पर्यटक गाइड दिलीप आचार्यले यसपालि पनि दसैं मनाउन पाएनन्। फ्रान्सेली पर्यटक पाँच जनालाई घुमाउन पोखराबाट असोज २९ गते उपल्लो मुस्ताङ हिँडेका दिलीप यो साताको आइतबार मात्र पोखरा आइपुगे।
पर्यटकलाई आइतबार साँझ नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुर्याएर उनी अर्को पदयात्राको तयारीमा लागेका छन्।
यसपालि मात्र होइन, गत वर्षको दसैंमा पनि दिलीप यसरी नै पर्यटक लिएर अन्नपूर्ण आधार शिविर गएका थिए। उनका अनुसार पदयात्राको मुख्य सिजन भएकाले दसैं छाडेर पनि पर्यटकलाई घुमाउनु परेको हो।
दसैं मनाउन नपाए पनि दिलीपले यसको महिमा पर्यटकलाई सुनाए। नेपालका अधिकांश जातजाति, भाषाभाषी, संस्कृति र धर्मका मानिसले दसैं मनाउँछन् भनेर बताए।
उनले नेपालमा १४२ जातजाति, १२४ वटा मातृभाषी र १० वटा धर्म मान्ने मानिस आपसमा मिलेर बस्छन् भनेर सुनाए।
उनी भन्छन्, ‘नेपालको यस्तो कुरा सुनेर उनीहरू खुसी हुन्छन्। नेपालीको प्रशंसा गर्छन्।’
पोखराबाट उपल्लो मुस्ताङको लोमान्थाङ पुग्दा ती फ्रान्सेली पर्यटकले नेपालको भूगोलमा मात्र नभई रहनसहन, संस्कृति, वेशभूषा, भाषा र धर्ममा पनि विविधता देखे।पोखराबाट गाडीमा गएका उनीहरू मुस्ताङ प्रवेशद्वार लेतेबाट हिँडेर लोमान्थाङ गएका थिए। उनीहरूले
‘मैले घुमाएका सबै विदेशी पर्यटक यति धेरै विविधतामा नेपालीहरू कसरी मिलेर बसेका होलान् भनेर आश्चर्यमा पर्छन्,’ दिलीप भन्छन्, ‘एउटै गाउँमा धेरै जातजाति र भिन्नभिन्न भाषाका मानिस देखेर अनौठो मान्छन्’
पदयात्री पर्यटकलाई नेपालको भूगोल, संस्कृति र विविधताका बारेमा जानकारी गराउन पाउँदा दिलीपलाई खुुसी लाग्छ। भन्छन्, ‘विदेशीहरूलाई नेपाली समाजका कथा सुनाउँदा उनीहरूमा देखिने आश्चर्यभावले म खुसी हुन्छु।’
पदयात्रामा दिलीप असाध्यै सहयोगी छन्। धेरै जसो विदेशी पर्यटकहरू उनैलाई रोज्छन्।
उनलाई गाइड बनाएर पदयात्रा गएका विदेशीले स्वदेश फर्केपछि आफ्ना साथीहरूलाई दिलीपका बारे बताउँदा रहेछन्। उनैलाई गाइड बनाउन सुझाव दिँदा रहेछन्।
यसकारण उनी पोखराका व्यस्त गाइड मानिन्छन्।
उनी पर्यटक लिएर अन्नपूर्ण हिमशृंखला आसपासका पदमार्गमा दर्जनौंपटक हिँडेका छन्। सगरमाथा र मनास्लु क्षेत्रका पदमार्गमा पर्यटक घुमाएका छन्। हिमाललाई कहिले दायाँ त कहिले बायाँ पारेर हिँडिरहने दिलीप कहिले हिमालपारि पुग्छन् त कहिले हिमालकै फेदमा हुन्छन्।
पर्यटक गाइड बन्नुअघि दिलीप वैदेशिक रोजगारीमा थिए। विदेश जानुअघि स्वदेशमा पनि रोजगारीमा थिए।
उनको स्थायी घर चितवनको भरतपुर हो। उनी पहिलोपटक सन् २००३ कलेज पढ्न पोखरा आएका थिए। खेतीपातीमा हुर्किएका उनी कक्षा दसको परीक्षा (एसएलसी) उत्तीर्ण गरेर कलेजमा भर्ना भए।
त्यही समय उनी काममा लागे।
‘पोखरामा धेरै रमाइलो रहेछ। पैसा कमाइ नहुने पढाइ गर्नुभन्दा काम गर्नतिर लागेँ,’ उनले भने।
सुरूमा उनले बेकरीमा काम गरे। त्यहीँ रहँदा तनहुँको घाँसीकुवा नजिकै रहेको ‘कल्चर भिलेज होटल’ को मेनेजर पदमा प्रस्ताव आयो। मेनेजर भएर गए।
उक्त होटल काठमाडौंबाट पर्यटक लिएर पोखरा आउने बसले खाना खुवाउने ठाउँ थियो। कतिपय पर्यटक त्यहीँ बास बस्थे। उनले काम गरेको दुई वर्ष हुँदै थियो, मुलुकमा फैलिएको सशस्त्र द्वन्द्वको असर पर्यो।
होटल रहेको घरका मालिक तत्कालीन राजपरिवार र राजनीतिसँग सम्बन्धित थिए। होटल सञ्चालक र घरमालिकबीच द्वन्द्वरत माओवादीलाई चन्दा दिने–नदिने विषयमा बेलाबखत विवाद चल्थ्यो।
माओवादीको प्रभाव बढ्दै गयो। चन्दाको कुराले दिलीपलाई हैरान भयो।
अन्ततः होटल सञ्चालक माओवादीलाई चन्दा दिन राजी भए। माओवादी चन्दा लिन आउने सुइँको पाएर सरकारी सुरक्षाकर्मी साधारण पोसाकमा होटलमा आएछन्। सुरक्षाकर्मी आएको सुइँको पाएर माओवादीहरू आएनन्। सुरक्षाकर्मीबाट बच्न माओवादीले पैसा लिएर आउन उर्दी जारी गरे। दिलीप तोकिएको ठाउँमा पुगे।
सेनालाई सुराक दिएको भनेर माओवादीहरूले उनको कञ्चटमा पेस्तोल ताके। उनले आफ्नो कुरा बुझाउन सके। धन्य, ज्यान लिएनन्। चन्दा लिएर गए।
दिलीपले भने, ‘त्यो घटनापछि मलाई होटलमा बस्न मन लागेन। नेपालमै बस्न मन लागेन। एकातिर माओवादीको डर, अर्कातिर सेनाको पनि डर भयो।’
यसपछि उनी घर फर्के। तुरून्तै पासपोर्ट बनाएर काठमाडौंमा मेनपावर व्यवसायीमार्फत् विदेश जाने प्रक्रियामा लागे।
‘पासपोर्ट बुझाएको एक हप्तामै दुबईमा पाँचतारे होटलको वेटरमा काम गर्ने भिसा लागेछ,’ उनले भने, ‘पासपोर्ट बुझाएर चितवन फर्केको एक हप्तामै उड्ने गरी पैसा लिएर आउनू भनेर फोन आयो।’
उनी दुबईको पाँचतारे होटल ‘होलिडे इन’ पुगे। एक वर्षमै बढुवा भएर क्याप्टेन भए।
होटल अत्याधुनिक थियो। कर्मचारीका लागि राम्रो सुविधा थियो। कमाइ पनि राम्रो थियो। वर्षदिनमै बढुवा भएर तलब बढेको थियो। तीन वर्षपछि छुट्टीमा घर आए अनि बिहे गरेर फर्के।
दिलीप फेरि बढुवा पाएर सिनियर क्याप्टेन भए। यसपछि भने होटलका मेनेजरसँग कुरा मिलेन। केही दिनमै छुट्टी मिलाएर घर आए। भिसाको म्याद पनि सकियो। उनले दुबई नफर्कने निर्णय गरे।
कम्पनीले फर्कनू भनेर सबै प्रक्रिया मिलायो। हवाई टिकट पनि पठाइदियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नै लागेका थिए। अचानक मेनेजरको फोन आयो। उसको कुरा सुनेपछि दिलीप जहाज चढ्ने प्रक्रियामा नलागी त्यही ट्याक्सीमा फर्के।
‘मेनेजरले फोन गरेर थर्कायो। मैले आउँदिनँ भनेँ अनि विमानस्थल भित्रबाटै ट्याक्सी मोडेर फर्किएँ।’
उनी घर पुगे। विदेश त जानु नै थियो। उनले चिनजानका एक व्यक्तिले रोजगारीका लागि इराक पठाउने गरेको उनले थाहा पाएका थिए।
इराक जाने विचार गरेर तिनै व्यक्तिमार्फत् इराक जान मेनपावर कम्पनीमा पासपोर्ट र ५० हजार रुपैयाँ बुझाए। अर्को साता फोन आयो। उनी दुबई पुगे।
दुबईको शारजाह सहरस्थित ब्रिटिस क्याम्पमा अन्तर्वार्ता भयो। मासिक ७५० अमेरिकी डलर पारिश्रमिक पाउने गरी दिलीपले जागिर पाए।
ब्रिटिस क्याम्पमा एक साता बसेपछि उनी इराकको राजधानी बग्दाद पुगे। त्यहाँ उनले अमेरिकी सेनाका लागि काम गर्नुपर्थ्यो। अमेरिकाबाट आउने सामान बुझ्ने, बुझाउने र अन्य कामदारसँग समन्वय गरेर काम लगाउने उनको जिम्मेवारी थियो।
इराकमा त्यतिबेला अमेरिकी सेना र इराकी विद्रोहीबीच युद्ध चलिरहन्थ्यो।
‘अहिले प्यालेस्टाइनले हानेको जस्तो मिसाइल त्यतिबेला इराकीले अमेरिकी सेनालाई हान्थ्यो। अमेरिकाले त्यस्तो मिसाइल आकाशमै डिस्पोज गरिदिन्थ्यो,’ उनले भने, ‘एकपटक हामी पुल खेलिरहेका थियौँ। माथिबाट ढुंगो खसेजस्तो गरेर डिस्पोज भएको मिसाइल हाम्रो अगाडि खस्यो।’
दिलीपले इराकमा भाषा अनुवाद गर्ने काम पनि गरे। दुबई बस्दा अरबी भाषा जानेका थिए। उनी अरबी भाषा अंग्रेजीमा अनुवाद गर्थे।
अमेरिकाले इराक छाड्ने भएपछि अफगानिस्तान जान प्रस्ताव आयो तर उनी गएनन्। इराकमा दुई वर्ष काम गरेर सन् २०११ को अन्त्यतिर स्वदेश फर्के। यसपछि घरमै बसेर खेतीमा लागे तर राम्रो आम्दानीको उपाय नदेखेपछि फेरि विदेश जाने सोचे। चिनजानका मेनपावर कम्पनीमार्फत् कतारको पाँचतारे ‘सनाया रिसोर्ट’ मा सिनियर सुपरभाइजरको काम पाए।
उनी त्यहाँ छँदा रियालिटी शो ‘नेपाल आइडल’ को पहिलो ग्रान्ड फिनाले सोही रिसोर्टमा भयो। उनका अनुसार सन् २०१७ मा भएको ग्रान्ड फिनालेमा आयोजकले सिटभन्दा झन्डै साढे दुई गुणा बढी टिकट बिक्री गरेपछि झमेला भयो।
त्यो झमेलाको असर होटलमा काम गर्ने नेपाली कामदारमा पर्यो। होटल व्यवस्थापकले नेपालीलाई हेर्ने नजर नकारात्मक भयो। दिलीप करिब ६ वर्ष काम गरेर २०१७ मै नेपाल फर्के।
नेपाल आउनासाथ ट्रेकिङ गाइडको परीक्षामा सामेल भए। पोखरा बस्दा अन्नपूर्ण क्षेत्रका पदमार्गमा भरिया बनेर पर्यटकका लागि हिँडेका थिए। इराकमा अमेरिकीसँगको संगतले अंग्रेजी भाषामा निकै राम्ररी दोहोरो कुरा गर्न जान्ने भएका थिए।
उनले भने, ‘अंग्रेजी पनि राम्ररी बोल्न जान्ने भएको थिएँ। गाइडको परीक्षामा पास भएर लाइसेन्स पाएँ। अहिलेसम्म गाइड नै छु।’
उनी सन् २०१७ देखि व्यावसायिक रूपमा पर्यटक गाइड रहेका छन्। कोरोना भाइरस संक्रमण महामारी (कोभिड–१९) को समयमा दुई वर्ष काम ठप्प भयो। उनलाई व्यक्तिगत रूपमा पनि निकै ठूलो आर्थिक क्षति भयो।
सरकारले विदेशी पदयात्रीका लागि पर्यटक गाइड अनिवार्य गरेको छ। गाइडलाई दैनिक तीन हजार १०० रुपैयाँ भत्ता तोकेको छ। पोखरामा भने ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान), गण्डकीले पुरानै दर दुई हजार २०० रुपैयाँ कायम राखेको छ।
गाइडलाई उक्त रकम पर्यटकले दिनुपर्छ। आफ्नो खाना, खाजा र बासको व्यवस्था गाइड आफैंले गर्नुपर्छ। अन्नपूर्ण क्षेत्रमा एक छाक खानामा २५० रुपैयाँदेखि ३५० रुपैयाँसम्म तिर्नुपर्छ।
दैनिक नौ घण्टासम्म हिँड्नुपर्छ। पदयात्राका लागि आवश्यक बन्दोबस्तीका सामग्री, लुगा, जुत्ता र औषधि समेत गर्दा बचत कम हुन्छ।
‘महिनाभरि काम पाइयो भने ६० हजार हुन्छ, १५ हजार त खानामै जान्छ,’ दिलीप भन्छन्, ‘दिनभरि हिँड्दा पानी, चियाखाजामा धेरै खर्च हुन्छ। सामानमा पनि खर्च हुन्छ। नियमित काम पाउन पोखरामै डेरा बस्नुपर्छ। पोखराको बसाइ महँगो छ।’
उनका अनुसार दैनिक भत्ताबाहेक कतिपय पर्यटकले ‘टिप्स’ दिन्छन्। कसैले त निकै राम्रो रकम दिन्छन्।
कोभिड–१९ अघि १९ जनाको फ्रान्सेली टोलीले टिप्समा उनलाई एक लाख रुपैयाँ दिएको थियो।
उनले भने, ‘गाइड भत्ता दिएर उनीहरूसँग भएको नेपाली रुपैयाँ, केही अमेरिकी डलर र युरो दिएका थिए। सबै गरेर एक लाख रुपैयाँ भएको थियो। फाइदा भनेकै टिप्स हो।’
उनले बाटोमा बिरामी भएका र कुनै कारणले अलपत्र परेका पर्यटकको उद्धार पनि धेरै पटक गरेका छन्। यस्तो सहयोगमा पनि खुसी भएर पर्यटकले पैसा दिने गरेको उनले बताए।
उनले दुई वटा घटना सुनाए।
पोखरामा भेट भएका फरक–फरक देशका दुई पर्यटक युवती मिलेर अन्नपूर्ण आधार शिविरको पदयात्रा गएछन्। एक जना बाटोमै बिरामी भइछन्। अर्कोले छोडेर हिँडिछन्।
ती युवतीलाई ज्वरो आएको थियो। दिलीपले सिटामोल दिए तर तिनले खान मानिनन्।
उल्टै प्रश्न गरिन्– तिमीले दिएको गोटी औषधी नै हो भनेर कसरी विश्वास गर्ने?
दिलीपले औषधीको पत्ती देखाए। तिनले राम्ररी पढिन् र एउटा गोटी खाइन्। दिलीपले तिनको सबै जिम्मेवारी लिएर उपचार र आरामको व्यवस्था मिलाए। फर्कंदा आफ्नै टिममा लिएर आए।
एकपटक दुई जना ताइवानी पर्यटक गाइड नलिई अन्नपूर्ण आधार शिविरतिर गएछन्। गाइड नभएपछि बाटोमा अलपत्र परेछन्। दिलीपले आफ्नै समूहमा मिसाएर पोखरा ल्याए।
ती दुई पर्यटकले पनि निकै राम्रो टिप्स दिएको दिलीप सम्झन्छन्।
पर्यटकले दिने टिप्स घटेको उनको अनुभव छ।
भन्छन्, ‘आजकाल थोरै खर्च गर्ने पर्यटक आउँछन्। सस्तो रूट, सस्तो खाना र सस्तो बास खोज्छन्।’
विदेशका होटलको कमाइ राम्रो थियो तर दिलीपलाई पर्यटकका साथ आफ्नो माटोमा हिँड्नुले सन्तुष्टि बढी दिन्छ।
'विदेशमा कमाइ त हुन्थ्यो तर आफ्नै माटोमा हिँड्नु जस्तो आनन्द हुन्थ्यो। म त आफ्नो पेसामा खुसी छु। त्यसैले त चाडपर्व पनि नभनी पर्यटकका साथ बाटो लाग्छु त,' उनले भने।