एयर इन्डियाले आफ्ना बोइङ विमानहरूको इन्धन स्विचमा केही पनि समस्या नपाइएको जनाइएको छ।
गत महिना भारतको अहमदावादमा भएको एयर इन्डियाको जहाज दुर्घटनाको अनुसन्धानमा इन्धन प्रवाह नियन्त्रण गर्ने स्विचहरू बन्द भएको देखिएपछि भारतले आफ्ना वायुसेवा कम्पनीहरूलाई बोइङ जहाजको इन्धन स्विच जाँच गर्न निर्देशन नै दिएको थियो। एयर इन्डियाले आफ्ना सबै बोइङ विमानहरूको जाँच गर्दा इन्धन स्विचमा केही पनि समस्या नभेटिएको भनेको छ।
१२ जुनमा सरदार वल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनका लागि उडेको केहीबेरमै मेघनीनगरको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो।
एयर इन्डियाको त्यो बोइङ ७८७ ड्रिमलाइनर जहाजमा चालक दलसहित २४२ जना सवार थिए। तीमध्ये २४१ जना र आवासीय क्षेत्रका सर्वसाधारण समेत गरी २७० भन्दा बढीको मृत्यु भएको थियो।
भारतको विमान दुर्घटना अनुसन्धान ब्युरोले गत शुक्रबार जारी गरेको प्रारम्भिक प्रतिवेदनले जेटका दुई इन्जिनमा इन्धन प्रवाह नियन्त्रण गर्ने स्विचहरू बन्द गरिएको जनाएको थियो।
सो प्रतिवेदनले अमेरिकी संघीय उड्डयन प्रशासनले (एफएए) सन् २०१८ मा ७८७ लगायत बोइङका विभिन्न मोडेलका विमान चलाउने वायुसेवाहरूलाई इन्धन स्विचको जाँच गर्ने सुझाव दिएको भनेर औंल्याएको थियो।
जाँच गर्न बाध्यात्मक नभए पनि ती स्वीच भूलवश नचलून् भनेर सुनिश्चित गर्न एफएएले सुझाव दिएको थियो।
सो प्रतिवेदन आएपछि बोइङ कम्पनी र एफएएले बोइङ विमानका इन्धन स्विच सुरक्षित भएको दाबी गरेका छन्।
तर पनि विश्वका विभिन्न वायुसेवा कम्पनीहरूले आफूसँग रहेका बोइङ जहाजको इन्धन स्विच जाँच गरेका छन्। भारत र दक्षिण कोरियाले आफ्ना वायुसेवा कम्पनीहरूलाई बोइङ जहाजको इन्धन स्विच जाँच गर्न निर्देशन नै दिएका छन्।
अहिलेसम्म कुनै पनि वायुसेवा कम्पनीले आफ्ना बोइङ जहाजहरूको इन्धन स्विच जाँच गर्दा खराबी भेटिएको भनेका छैनन्।
दुर्घटनामा भएको विमानका क्याप्टेन अहिले शंकाको घेरामा आएका छन्।
'ककपिट भ्वाइस रेकर्डरका अनुसार एक जना पाइलटले अर्कालाई ‘तपाईंले इन्धन स्विच किन बन्द गर्नुभएको?’ भनेर भारतको विमान दुर्घटना अनुसन्धान ब्युरोले जारी गरेको प्रतिवेदनले खुलाएको थियो।
तत्कालै अर्का पाइलटले ‘मैले होइन’ भनेर जबाफ दिएका थिए। तर प्रश्न कुन पाइलटले सोधेको र जबाफ कसले दियो भन्ने चाहिँ प्रतिवेदनले खुलाएन।
तर अनुसन्धानबारे जानकार अमेरिकी अधिकारीहरूको हवाला दिँदै अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलले भने विमानको इन्धन स्विच क्याप्टेन सुमित सभरवालले बन्द गरेको जनाएको छ। सो प्रश्न सह-पाइलट क्लाइभ कुन्दरले क्याप्टेन सभरवाललाई गरेको लेखेको छ।
विमान उडाइरहेका पाइलटको रूपमा कुन्दरको हात उडानको त्यस चरणमा विमान नियन्त्रण गर्ने ‘हेन्डल’ तान्नमा व्यस्त भएको हुनुपर्छ भनेर ती अधिकारीहरू र अमेरिकी पाइलटहरूले भनेका छन्। उडानको अवलोकन गरिरहेका क्याप्टेन सभरवालका हातहरू खाली हुने भएकाले उनले ती स्विच बन्द गरेको सम्भावना बढी हुने उनीहरूको जिकिर।
प्रतिवेदनका अनुसार स्विचहरू एक सेकेन्डको अन्तरमा एकपछि अर्को गरी बन्द गरिएको थियो। लगभग १० सेकेन्डपछि, दुबै स्विचहरू फेरि अन गरियो। तर ती स्विच अन गरे पनि इन्जिनले शक्ति जोहो गर्न सकेनन्। भर्खरै भुइँ छोडेको सो विमान इन्जिन बन्द भएपछि धेरैबेर हावामा रहन सम्भव थिएन। त्यसैले सो विमान दुर्घटना भयो।
जर्नलसँग कुरा गरेका केही अधिकारीले त सो मामलाको फौजदारी अनुसन्धान हुनुपर्ने बताएका छन्। उनीहरूका अनुसार यदि दुर्घटना अमेरिकी भूमिमा भएको भए फौजदारी अनुसन्धान हुन्थ्यो।
सामान्यतया उडानका बेला इन्धन स्विचहरू अन हुनुपर्छ। ती कसरी वा किन बन्द गरिए भन्ने स्पष्ट भएको छैन। यो कार्य भूलवश वा जानाजानी थियो भनेर भारतको विमान दुर्घटना अनुसन्धान ब्युरोले शुक्रबार जारी गरेको प्रतिवेदनले खुलाएन।
विमान नजिकैको मेडिकल कलेजका विद्यार्थीहरूको छात्रावासमा खस्नुअघिका क्षणमा जेटको आपतकालीन-शक्तिको जोहो गर्ने र्याम एयर टर्बाइन (र्याट) सक्रिय रहेको देखिन्छ। ती स्विचहरू अफ भएका कारण र्याटको प्रयोग गरेर आपतकालीन-शक्तिको जोहो गर्न खोजिएको हुनसक्छ।
सो प्रतिवेदनले एफएएले २०१८ मा बोइङका विभिन्न मोडेलका इन्धन स्विचको जाँच गर्ने सुझाव दिएको औंल्याएर ती स्विचमै खराबी हुन सक्ने शंका गरेको देखिन्छ।
सो प्रतिवेदन आएपछि बोइङ कम्पनी र एफएएले बोइङ विमानका इन्धन स्विच सुरक्षित भएको दाबी गरेका छन्।
अर्कोतर्फ बोइङ अमेरिकी कम्पनी भएकाले अमेरिकी अधिकारीहरू भने पाइलटको भूमिकामा केन्द्रित भएको देखिन्छ।
जर्नलले क्याप्टेनमाथि शंका हुने गरी समाचार लेखेपछि भारतको नागरिक उड्डयन मन्त्रालयले जर्नलको समाचार एकतर्फी भएको बताएको छ।
इन्डियन कमर्सियल पाइलट्स एसोसिएसनले भने चालक दलले 'चुनौतीपूर्ण परिस्थितिमा आफ्नो तालिम र जिम्मेवारी अनुरूप काम गरेको भन्दै अनुमानको आधारमा पाइलटहरूलाई बदनाम गर्नु हुँदैन' भनेको छ।
एयर इन्डियाका अनुसार विमानका क्याप्टेन सुमित सभरवालसँग वाइड-बडी वा ठूला विमानहरू १० हजार घण्टाभन्दा बढी उडाएको अनुभव थियो। उनका सह-पाइलट क्लाइभ कुन्दरसँग ३४ सय घण्टाभन्दा बढीको अनुभव थियो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)