पाटा ट्राभल मार्ट २०२५ मा नेपालले प्रस्तुत गरेको नेपाल पभेलियन विशेष आकर्षण बनेको छ।
प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले नेपाल एयरलाइन्ससहित १४ वटा निजी पर्यटन तथा आतिथ्य कम्पनीहरूसँगको सहकार्यमा सहभागिता जनाएको थियो।
उक्त मार्ट बैंककमा अगस्ट २६ मा सुरू भएर २८ मा सम्पन्न भएको थियो।
स्तूपा–थिममा सजाइएको नेपाल पभेलियनले पर्वतारोहण, पदयात्रा, अध्यात्म, वेलनेस, लक्जरी ट्राभल र समुदाय–आधारित पर्यटनका विविध आयाम प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय क्रेताहरू र प्रदर्शकहरूको उच्च प्रशंसा पाएको थियो।
मार्टमा ५० भन्दा बढी गन्तव्यबाट आएका एक हजार भन्दा बढी प्रतिनिधिहरू सहभागी भएका थिए, जसमा आधाभन्दा बढी नयाँ सहभागी थिए।
नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुमन घिमिरेका अनुसार साझेदारीको यो सामूहिक सहभागिताले नेपाललाई वर्षभर भ्रमण गर्न सकिने अद्वितीय हिमाली गन्तव्यका रूपमा प्रस्तुत गरेको छ।
त्यस्तै, पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेश सिंह बुडालले नेपाललाई ‘लाइफटाइम एक्सपिरिएन्स’ गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्य सफल भएको बताए।
यस अवसरमा नेपालले आगामी वर्ष जुन २ देखि ४ सम्म काठमाडौंमा आयोजना हुने हिमालयन ट्राभल मार्ट २०२६ को पनि प्रवर्द्धन गरेको छ। पाटा ट्राभल मार्ट २०२६ भने मलेसियाको सरावाकमा हुने तय भएको छ।