कोही टिकटक बनाउँदै थिए, कोही सेल्फी खिच्दै थिए त कोही रोटे पिङमा रमाउँदै थिए। पृष्टभूमिमा विष्णु माझीको तिज गीत ‘आइन आमा ओ’ घन्किरहेको थियो। साँझ परेर सूर्य अस्ताउनै लागेको थियो तर प्रेम पार्क नाचिरहेको थियो।
दुई महिना अघिमात्रै गुमनाम ठाउँमा तिजको अवसरमा शुक्रबार साँझसम्मै मानिसहरूको चहलपहल थियो। कारण अहिले लामो दुरी भएर चल्ने सवारी साधन रोक्ने र त्यसका यात्रुहरूले शौच गर्ने ठाउँ होइन,प्रेम पार्क हो त्यो ठाउँ।
दाङ – सुर्खेत सडक खण्ड अन्तर्गत दाङको शान्तिनगर गाउँपालिका– ५ को हात्तीखाल सामुदायिक वन र पलेसुवा सामुदायिक वनको क्षेत्रमा पर्छ प्रेम पार्क।
दायाँवायाँ सिधा र सर्लक्क मिलेर लाइनमा उभिएका जस्ता आकर्षक सालका रुखहरु छन्। तुलसीपुर बजारदेखि झन्डै १३ किलोमिटर पश्चिममा छ यो पार्क। त्यही पार्कमा तिजको दिन मेला लाग्यो, भव्य रमाइलो भयो।
पार्क घुम्न आएका युवराज भण्डारीले यात्रुहरूले शौच गर्ने ठाउँका रुपमा बदनाम ठाउँ एकाएक प्रेम पार्कमा परिणत भएकामा खुशी लागेको बताए। पार्क बनेपछि अहिले शौच गर्नका लागि सवारी साधनहरू ती ठाउँमा रोकिँदैनन्। बरू यात्रुहरु पार्क देखेर दंग पर्छन्।
‘हाम्रो नेपालमा यस्ता सुन्दर ठाउँहरु प्रसस्तै छन् र आजपनि पूर्व पश्चिम राजमार्गमा यात्रा गर्दा यात्रुहरूलाई ती ठाउँहरुमा खुल्ला शौच गराइन्छ,’ भण्डारीले भने, ‘ती ठाउँहरुको सुन्दरता जोगाइ राख्न यहाँका युवाहरुले जस्तै मिलेर सकरात्मक रुपमा विकास गर्न सके देशका विभिन्न ठाउँहरु यसैगरी पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिन्छ भन्ने यो उदारहण हो ।’
तुलसीपुर बजादेखि, दाङको सबै भन्दा पश्चिमको पालिका बबई गाउँपालिकादेखि पश्चिम दाङका सयौं चेलीबेटीदेखि सर्वसाधारण मानिसहरु वन क्षेत्रमा भेला भइ आपसमा रमाउँदा पाउँदा तीज थप रमाइलो भएको हिरा केसीले बताइन्।
‘यसअघिका बर्षहरुमा हामीहरु गाउँमा कसैको घरमा भेला भइ साँघुरो आँगनमा नाचगान गर्थ्यौं,’ केसीले भनिन् ‘ तर, यसपालि अलगै महशुस भयो। रमाइलो भयो । ठूलो मेला लाग्यो । मलाइ त हामी मानिस मात्रै हैन यहाँको पुरै वातावरण र रुख विरुवा सबै नाचेको भान भइरहेको छ ।’
गौरीकला डाँगी पनि तिज विशेष कार्यक्रम हेर्न प्रेम पार्क पुगेकी रहिछन्।
‘म त माइती आएकी हुँ र आसपास गाउँघरका सबै दिदीबहिनी एकै ठाउँमा भेट्न पाइयो,’ उनले भनिन् ‘ भेला भइ आपसमा रमाइलो गर्न पाउँदा बेग्लै रमाइलो भयो।’
विनासिंह ठकुरीले एकलास र सुन्दर वन भित्र पहिलो सयौं मानिसहरु भेला भइ तीजलाई निकै उल्लासका साथ मनाउन पाउँदा मन आन्दित भएको बताइन्। ‘वर्ष दिनको तीजमा आफू जन्मे हुर्केको गाउँ ठाउँमा आपसमा नाच्दै रमाउन पाउँदाको खुसी अलग्गै हुन्छ,’ उनले भनिन् ‘ बाल्यकालका साथी भाइदेखि अग्रज सबैलाई एकै ठाउँमा भेट्न र आपसी सुख दुःख साट्न पायौं।’
रमिला जैसीले कहिले काँही आफन्तसंग घाँस दाउरा गर्न आउँदा समेत डर लाग्ने ठाउँ रहेकोमा तिजका दिनमा धेरै मानिसहरू भेला भएर मनाउँदा खुशी लागेको बताइन्।
‘यहाँ चोर लाग्थ्यो र एक्लै हिडडुल गर्न डर हुन्थ्यो,’ उनले भनिन् ‘ तर, आज यही ठाउँमा आइ सारा चेलीबेटी जम्मा भई ढुक्कले नाच गान गरियो, रमायौं।’
तीजको मेला हेर्न साथीहरुका साथ पुगेका तुलसीपुर उपमहानगरका कर्मचारी झरेन्द्र खरेलले एक्लै हिँड्दा डर लाग्ने ठाउँ विगतमा खुल्ला शौचका लागि यात्रुले प्रयोग गर्दै आएको भएपनि यसपालि पर्यटकीय क्षेत्रको रुपमा रुपान्तरण हुँदै गएको देखेर खुसी लागेको बताए।
‘यो एकलास र सुन्दर ठाउँलाई ‘प्रेम पार्क’का रुपमा रुपान्तर गर्न भूमिका खेल्नेहरु धन्यवादका पात्र हुन्,’ उनले भने ‘ अब यहाँ शौचालय, खानेपानी लगायत सुरक्षाको पनि प्रबन्ध हुनुपर्छ ।’
कसरी बन्यो ‘प्रेम पार्क’
वनलाई पार्क बनाउन स्थानीय युवाहरूको भूमिका रहेको हात्तीखाल सामुदायिक वनका अध्यक्ष शाशिराम बिष्ट बताउँछन्। यसमा सामाजिक सञ्जालले ठूलो सहयोगी भयो।
युवाहरू वनमा जाने टिकटक र भिडिओ बनाएर सार्वजनिक गर्न थालेपछि विस्तारै त्यसवरका मानिसहरूले त्यहाँको सुन्दरताबारे थाहा पाउन थालेका थिए। त्यसपछि त्यस क्षेत्र र आसपासका गाउँका मानिसहरू पनि त्यहाँ गएर भिडिओ बनाएर सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने क्रम बढ्न थाल्यो।
विस्तारै मानिसहरूको बाक्लो जमघट हुन थालेपछि स्थानीय केही युवाहरु मिलेर वनलाई पार्कका रुपमा विकास गर्ने र पर्यटकीय क्षेत्र बनाउने विषयमा छलफल गरेको अध्यक्ष बिष्टले बताए।
पार्क बनाउन युवाहरूले गाडीका स्टाफदेखि स्थानीय स्तरमा व्यापार गर्ने व्यवसायीहरूसँग सहयोग मागेका थिए। शान्तिनगर घर भई विभिन्न मुलुकमा बस्दै आएका युवाहरूले पनि सहयोग गर्दा झन्डै २ लाख रकम संकलन भएको थियो।
त्यसमध्ये हालसम्म ४० हजार मात्रै खर्च भएको छ। पार्क बनाउनका लागि युवाहरूले श्रमदान पनि गरेको अध्यक्ष विष्टले बताए।
‘यो भन्दा पहिला यहाँ हरेक चालकले यात्रुहरुलाई शौचका लागि रोकिदिन्थे र हामीले त्यो रोक्न प्रयास गर्दापनि सम्भव भएन,’ उनले भने, ‘युवाहरु संगठित भएर वनलाई पार्क बनाएपछि दिसा पिसाबका सवारी साधन रोकिन थालेक छाडेका छन्।
युवाहरुको प्रयासले वन ‘प्रेम पार्क’का रुपमा भाइरल भएपछि बिहानदेखि साँझसम्म फोटो खिच्न, टिकटक बनाउन, पिङ खेल्न आउने मानिसहरुको भीड रहने उनले बताए।
मानिसहरुको जमघट बाक्लिँदै गएपछि सडक छेउ वार पार र अग्ला रुखहरुमा स्थानीय युवाहरुले आँफै ध्वजा पताकाहरु टाँगेका हुन्। स्थानीय स्रोत साधनको प्रयोग गरी काठका बस्ने ठाउँहरु निर्माण पनि गरिएको छ। रोटे पिङ बनाइएको छ। फोटो खिच्ने ठाउँपनि बनाइएको छ । प्रकृतिमा थोरै केही कलाहरु थपिदा वन क्षेत्र झनै सुन्दर तथा आकर्षक बन्न पुगेको र मानिसहरु थुप्रै आउन थालेको अध्यक्ष बिष्ट बताउँछन्।
यद्यपि वन भाइरल भएपछि चुनौतिहरु पनि थपिएका उनी बताउँछन्। अबेरसम्म युवाहरू बस्ने र उच्छृंखल गतिविधि गर्ने पाइएपछि त्यसको समाधानबारे पनि छलफल भइरहेको उनले बताए।
हात्तीखाल सामुदायिक वन क्षेत्रको मुख्य क्षेत्रमा काँडेतारले बेर्ने र त्यो बन्द गरि दिउँसोमा मात्रै खोल्ने बारे सरसल्लाह भइ रहेको उनले बताए।
गुमनाम वन प्रेम पार्कका रुपमा चर्चित भएपछि स्थानीय युवा शंकर रावतको अध्यक्षतामा पार्क व्यवस्थापन समिति पनि गठन गरिएको छ। समितिले यहाँ आउन सक्ने कुनैपनि समस्या समाधानको पहल गर्छ।
समितिका सल्लाहकार सियाराम चौधरीले पार्क क्षेत्रमा हुने उच्छृङखल गतिविधि रोक्न समिति निर्माण गरिएको बताए। पार्कमा व्यवस्थित शौचालय निर्माणदेखि खानेपानीको प्रबन्ध मिलाउनेबारे सल्लाह भइरहेको बताए।
शौचालय र खानेपानीको उचित व्यवस्थापन छिटै गर्नेगरी शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतदेखि वडा नं. ५ का अध्यक्ष ओपेन्द्रबहादुर रावतसंग परामर्श भइरहेको उनले बताए। त्यसो हुँदा वनभोज आउनेहरुका लागि पनि सहज हुने चौधरीले बताए।
सबै तस्बिर सौजन्यः झग्गु भण्डारी।