बिहान झिसमिसेमै हुलका हुल मानिसहरू उकालो चढ्न थाल्छन्। कोही गन्तव्यमा पुगेर सांगीतिक माहोलमा झुम्मिन थाल्छन्। कोही पसिनाले निथ्रूक्क भिजेर ओरालो झर्दै हुन्छन्।
बुटवल उपमहानगरपालिका-७, दीपनगरबाट १० मिनेट हाराहारी पैदल उकालो चढेपछि मानिसहरू यो गन्तव्यमा पुग्छन्।
यो ठाउँ हो बुटवलको पूर्वउत्तरमा रहेको 'हिलपार्क'।
हिलपार्कमा बिहान चार बजेदेखि सात बजेसम्म सयौं मानिसहरू सांगीतिक माहोलमा नाच्छन्, रमाउँछन्। यहाँको महत्त्वपूर्ण पर्यटकीय स्थल बनेको हिलपार्क बुटवलवासीका लागि व्यायाम गर्ने थलो भएको छ।
बुटवलका बासिन्दा यमलाल भट्टराई श्रीमती सन्तोषी ज्ञवालीका साथ हरेक बिहान साढे चार बजे हिलपार्क पुग्छन्। आधा घण्टा सांगीतिक माहोलमा नाचेपछि दिनभरिका लागि शरीर फूर्तिलो हुने उनले बताए।
'सबेरै उकालो चढेर सांगीतिक माहोलमा रमाउँदै शरीरलाई स्वस्थ र तन्दुरूस्त बनाउन चाहनेका लागि हिलपार्क उपयुक्त ठाउँ भएको छ,' उनले भने।
डिला अर्याल हिलपार्कमा नियमित आउन थालेको दस वर्ष भयो। उनी ५४ वर्ष उमेरका छन्। कुनै समय उनको तौल ९० किलो पुगेको थियो। दैनिक हिलपार्कको उकालो चढेर नाच्न थालेपछि १६ किलो घटेको उनले बताए।
'पहिले त म धेरै मोटो थिएँ, उठबस गर्न पनि अल्छी लाग्थ्यो। यहाँ आएर दैनिक पसिना बगाउन थालेपछि ७४ किलोमा झरेको छु,' उनले भने।
देवीनगरका भीमबहादुर क्षेत्रीले पनि हिलपार्कमा नाचगान गरेर १४ किलो तौल घटाएको बताए।
'पहिले मलाई उच्च रक्तचापको समस्या थियो। यहाँ आएर नाच्न थालेको सात वर्ष भयो,' उनले भने, 'रक्तचाप सामान्य भएको छ। तौल पनि घट्यो।'
कालिकानगरका रमेश गौतम हिलपार्क जान थालेको १४ वर्ष भयो। दैनिक जान पाउँदैनन्। मिलेका बेला बिहान झन्डै एक घण्टा पैदलयात्रा गरेर हिलपार्क पुग्छन्।
'म दाङमा सरकारी सेवामा कार्यरत छु। बुटवल आएका बेला हिलपार्क पुगेर मेरो दिनको सुरूआत हुन्छ,' उनले भने, 'कुनै विशेष कारणबाहेक हरेक दिन पुग्छु।'
सुख्खानगरकी कुमारी भुसाल पनि दैनिक हिलपार्क पुग्नेमध्येकी एक हुन्। उनी बिहान साढे चार बजे हिलपार्क पुग्दा गीत घन्किँदै हुन्छ। चार-पाँचवटा गीतमा नाच्दा पाँच बजिसक्छ।
नियमित हिलपार्क यात्रा र नाचले आफ्नो मधुमेहमा सुधार भएको उनी बताउँछिन्। चिकित्सकले औषधिको मात्रा पनि घटाइदिएका छन्।
'पहिले त सुगरको धेरै औषधि खान्थेँ। नाच्न थालेपछि औषधिको डोज घटेको छ,' उनले भनिन्, 'बिहान आधा घण्टा नाचेर गएपछि दिनभरि शरीर हलुंगो हुन्छ। कहिलेकाहीँ माथि डाँडासम्म पनि पुग्छु।'
बिहानी हिँडाइ र नाचगानका लागि मात्र होइन, प्राकृतिक हरियालीसहितको पार्क, ढुंगामा कुँदिएका विभिन्न आकृति र भ्यु टावरबाट देखिने बुटवलको मनमोहक दृश्य अवलोकनका लागि पनि हिलपार्क आकर्षक गन्तव्य बनेको छ।
केही बेर मात्र भए पनि बुटवलको सहरी कोलाहलबाट मुक्त हुन हिलपार्कमा आन्तरिक र बाह्य पर्यटकको घुइँचो हुन्छ। सूर्योदय अवलोकन र वनभोजका लागि पनि हिलपार्क प्रसिद्ध छ।
कुनै बेला 'गुरूङडाँडा' र 'चिहानडाँडा' दुवै नामले चिनिने हिलपार्क चुरे पहाडको थुम्को हो। पार्क करिब ३० हेक्टर जमिनमा फैलिएको छ। सालका रूखको जंगलबाट आउने चराचुरूंगीको थरीथरी चिरबिरले मन्त्रमुग्ध बनाउँछ।
हिलपार्कको विकास र संरक्षणको काम हिलपार्क विकास परिषदले गर्छ। बिहान र साँझ व्यायामका लागि जानेले निःशुल्क प्रवेश पाउँछन्। दिउँसो घुम्न जानेले प्रवेश शुल्क तिर्नुपर्छ। परिषदले छहारी र साउन्ड सिस्टमको प्रबन्ध गरिदिएको छ।
यो हिलपार्कको फेदीमा २०५२ सालसम्म स्थानीयवासीहरू फोहोर फाल्थे। माथिको डाँडामा गुरूङ समुदायका मृतकको दाहसंस्कार हुन्थ्यो।
२०५४ सालमा मेयरका उम्मेदवार भोजप्रसाद श्रेष्ठले आफ्नो चुनावी घोषणापत्रमा त्यहाँ पार्क बनाउने योजना समावेश गरे। मेयर निर्वाचित भएपछि २०५७ सालमा उनले पार्क बनाउने निर्णय गरे। नगरपालिका बैठकले हिलपार्क नाम राख्यो। मेयर श्रेष्ठको अध्यक्षतामा हिलपार्क विकास परिषद गठन भयो। परिषदले गुरूयोजना बनाएर हिलपार्क विकासको काम सुरू गरेको थियो।
तर सो गुरूयोजना अनुसार यहाँको विकास हुन सकेको छैन।
परिषदका वर्तमान अध्यक्ष टंक पराजुली सरकारी निकायको असहयोगका कारण योजना अनुसार काम हुन नसकेको बताउँछन्।
लक्ष्मीनगर र शिवनगर सामुदायिक वनको जग्गा समेटेर बनाइएको हिलपार्क व्यवस्थापनका लागि वनसम्बन्धी ऐन पनि बाधक बनेको उनको गुनासो छ।
स्थापनाकालमा तत्कालीन नगरपालिकाको सहयोगमा बनेका संरचना जीर्ण भएका छन्। मूल गेटबाट तीन सय मिटर सडक कालोपत्रे छ। उकालोमा ४८० खुड्किलाको सिँढी पनि छ। करिब २५ वर्षअघि बनेको सिँढी जताततै भत्किएको छ।
हिलपार्क थप आकर्षित बनाउने उद्देश्यले २०७० सालमा नेपाल कमर्सियल आर्टिस्ट संघले ढुंगामा विभिन्न कलात्मक मूर्तिहरू कुँदेर 'मूर्तिपार्क' बनाएको थियो। हाल ती आकृतिहरू झाडीले ढाकिएका छन्।
२०७८ सालमा तत्कालीन मेयर शिवराज सुवेदीले यहाँ 'बिग बुद्धपार्क' पनि बनाउने योजना ल्याएका थिए। हिल स्टेसनका रूपमा विभिन्न संरचना निर्माण गरिरहेको बुटवल उपमहानगरपालिकाले नै यो बुद्धपार्क बनाउने भनिएको थियो।
लुम्बिनी परिपथसँग जोड्ने गरी बुद्धको ३५ मिटर अग्लो प्रतिमासहितको पार्क बनाउन कुल सवा अर्ब रूपैयाँ लागत हुने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार थियो। उपमहानगरले बनाएको पाँच वर्षको आवधिक योजनामा हिलपार्कमा बुद्धप्रतिमा र ध्यान केन्द्रसहितको पार्क निर्माण कार्यक्रम समेटिएको थियो।
त्यस्तो बुद्धप्रतिमा बुटवलबाट ४२ किलोमिटर दक्षिण-पश्चिममा रहेको बुद्ध जन्मस्थल लुम्बिनीबाटै देख्न सकिने बताइएको थियो। बुटवलको बुद्धकालीन सभ्यताको पहिचान बढाउने 'ड्रिम प्रोजेक्ट' मानिएको 'बिग बुद्धपार्क' हाल अलपत्र छ।
बुटवल उपमहानगरको हालको नेतृत्व हिलपार्कको विकासका लागि उदासीन रहेको हिलपार्क विकास परिषदका अध्यक्ष पराजुलीको आरोप छ।
'यसअघिको नेतृत्वले अघि सारेको योजना अहिलेको नेतृत्वले बेवास्ता गरेको छ,' उनले भने।
उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालले भने बिग बुद्धपार्क निर्माण गर्न चालु वर्षमा एक करोड रूपैयाँ बजेट विनियोजन गरिएको बताइन्। यहाँको काम अब चाँडै अघि बढ्ने उनको भनाइ छ।