म सानो छँदा
सुनेको थिएँ
दसैं,
आध्यात्मिक अवसर
सांस्कृतिक धरोहर
धार्मिक संस्कार
र, सामाजिक सदाचार भनेर ...।
त्यतिबेला,
मेरो निम्ति दसैं
नयाँ नाना र मीठो खाना बनेर आउँथ्यो,
म र म जस्तै म हरू
जताततै उल्लास र उमंग पोखेर छताछुल्ल
आनन्द लिन्थ्यौं दसैंको
लाग्थ्यो-
दसैं वर्षैंभरि आइरहे हुन्थ्यो।
दसैंको मजा वर्षैभरि पाइरहे हुन्थ्यो।
***
म वयस्कताको सिँढी चढ्दै गर्दा
ठूलाबडाहरू भन्ने गर्थे
बुझ्नेहरु अथ्र्याउन खोज्थे,
दसैं-
विसंगतिविरुद्धको आवाज
न्याय र समानताको राज
प्रेम, सद्भाव र मित्रताको हात
र,
आदर, सम्मान र खुसीको चाड भनेर ...।
हामीहरू,
डोरी बाटेर मायाको
रोटे र लिङ्गे पिङ्गमा
वैंशको रमाइलो भारी बिसाउँथ्यौं,
लाग्थ्यो-
दसैं यौवनको खुसी बनेर तरंगिए हुन्थ्यो
दसैं माया, प्रेम र स्नेहमा रंगिए हुन्थ्यो।
***
अहिले,
समयको चाकाचुलीमा
जिम्मेवारीको भारी बोक्नुपर्दा चकित भएका
परिस्थितिको चंगुलमा
व्यवहारको बोझले थिचिएर थकित भएका
म र थुप्रै थुप्रै म हरू
प्रत्येक वर्ष,
वर्षातको समापन र शरदको आगमनसँगै
कोही जन्मथलोको गन्तव्य लिएर
र कोही कार्यथलोमै थन्किएर
दसैं बोकिरहेछौं
दसैं भोगिरहेछौं
भोगाइ एउटा मीठो अनुभव हुँदोरहेछ
बल्ल मैले दसैंलाई राम्ररी देखें
दसैं-
कतै मनाइरहेको देखें
कतै गन्हाइरहेको देखें
यथार्थमा,
मैले सानो छँदा सुनेको दसैंको अर्थ
वयस्क हुँदा बुझेको दसैंको मर्म
क्रमशः स्खलित हुँदै गएको देखें
लाग्यो-
धार्मिक सहिष्णुता र सांस्कृतिक व्यापकताको
आदर्श भावनाबाट बिचलित हुन खोज्दैछ दसैं।
***
दसैंमा मैले देखें
एउटा जमात-
जीवजन्तुहरूको बली चढाएर
आफ्नो सरक्षाको प्रत्याभूति खोजिरहेको थियो।
अर्को जमात
फूलपाती जमरा र अक्षता पहिरेर
शुभलाभको पहाड चुल्याउन आतुर थियो।
कोही-
मनभित्र महिषासुर पालेर
सत्य विजयको उत्सव मनाउन जुट्दै थिए।
कोही- छातीभित्र गर्वसाथ रावण थन्क्याएर
सत्य, धर्म र न्यायको दर्शन छाँट्दै थिए ।
एउटा समूह-
तास र जुवाको खालमा कैद गरेर
रोटे र लिङ्गे पिङ्गलाई आधुनिक दसैं भित्र्याउँदै थियो।
अर्को समूह-
अल्कोहलको आहालमा छोवलेर आचरणलाई
सभ्य र खानदानीको दसैं निम्त्याउँदै थियो।
न कुनै विधि विधान
न त कुनै नीति नियम
कतै परम्पराको जडतालाई नियति मानेर
र कतै धार्मिक स्वतन्त्रतालाई अवसर ठानेर
दसैं मनाइँदै थियो
लाग्यो-
आ-आफ्नै इच्छाको कार्यविधि
र, क्षमताको एजेण्डामा मनाइदोरहेछ दसैं।
***
दसैंमा
युगौंंदेखि
प्रत्येक वर्ष हामीहरूले
विश्वासले भित्र्याएको फूलपाती
आदरले गरेको कालीको स्तुति
श्रद्धाले गरेको नवदुर्गाको पूजा
भक्तिले चढाएको भीमसेनको बली
निष्ठाले गरेको शिवको आराधना
र, शक्ति पीठहरूमा गरिने धार्मिक उपासना,
सायद,
सत्यमा अनुवाद हुन सकेन
व्यवहारमा रुपान्तरण हुन पाएन।
त्यसैले, दसैं
म र म हरूको आँगनमा
विभत्स रुप लिएर आयो
आय व्ययको सन्तुलित हिसावलाई क्षतविक्षत पार्न
भोग र स्वार्थ लिएर आयो
वर्तमानलाई सशंकित र भविष्यलाई अनिश्चित पार्न
थुप्रै थुप्रै म हरूका निम्ति
दसैं
गरिबीको बिछ्यौनामा दरिद्रताको खास्टो ओडेर आयो
महँगी र अभावको मझेरिमा ऋणको भारी बाकेर आयो
ऊ आउँथ्यो- आयो
हामीहरूले भोग्नुथ्यो भोग्यौं, भोगिरहेछौं,
लाग्यो,
परम्पराको मौलोमा बाध्यताले बाँधिएको बोकोको
नियति भोगेर पनि मनाइँदोरहेछ दसैं।
***
भोगाइ अनुभव मात्र होइन
मार्गदर्शक पनि हुँदोरहेछ
दसैंको अनुभूति हो यो मेरो,
मलाई
आडम्बरको खानदानी दसैं होइन
अस्वस्थ्य प्रतिस्पर्धाको आधुनिक दसैं पनि होेइन,
हाम्रो आफ्नो सभ्यताको दसैंलाई
हाम्रो आफ्नै औकात र परिवेशमा
अझै व्यापकता थपरे स्थापित गर्न मन लागेको छ।
त्यसैले,
अबदेखि, हाम्रो दसैं
प्राकृतिक रम्यतासँगै
खुसीको पारिलो धाम बनेर आउनेछ ...।
शरदीय स्वच्छतासँगै
उल्लास र उमंगको अर्को नाम बनेर आउनेछ... ।
त्यसपछि हामी,
शुभकामना मात्र साटासाट गरौं
खुल्दै जाओस् चेतनाको स्वयम्भू आँखा।
आशिर्वाचन मात्र ग्रहण गरौं
चुलिँदै जाओस् मित्रता र सद्भावको सगरमाथा।
खाँदबारी- ११ संखुवासभा
हाल काठमाडौं-३५, विधाननगर