भदौ २३ र २४ गते देशभर भएको आन्दोलनमा विभिन्न स्थानमा सञ्चालित केवलकारमा क्षति पुगेको छ।
संरचनामा आगलागी र तोडफोड हुँदा अहिले काठमाडौंको चन्द्रगिरि केवलकार, दोलखाको कालिञ्चोक केवलकार र नवलपुरको मौलाकाली केवलकारको सम्पूर्ण सेवा अस्थायी रूपमा बन्द गरिएको छ।
तीन वटै केवलकार कम्पनीले अर्को सूचना नआउन्जेलसम्मका लागि सबै सेवा बन्द गरिएको जानकारी सार्वजनिक गरेका छन्।
केही केवलकारको भने केही संरचना पुनर्निमाण नै गर्नुपर्ने भएको छ।
आगलागीका कारण चन्द्रगिरि हिल्सको तल्लो स्टेशनमा क्षति पुगेको थियो। जसकारण कम्पनीले तत्कालका लागि चन्द्रगिरि केवलकार बन्द गरेको छ।
त्यस्तै नवलपुरको मौलाकाली केबलकारमा पनि क्षति पुगेकाले अहिले बन्द छ। यी कुनै पनि केवलकारले प्रदर्शनबाट भएको क्षतिको विवरण सार्वजनिक गरेका छैनन्।
केवलकार कम्पनीहरूले सकेसम्म मर्मतपछि छिट्टै सञ्चालनमा आउने जानकारी दिएका छन्।