अर्घाखाँचीको प्रसिद्ध सुपादेउराली मन्दिर नजिकै ए.एस. एड्भेन्चर संचालन गरिएको छ।
शितगंगा र सन्धिखर्क नगरपालिकाको सिमामा पर्ने सुपादेउराली मन्दिरमा दैनिक ५ देखि १० हजारसम्म धार्मिक पर्यटकहरू पुग्ने गर्छन्।
अर्घाखाँचीमै जन्मिएर हुर्किएका दुई युवाले पर्यटकहरूलाई लक्षित गर्दै पर्यटन प्रवर्द्धन गर्न ए.एस. एड्भेन्चर संचालन गरेका हुन्।
अर्घाखाँचीको मालारानी गाउँपालिका-२ अमिलेका सिर्जन थापा र अर्जुन कुवँरसँगै खेल्दै हुर्किए। गाउँमा सँगै खेल्दै र अध्ययन गर्दै हुर्किएका उनीहरू बीच गहिरो सम्बन्ध बनिसकेको थियो।
उमेर बढ्दै जाँदा दुबै जना व्यवसायीक कामको लागि अलगअलग भए। अर्जुन काठमाडौंमा इन्टरनेटको व्यवसायमा व्यस्त भए। सिर्जनले बुटवलमै बसेर होटल रेष्टुरेण्ट संचालन गरे।
बेलाबेलामा हुने भेटघाटमा उनीहरू आफ्नो जन्मथलोमा कुनै राम्रो काम गर्नुपर्छ भनेर सल्लाह गरिरहन्थे। अध्ययनलाई बीचमै छोडे पनि दुबैजना आ-आफ्नो व्यवसायमा सफल बनिरहेका थिए।
व्यवसायमा पाएको त्यही सफलताले उनीहरूलाई आफ्नै जन्मथलोमा केही गर्नुपर्छ भन्ने उत्साह जगाइरहन्थ्यो।
अर्घाखाँचीमा धेरै ऐतिहासिक र पर्यटकीय स्थल भएपनि पर्यटकहरूलाई आकर्षित गर्न सकेको छैन।
भारतमा समेत प्रख्यात बनिरहेको सुपादेउराली मन्दिर, पाणिनि तपोभूमि, संस्कृतको भाषाको व्याकरणको उत्पत्ति भएको र रचना भएको ऐतिहासिक पाणिनि तपोभूमि, बाइसे चौबिसे राजाहरूले राज्य संचालन गरेका अर्घा दरबार, खाँचीकोट दरबार, जंगबहादुर राणा जन्मिएको मथुरा बेसी, न्वारान भएको स्थान बल्कोटको पौवा छ।
त्यस्तै, छत्रदेव राजाको मन्दिर, मालारानी मन्दिर, अर्घा भगवती मन्दिर, डमरु दह लगायत जालकाडा, घेरा, नर्तनाचल जस्ता दर्जनौं अग्लाअग्ला पहाड र विभिन्न देवीदेवताका मठमन्दिरहरू अर्घाखाँचीका प्रमुख पर्यटकीय स्थलहरू मानिन्छन्।
आफू जन्मिएको जिल्लामै केहि गरौं भन्ने हुटहुटि बोकेर लगानीको क्षेत्र खोजिरहेका सिर्जन र अर्जुनले सुपादेउराली मन्दिर नजिकै एड्भेन्चरको लागि उपयुक्त स्थान भेटे। अहिले उनीहरूले शितगंगा नगरपालिका वडा नं. २ सुपादेउराली मन्दिर नजिकै ए. एस. एड्भेन्चर संचालनमा ल्याएका छन्।
‘पछिल्लो समय एड्भेन्चर र साहसिक खेलप्रति युवाहरू आकर्षित भइरहेका छन्, जीवनमा एकपटक भएपनि एड्भेन्चरको अनुभव लिउँ भन्ने धेरैको मनमा छ। तर, पाइरहेका छैनन्। हामीले उनीहरूको त्यही चाहनालाई पुरा गर्न खोजिरहेका छौं,’ एड्भेन्चर संचालक अर्जुन कुँवरले भने।
सुपादेउराली मन्दिरदेखि १० मिनेटको पैदल दूरीमा रहेको एड्भेन्चरमा अहिले स्थानीय मात्र होइन मन्दिरमा पुग्ने पर्यटकहरू पनि पुग्न थालेका छन्।
दसैंको अवसर पारेर संचालन गरिएको एड्भेन्चरमा सुपादेउराली मन्दिर र नर्तनाचल पर्वतलाई पृष्ठभूमीमा राखेर झट्का पिङ, बालबालिका र पारिवारिक झुला, शिसा र हातको सेल्फी जोन लगायतका संरचना निर्माण भइसकेका छन्।
केही समयभित्रै जिपलाइन निर्माण गर्ने तयारीमा रहेको कुँवरले बताए।
‘यहाँबाट नर्तनाचल पर्वत जस्ता अग्ला पहाडहरूसँगै सुपादेउराली मन्दिर, लाहुरे बजार र वरिपरिको हरियाली सहितको दृश्यावलोकन गर्न मिल्ने गरि एड्भेन्चर तयार गरिएको छ,’ उनले भने।
समुन्द्र सतहदेखि करिब चार हजार ५ सय फिटको उचाइमा रहेको सुपा देउराली मन्दिरदेखि अझै माथिल्लो उचाईमा एड्भेन्चर निर्माण गरिएकोले त्यहाँ वरिपरिका सबै दृश्यहरू अवलोकन गर्दै आनन्द लिन सकिने उनले बताए।
अर्का संचालक सिर्जन थापा सुपादेउराली दर्शनका लागि आउने पर्यटक उतिबेलै फर्किने अवस्था रहेकोमा अब भने एड्भेन्चरको पनि अनुभव लिएर फर्किने बताउँछन्।
‘सुपादेउरालीमा दैनिक ५ देखि १० हजारसम्म धार्मिक पर्यटक आउने गरेपनि एकछिन बसेर आनन्द लिने कुनै स्थान नभएकोले यहाँको पर्यटन प्रवर्द्धन हुन सकेको छैन तर, अब भने केहि समय बसेर रमाइलो गर्ने संरचना निर्माण भएको छ,’ थापाले भने, ‘एड्भेन्चरबाट मन्दिर देखिन्छ भने मन्दिरबाट पनि एड्भेन्चर देख्न सकिन्छ, जसले गर्दा मन्दिरमा आउने धार्मिक पर्यटकहरू एड्भेन्चरसम्म पुग्न सक्छन्।’
सवारीसाधनको सुविधा नहुँदा अर्घाखाँची, गुल्मी र प्युठानका पायक पर्ने गाउँबाट समेत नुन तेल लिन कपिलवस्तुको पत्थरकोट आउन सुपादेउराली भएरै आउनुपर्थ्यो। बासबस्ने होटल तथा कुनै पाटीपौवा नभएको समयमा पनि नुन तेल बोक्ने भरियाहरू सुपादेउरालीमै बास बस्थे। आवतजावत गर्ने भरियाहरू सुपाखोलाको खोंचमा रहेको त्यही देवीको शिलामा पूजा गर्थे।
२०४० सालमा अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट कपिलवस्तुको गोरुसिंगे जोड्ने कच्ची सडक बनेपछि खोलाको खोंचमा रहेको शिलालाई त्यही कच्ची बाटोको छेउमा सारियो। खाँचीकोट र नरपानीका बासिन्दाले ढुंगामाटोको मन्दिर बनाएका थिए।
प्यागोडा शैलीको कलात्मक अहिलेको मन्दिर भने २०६३ सालमा अर्घाखाँचीकै नरनारायण बाबाको अगुवाईमा करिब ३ करोड रुपैयाँ खर्चिएर निर्माण गरिएको हो।
२०७५ सालमा सरकारले चयन गरेका १ सय उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलको सूचीमा सुपादेउराली मन्दिरलाई पनि समावेश थियो।
सुपादेउराली मन्दिर दर्शनको लागि आउने पर्यटकहरूलाई लक्षित गरी संचालन गरिएको एड्भेन्चरको माध्यमबाट स्थानीयले पनि लाभ लिन सक्ने संचालक थापा दावी गर्छन्।
थापाले एड्भेन्चरसँगै स्थानीय युवाहरूसँग मिलेर सुविधासम्पन्न होटल तथा रेष्टुरेण्ट, होमस्टे, पिकनिक स्पट लगायत संचालन गर्ने योजना रहेको बताए।
‘यहाँ भएका जस्ता अग्ला डाँडाकाँडा जहाँतहिँ भेट्न सकिँदैन। मन्दिरको दर्शन, एड्भेन्चरको मज्जा लिन र अग्ला अग्ला डाँडाकाँडाहरूको अवलोकन एकैपटक लिन सकिने भएकाले पर्यटकहरूलाई आकर्षित गर्न सकिन्छ भन्ने लाग्छ,’ थापाले भने।
अहिले गाउँबाट युवाहरू विदेश पलायन भइरहेका छन् तर, सुपादेउराली आसपासका धेरै युवाहरू भने सानो तिनो काम गरेर भएपनि गाउँमै बसिरहेकोले उनीहरूलाई पनि जोडेर होमस्टे र पिकनिक स्पट संचालन गर्न लागिएको थापाले बताए।
थापाका अनुसार सुपादेउराली मन्दिर र लाहुरे टाँसिएको भीरले प्रचलित शितगँगा–२ फलाचौरमा २ रोपनी क्षेत्रफलमा निर्माण गरिएको एड्भेन्चरमा पर्यटकहरूले एक हजार रुपैयाँको कम्बो प्याकमा त्यहाँ रहेका सबै संरचनाहरूमा अनुभव लिन सक्ने छन्। दसैंको मुखमा संचालनमा आएकोले पनि विशेष छुट दिइएको उनले बताए।
सडकदेखि १० मिनेटको उकालो दुरीमा रहेको एड्भेन्चरसम्म पुग्न अहिले सडकको असुविधा रहेपनि वडा कार्यालयले सडक र खानेपानीको सुविधा पुर्याउने आश्वासन दिएको छ। अहिले डेढ करोड जति लगानी भइसकेको एड्भेन्चरमा जिपलाइन समेत थप गर्दा साढे दुई करोड लगानी पुग्ने कम्पनीले जनाएको छ।