने दायित्व बहन गर्दा जेल जान परे म जान्छु, म पर्ने गरी जहाज किन्ने योजना बनाउनुस्,’ उनले भने, ‘तिमीहरू पर्ने गरी त बनाउँदैनौं।’