बेलायती पदयात्रीहरू मेरी रीप, क्याथरिन विल्सन र एमिली कोट्स र उनीहरूका १२ जना नेपाली सहयोगी अहिले पनि राउण्ड धौलागिरि पदयात्रामै छन्।
गत मंगलबारदेखि परेको बाक्लो हिमपातले उनीहरू हिँड्ने पदमार्गको डोब मेटिएका छन्। निरन्तर हिमपातले गर्दा उनीहरू तोकिएको समयभित्र पदयात्रा पूरा गर्न सकेनन्। उनीहरूलाई उद्धार गर्न पनि समस्या भइराखेको छ।
मुस्ताङका सिडिओ विष्णुप्रसाद भुसालले उनीहरूलाई उद्धार गर्न हेलिकप्टर पठाउन खोजेका थिए। मुस्ताङमा रहेका पर्यटक उद्धार गर्न मंगलबार गएको हेलिकप्टरलाई उनले धौलागिरि पदमार्गको हिडन भ्यालीको बाटो पठाए। हिडन भ्यालीको आकाशमा उडेका पाइलटले सिडिओलाई खबर गरे– ‘बाक्लो हिमपातका कारण उनीहरूलाई उद्धार गर्न सम्भव छैन।’
मंगलबार हिडन भ्याली पुगेर क्याम्प बनाएर बसेका पर्यटकको टोली बुधबार अगाडि बढ्यो। उनीहरूलाई उद्धार गर्न सिडिओ कार्यालयले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली र स्थानीय अनुभव प्राप्त गाइड गरी १४ जनाको टोली त्यसतर्फ पठाइसकेको छ।
बेलायती पदयात्रीको टोली पदमार्गको धम्पुस लेकमा बास बसेर बिहीबार बिहानैदेखि मुस्ताङतर्फ आइरहेका छन्।
मुस्ताङबाट उनीहरूलाई उद्धार गर्न गएको सुरक्षाकर्मीको टोली मार्फाभन्दा माथि बतासे डाँडा पुगिसकेका छन्। निरन्तर परिरहेको हिमपातले बाटो नदेखिने र भिजिबिलिटी पनि नहुँदा दुबै टोलीलाई गाह्रो भएको सिडिओ भुसाल बताउँछन्।
‘पर्यटकको टोली र हामीले पठाएको सुरक्षाकर्मीको टोली भेट हुन अब करिब २ किलोमिटर बाँकी छ, आज साँझसम्म भेट होला,’ उनले सेतोपाटीलाई भने, ‘भिजिबिलिटी जम्मा १०/१५ मिटर छ भनेको छ। बाक्लो हिमपातले दुबै टोलीलाई समस्या छ।’

धौलागिरि पदमार्गमा गएका टोलीले स्याटलाइट फोन लिएर गएका छन्। उनीहरूले सुरक्षाकर्मी र कम्पनीलाई निरन्तर अपडेट गराइराखेका छन् । हिमपातका कारण बाटो पहिल्याउन र हिड्न समस्या भइराखेको उनीहरुले जानकारी दिइराखेका छन्।
उनीहरू ठमेलको सेक्रेड हिमालय टेक्स एण्ड एक्सपेडिसन कम्पनीमार्फत् क्याम्पिङ ट्रेक गएका थिए।
नेपालको दुर्गम र जटिल पदमार्गमा पर्ने यो पदमार्गभरि होटल तथा चिया पसलहरू छैनन्।
पदयात्रीले बस्ने, खाने, सुत्ने सबै व्यवस्था आफै लिएर जानुपर्छ। त्यही भएर ३ जना पर्यटकका लागि १२ जना सहयोगी पठाएको कम्पनीका प्रबन्धक विनय लामाले बताए।
‘तीन जना पदयात्रीका लागि गाइड, पोर्टर, कुक लगायत गरेर १२ जना सहयोगी छन्, खानाको समस्या उनीहरूलाई परेको छैन,’ उनले सेतोपाटीलाई भने, ‘निरन्तरको हिमपातले गर्दा बाटो नदेखिने चिसोको समस्या परेको छ।’
काठमाडौंबाट असोज ३० गते पदयात्राका लागि हिँडेका उनीहरू १५ दिनमा पदयात्रा पूरा गर्ने तयारीमा थिए।
मंगलबार हिडन भ्याली आइपुग्ने उनीहरूको योजना थियो। योजना मुताविक उनीहरू हिडन भ्याली त आइपुगे, तर सोही दिनदेखि परेको व्यापक हिमपातले उनीहरूको पदयात्रा जटिल बनेको छ।
‘हिडन भ्याली आइपुगेपछि व्यापक हिमपात भएको उनीहरूले स्याटलाइट फोन सम्पर्कमा जानकारी गराए,’ लामाले भने, ‘मैले पनि अघि नबढ्नु, स्थिति ठिक छैन भनेको थिएँ। हिजोदेखि उहाँहरू हिँडिराख्नुभएको छ।’
हिडन भ्यालीमा पदयात्री अलपत्र पर्ने अवस्था आएपछि कम्पनीका प्रबन्धक लामाले मुस्ताङका सिडिओलाई सम्पर्क गरेर उद्धारमा सहयोग गर्न भनेका थिए।
सिडिओ भुसालले हेलिकप्टर बस्न नसक्ने अवस्था देखिएको जानकारी गराएपछि उनीहरू हिउँले पुरिएको बाटो भएर अघि बढेको प्रबन्धक लामाले बताए।
‘पहिलो पनि पटक पटक जानुभएको गाइड उहाँहरूको साथमा हुनुहुन्छ। अनुभवी गाइड भएकाले बाटो बिराउने समस्या भएको छैन,’ उनले भने, ‘पर्यटकले टाउको दुख्यो भनेर अस्ति भन्नुभएको थियो। अहिले आउँदै हुनुहुन्छ।’
पदयात्रा लम्बिए पनि उनीहरूसँग खानेकुराको अभाव भने भएको छैन। क्याम्पिङ जाँदा लगिएका खानेकुरा प्रशस्त नै रहेको जानकारी आएको लामाले बताए। खानाको समस्या नभए पनि हिमपात भइरहेकाले मात्र समस्या भएको उनले बताए।
पदयात्री टोलीसँग निरन्तर सम्पर्कमा रहेका लामाले पदयात्रामा आएका बेलायती पदयात्री र अरू नेपाली सहयोगी कोही पनि आत्तिएका छैनन्।
उनीहरू हराएका वा बाटो बिराएका पनि छैनन्। हिडन भ्यालीमा हिमपात जारी रहँदा पनि उनीहरू आत्तिनुपर्दैन भनेका थिए। भोलिपल्ट मौसम सफा भए अगाडि बढ्ने जानकारी दिएका थिए।
धौलागिरि सर्किट पूरा गर्न यसअघि कम्तीमा पनि २१ दिन लाग्ने टान बताउँछ।
पदमार्गमा पर्ने कतिपय गाउँहरूमा मोटरबाटो पुगेकाले पदयात्राको समय छोटिएको छ। समय छोटिए पनि उक्त पदमार्ग निकै कठिन भएको र पदमार्गमा होटल तथा चिया पसल नभएकाले पदयात्रीलाई हिमपात हुँदा समस्या आउने ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्ण आचार्य बताउँछन्।
‘धौलागिरि सर्किट नेपालकै कठिन पदमार्गमा पर्छ। सो पदमार्गमा यात्रा गर्नु यतिबेला ठिक समय भए पनि मौसम बदलिएकाले उहाँहरूले हिमपातको सामना गर्नुपर्यो,’ उनले भने।
विश्वको सातौं अग्लो चुचुरो धौलागिरि (८१६७ मिटर) वरिपरि यात्रा गर्नुपर्ने यस पदयात्राको सुरूआत म्याग्दीको दरबाङबाट हुन्छ।
मोटरबाटो पुगेका कारण कतिपय पदयात्री दरबाङबाट पनि अर्झ अगाडि धारापानीसम्म मोटरमा पुग्छन्।
धारापानीबाट पदयात्रा गर्दै अघि बढ्दा पदयात्रीका लागि इटालियन बेस क्याम्प (३६६० मिटर) ग्ल्यासियर क्याम्प (४२०० मिटर) धौलागिरि बेस क्याम्प (४७५० मिटर, फ्रेन्च पास (५३६० मिटर) हिडन भ्याली (५१४० मिटर) धम्पुस पास (५२४४ मिटर) पार गर्न निकै चुनौती हुने पदयात्रीहरू बताउँछन्।
‘यस पदमार्गमा रहेका हिमनदीहरू, हिमाली भञ्ज्याङहरू पार गर्न निकै चुनौतीपूर्ण छ,’ टान गण्डकीका अध्यक्ष आचार्य भन्छन्, ‘निकै उचाइमा हिँड्नुपर्ने र अत्यधिक हावा चल्ने भएकाले पनि पदयात्रीहरूले निकै साहस जुटाउनुपर्ने हुन्छ।’
पदमार्गबाट देखिने प्राकृतिक दृश्यावलोकन र मानवीय गतिविधिबाट बिग्रन नपाएकाले उक्त पदमार्गमा क्याम्पिङ ट्रेक जानेका लागि आकर्षक गन्तव्य बनेको उनले बताए।
पदमार्गमा संचार सुविधा, पदमार्गको मर्मत सम्भार र संरक्षणका गतिविधि आवश्यक पर्ने भन्दै उनले सरकारले अन्य हिमाल र पदमार्गहरूको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसार गरे पनि धौलागिरि क्षेत्रमा भने पूर्ण बेवास्ता गरेको उनले बताए।
‘नेपालका ८ हजार मिटरभन्दा अग्ला अधिकांश हिमाल संरक्षित क्षेत्र घोषणा गरेर संरक्षण, पर्यटन प्रवर्द्धनका कार्यक्रम चलेका छन्, धौलागिरिमा मात्र त्यस्तो छैन,’ उनले भने।