उदयपुरको वेलका नगरपालिका-८ स्थित बोप्ताङमा रहेको प्याराग्लाडिङ सेन्टर केही दिनयता सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
पहिले फ्याट्टफुट्ट मानिसहरू पुग्ने उक्त डाँडामा अहिले दैनिक सयौंको संख्यामा मानिसहरू पुग्न थालेका छन्। पृष्ठभूमिमा सप्तकोशीलाई देखाएर फोटो खिच्ने र टिकटक बनाउनेको भीड पनि उस्तै छ।
खासमा यो ठाउँ एकाएक चर्चामा आउनुको कारण पनि टिकटक र फेसबुकको रिल्स हो।
हुन पनि यो डाँडामा उभिएपछि सप्तकोशी र कोशी टप्पुको लोभलाग्दो दृश्य देखिन्छ। यहीँ डाँडाबाट प्याराग्लाइडिङ गर्नेहरूले उडान भर्छन्। र कोशी माथिको आकाशमा चक्कर मार्छन्। यही दृश्य भिडिओमा देखेर मानिसहरू अहिले प्याराग्लाइडिङ गर्ने भन्दै बोप्ताङ डाँडा पुग्ने गर्छन्।
तर धेरै मानिस त्यहाँ पुगेपछि खिन्न हुन्छन्। किनकी बोप्ताङमा रहेको सो प्याराग्लाइडिङ सेन्टरमा व्यावसायिक उडान हुँदैन। अर्थात् पैसा तिरेर उड्न पाइँदैन। यो प्याराग्लाइडिङ पाइलट उत्पादन गर्ने प्रशिक्षण केन्द्र हो।
२०७८ सालदेखि सुरू भएको यो प्रशिक्षण केन्द्रका अगुवाइकर्ता हुन् पोखराका सुरेन गुरूङ।
साहसी गतिविधिमा रूचि रहेका उनी एकताका तमोर नदीबाट राफ्टिङ गर्दै सप्तकोशी झरेका थिए। चतरामा डुंगा बिसाएपछि साथीहरूसँग घुम्न निस्किँदा कोशीका फाँट र वरपरका डाँडाहरूले उनको मन लोभ्यायो। त्यतिबेलै उनले एउटा प्याराग्लाइडिङ ट्रेनिङ सेन्टर खोल्ने योजना बुने।
नभन्दै चार जना साथीहरू मिलेर उनले २०७८ सालमा फ्लाइङ वन्डर्स प्याराग्लाइडिङ नेपाल कम्पनी दर्ता गरेर बोप्ताङमा प्रशिक्षण केन्द्र सुरू गरे।
सुरूमा थोरै संख्याबाट सुरू गरेको प्रशिक्षण केन्द्रमा अहिले विदेशबाट पनि प्रशिक्षार्थीहरू आउने गरेको उनी बताउँछन्।
'गत वर्षदेखि राम्रो भएको छ। फ्रान्स, युके, सिंगापुर, चीन, जर्मनी लगायत धेरै देशहरूबाट प्याराग्लाइडिङ सिक्ने मानिसहरू आउनुभएको छ,' उनले भने, 'अहिलेसम्म डेढ सय जना पाइलटहरू उत्पादन गरिसक्यौं।'
पोखरा लगायत धेरै ठाउँमा व्यावसायिक प्याराग्लाइडिङ सेन्टर भए पनि प्रशिक्षण केन्द्र भने देशभर जम्मा दुई ठाउँमा रहेको छ। एउटा स्याङ्जामा र अर्को उदयपुरको बोप्ताङमा।
गुरूङका अनुसार प्याराग्लाडिङ सिक्नेहरूको लागि सुरूमा १५ दिनको कोर्स दिइन्छ। जसलाई 'लेभल थ्री' कोर्स भनिन्छ। यो कोर्स गरेपछि जो कोही पनि एक्लै प्याराग्लाइडिङ गरेर आकाशमा उड्न सक्छन्। यो कोर्स गर्नका लागि नेपालीले १ लाख ८० हजार र विदेशीले १५ सय डलर तिर्नुपर्ने हुन्छ।
तीन वर्षदेखि सञ्चालनमा रहेको ठाउँ एकाएक किन भाइरल भयो? भन्ने प्रश्नमा गुरूङ भन्छन्, 'हामीले यसपालि टेकअफ पोइन्टमा फुटसलको कार्पेट हालेका थियौं। त्यो फोटो/भिडिओमा राम्रो आउने रैछ। अनि कोशीको भ्यूले गर्दा पनि टिकटक बनाउनेहरू धेरै आउनुभयो। त्यसले गर्दा भिडिओहरू भाइरल भयो।'
यसअघि नगर भित्रकै धेरै मानिसहरूलाई यो ठाउँबारे थाहा नभएको बताउँदै अहिले भने दैनिक डेढदेखि दुई सय जना मानिसहरू आउने गरेको उनी बताउँछन्।
शनिबारको दिन त झन् ५०० बढी मानिसहरू आउने गरेको उल्लेख गर्दै उनले स्थानीय व्यापार समेत बढेको बताए।
'पहिले त कति यहीँ नजिक रामपुरको मान्छेहरूलाई पनि यो ठाउँ थाहा थिएन। अहिले त धरान, इटहरी, झापादेखि मानिसहरू आउनुहुन्छ। यसले समग्रमा राम्रै गरेको छ। हिजो केही नभएको ठाउँमा अहिले मानिसहरूले होटल रेष्टुरेन्ट खोलेका छन्। हामीलाई पनि यो ठाउँ चर्चामा आउँदा राम्रै भएको छ। धेरैले प्रशिक्षण केन्द्रबारे थाहा पाउनुभएको छ,' गुरूङले भने।
तर धेरै मानिसहरूले यहाँ आएपछि उड्ने चाहना राख्ने गरेको उनी बताउँछन्।
घुम्न आउनेमध्ये उड्न कति पैसा लाग्छ भनेर नसोध्ने बिरलै हुन्छन्। तर छिट्टै नै यहाँ व्यावसायिक उडान सुरू गर्न केही स्थानीय युवाहरू अग्रसर भएर लागेको उनले बताए। यतिबेलै चर्चा भएको समयलाई समातेर व्यावसायिक उडान सुरू गर्न सके यसले सफलता समेत पाउने उनको बुझाइ छ।
अर्को कुरा यो ठाउँ प्याराग्लाइडिङका लागि उपयुक्त रहेको गुरूङ बताउँछन्। किनकि यहाँ टेकअप र ल्यान्डिङ गर्ने ठाउँ एकदम सहज भएकाले दुर्घटनाको जोखिम एकदम न्यून रहेको उनले बताए।
'धेरै जस्तो दुर्घटना टेकअफ र ल्यान्डिङमा हुन्छ। तर यहाँ टेकअफका लागि ठाउँ ओपन छ र ल्यान्डिङका लागि त झन् त्यत्रो कोशीको फाँट छ। त्यसैले यो ठाउँ एकदम राम्रो छ,' गुरूङ भन्छन्, 'भ्यूको हिसाबले पनि यहाँ प्याराग्लाइडिङ गर्न रमाइलो छ। मौसम खुलेको बेला धरान, इटहरी छर्लङ्ग देखिन्छ। अनि कोशीको माथि फन्को लगाउँदा उड्ने जो कोहीलाई रोमाञ्चित बनाउँछ।'