होटल संघ नेपालले देशभर जारी निषेधाज्ञा र विमानस्थल बन्दका कारण पर्यटकको भ्रमण प्रभावित भएको भन्दै आवागमन सहज बनाउन सम्बन्धित निकायलाई तत्काल पहल गर्न आह्वान गरेको छ।
संघले विज्ञप्ती जारी गर्दै परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने युवाहरूको आत्माको चिरशान् प्रार्थना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै, युवाहरूको बलिदानबाट प्रारम्भ भएको नयाँ भविष्य सफल बनाउन संवाद तथा वार्तासहितका सबै प्रयासलाई परिणाममुखी बनाउन शुभकामना पनि व्यक्त गरिएको छ।
संघका अनुसार चाडपर्व र पर्यटकीय सिजन सुरु हुने समयमा पर्यटक व्यवस्थापनमा प्राथमिकता नदिँदा नेपाल आउने पाहुनाबाट अप्रत्याशित र अत्यधिक क्यान्सिलेसन भएको छ। यसलाई न्यूनीकरण गर्न होटललगायत आतिथ्य क्षेत्र सक्रिय रहे पनि सम्बन्धित सबै निकायले थप प्राथमिकता दिनुपर्ने संघले स्पष्ट पारेको छ।
होटल र सार्वजनिक सम्पत्तिमा भएको आगजनीलाई देशकै सम्पत्तिको विनाश भएको भन्दै संघले थप क्षति हुन नदिन सबैमा संयमता अपनाउन आग्रह गरेको छ।
यसबाहेक, प्रभावित पर्यटक व्यवस्थापनका लागि होटल संघ नेपालले पर्यटन बोर्ड र नेपाली सेनासँग सहकार्य गरिरहेको जनाएको छ। साथै, अलपत्र पर्यटकलाई आवास आवश्यक परेमा संघको हटलाइन ९८५१०३१४९५ मा सम्पर्क गर्न आग्रह गरिएको छ।