सत्तारूढ नेकपा माओवादी केन्द्रका नेताहरूलाई चढाउन पर्ने भएपछि टिकट बुक गरेर पनि १६ जना चिकित्सकहरू आज बिहान मुगुको ताल्चा विमानस्थलबाट नेपालगञ्ज उड्न पाएनन्।
समिट एअरले अन्तिम समयमा १६ मध्ये ५ जना चिकित्सकहरूलाई लैजान नसक्ने बताएको थियो।
उनीहरूको ठाउँमा एअरले माओवादीका नेताहरूलाई लिएर नेपालगञ्ज उडेको थियो।
सेतोपाटीले यस विषयमा माओवादीका नेता र चिकित्सकहरूसँग कुराकानी गरेको छ।
समिट एअरमार्फत् ताल्चा विमानस्थलबाट नेपालगञ्ज पुगेका माओवादीका नेताहरूले जहाज आफूहरूलाई नै लिन नेपालगञ्जबाट मुगु पुगेको दाबी गरेका छन्।
माओवादी उपमहासचिव एवं कर्णाली प्रदेश ईञ्चार्ज मातृका यादव र कर्णाली प्रदेश अध्यक्ष विमला केसीले सेतोपाटीसँग कुराकानी गर्दै चिकित्सकहरूले अनावश्यक रूपमा 'बखेडा निकालेको' दाबी गरे।
आफूहरूले केही बिरामी र माओवादीका तीन जना नेतासहित बाँकी चिकित्सकलाई जहाजमा सँगै जान आग्रह गरेको भए पनि डाक्टरहरूले १६ जनामा एक जना पनि नछुट्ने भनेपछि समस्या उत्पन्न भएको उनले बताए।
‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियानअन्तर्गत हामी हिजो हुम्लाबाट मुगु आएका थियौं, हिजै फर्किने कुरा थियो तर प्लने बिग्रिएर त्यहीँ बस्यौं,’ नेता यादवले भने, ‘आज त मुगुमा फ्लाइटको सेड्युल पनि रहेनछ, त्यसैले पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समिट एअरका नेपालगञ्जका म्यानेजरलाई फोन गरेर जहाज पठाइदिनु भनेपछि उहाँले हाम्रा लागि जहाज पठाइदिनुभएको हो। त्यही जहाजमा मिलेर जाऔं बाँकी जाउँला भन्दा डाक्टरहरूले निहुँ खोज्न सुरू गरे।’
उनकाअनुसार १६ जना नै डाक्टरहरू सँगै जाने भनेपछि कुरा नमिलेको र जहाजले आधा घन्टा पर्खेर बिरामी र सुत्केरीसहित नेपालगञ्ज उडेको हो।
‘डाक्टहरूले हिजो राती हामीले बुक गरेको होटलमा गएर पनि हल्लाखल्ला मच्चाउँदै नेताहरू को हुन् भनेर त्यहाँ बसेपछि हामीले होटल नै चेन्ज गरेर बसेका थियौं,’ यादवले भने, ‘नेताहरू देख्नेबित्तिकै निहुँ खोज्ने प्रवृत्ति डाक्टहरूमा पनि रहेछ।’
उनले डाक्टहरूले रनवेमै गएर भिडिओ बनाउने र नाराबाजी गर्न थालेपछि प्रहरीले रनवेबाट हटाएको बताए।
माओवादीको कर्णाली प्रदेश अध्यक्ष विमला केसीले १६ मा १६ जना नै डाक्टर जहाजमा सँगै आएको भए बिरामीहरू छुट्ने बताइन्।
‘उहाँहरू सबै १६ जना नै आएको भए एक जना सुत्केरी र दुई जना बिरामी बच्चासहित उनीहरूका कुरूवाहरू आउन पाउने थिएनन्, हामीले बिरामी लिएर आएका हौं,’ केसीले भनिन्।
उनकाअनुसार चिकित्सकहरूलाई लिन ताल्चा विमानस्थलमा आजै पुन: जहाज गएको छ।
‘ती चिकित्सकहरूले लफडा गरे पनि हामीले पर्यटन मन्त्री सुदन किराँतीलाई फोन गरेर उनीहरूका लागि जहाजको व्यवस्था गरिदिन अनुरोध गरेका थियौं। मन्त्रीजीले जहाज पठाउने कुरा गर्नुभएको छ,’ उनले भनिन्।
ताल्चा विमानस्थलमा छुटेका चिकित्सकमध्ये गौरब ढकालले सेतोपाटीसँग कुराकानी गर्दै आफूहरूलाई आज बिहान ७:२० बजेको फ्लाइट छ भनेर बोलाइएको बताए।
‘विमानस्थलमा पुगेपछि हाम्रा चार जना साथीहरूलाई लैजान नसक्ने समिट एअरका स्टेशन म्यानेजरले बताउनुभयो,’ उनले भने, ‘सँगै आएका साथीहरूलाई हामीले कसरी छोड्न सक्थ्यौं र?’
आफूहरूले एजेन्टलाई पैसा बुझाएको र आजका लागि जहाजको टिकट निश्चित भएको उनको भनाइ छ।
होटलमा चिकित्सकहरूले 'लफडा' गरेको विषयमा भने आफूलाई थाहा नभएको उनले बताए।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरूदण्डसम्बन्धी गोष्ठी र अन्तरक्रियाका लागि चिकित्सकको टोली गत शुक्रबार जुम्ला गएको थियो।
यो पनि:
समिटले छोडेका टिकट किनिसकेका डाक्टरहरूलाई लिन गयो नेपाल एयरलाइन्सको जहाज
माओवादी नेताहरूलाई चढाउन टिकट काटिसकेका डाक्टरहरूलाई उतार्यो समिट एयरले