‘ओइ, उठ न। उठ न भन्या। ए उठ न। छिटो उठ न।’
शिवले बारम्बार मलाई झक्झकाएपछि बल्ल मैले आँखा खोलें।
‘म एकछिन सुत्छु नि शिव। छोरीलाई सन्चो नभएर रातभरि सुत्न पाएकी छैन। भर्खरै त आँखा लागेको छ’,मैले शिवसँग विन्ति बिसाएँ।
‘प्लिज उठ न यार। मलाई मीठो कफी बनाइदेऊ न। बरु त्यसपछि जति सुते पनि सुतौली’ शिव मलाई जसरी पनि उठाउने हठमा थियो।
‘ह्या! तपाईं पनि अत्ति गर्नुहुन्छ शिव। एउटा जाबो कफी बनाउन पनि म नै उठ्नुपर्छ त! आफैं बनाएर खाए नि हुने आज एकदिन त’ मैले ब्याल्केट अझ माथि सारेर मुख गुटुमुटु छोपें।
शिव मेरो मुखबाट जोडले ब्ल्यांकेट फ्याँक्दै भन्यो,‘कस्तो अटेरी तिमी, अमेरिकाको एउटा नेपाली अनलाइन टिभीले मेरो इन्टरभ्यू लिर्दैछ अहिले। म नुवाएर फ्रेस हुँदै गर्छु। तिमी कफी र यसो केही नास्ता बनाइदेऊ छिटो। भनेको मान है नत्र... ।’
शिव त्यही उभिएर बालहठ गर्न थाल्यो।
उसको व्यवहारले मलाई झन् रिस उठेर आयो र जुरुक्क उठेर भनें, ‘तपाईंलाई आफ्नै मात्रै चिन्ता छ है? मेरो कुनै मतलब नै छैन किन होला? कस्तो निर्दयी मन! निन्द्रा नपुगेर मेरो टाउको, आँखा फुट्ला जस्तो भएको छ। भर्खरै त आँखा लागेको मात्रै थियो। एकघण्टा मलाई निसंकोच निदाउन दिनुस् अनि दिनभरि तपाईंकै खुट्टा मिचेर बसौंला। म फेरि ब्याल्ङ्केट तानेर सुतें।
‘ओइ, तैंले निहुँ खोजेको? बिहान बिहान मेरो मूड खराब नगर है। तँलाई मेरो इन्टरभ्यू बिग्रियोस् भन्ने छ हो ?’ शिव एक्कासि आँखा रातो रातो पारेर दारा काँट्दै झोक्किएर बोल्न थाल्यो अनि त म निदाउनै सकिनँ।
‘अलि विस्तारै बोल्नुस् न शिव। चर्को बोलेर छोरीको निन्द्रा विथोल्न नखोज्नु। छोरी अघि भर्खरै राम्ररी निदाएकी हो। रातभरि पेट दुखेर सुतेकी छैन छोरी। कस्तो नबुझ्ने मान्छे तपाईं। न छोरीको पीर छ न छोरीको आमाको। जहिले तमासा मात्रै गर्न खोज्ने के पारा हो तपाईंको ? जति चर्को बोल्नु छ अबको इन्टरभ्यूमा बोले हुन्छ’ निन्द्रा नपुगेर तनाव भैरहेको अवस्थामा मैले यो सबै भनिदिएँ।
मैले यति मात्रै के भनेको थिएँ शिवलाई काण्ड पुगिहाल्यो र मलाई झम्टिन आयो, “तँलाई सर्कीनी अझै मुखमुखै लाग्छस् ? तेरो थुतुनो च्यातेर फ्याँकिदिन्छु। तँलाई केको घमण्ड छ हो? एउटा कफी बनाइदेऊ न भन्दा यत्रो नाटक गर्छेस्। संस्कार नभएकी आईमाई। ल त सुत जति सुत्न मन लाग्छ त्यति सुत भन्दै शिव मेरो ढाडमा आफ्नो खुट्टा बज्रार्न थाल्यो।
मेरो कपाल एउटा हातले लुस्दै अर्को हातले थप्पड हान्दै मलाई पलंगबाट भुइँमा झारिदियो र ड्वाङ्ग भित्तामा शिर ठोक्काइदियो। छोरी उठ्ला भनेर मले चिच्चाइन तर टाउको भित्तामा ठोकिएपछि छोरी त्यो आवाजले जुरूक्क उठी।
अनि आफ्नो बाबाको त्यो भयानक रूप र आमाको त्यो दुर्दशा देखेर छोरी चिच्चाएर रून थालिन्।
छोरी रोएपछि शिवलाई बल्ल होश आयो। अनि केही नबोली बाहिर निस्कियो। मेरो शरीरको दुखाइभन्दा पनि छोरीको आँसुले पोल्यो अनि हत्तनपत्त छोरीको छेउमा गएर मलाई केही नभएको जसरी हाँसें। छोरी डराएर मेरो काखमा लुपुक्क बसिरहिन् अनि एकछिनमा फेरि निदाइन्।
टाउको रन्न दुखिरहेको थियो तर त्यो भन्दा पनि बढी उसले भनेको त्यो ‘सर्कीनी’ शब्दले मन, पेट, दिमाग सबै पोलेको थियो।
आँखाबाट निन्द्रा हराएर अब आँसुमात्रै बग्न थाल्यो। फेरि सुतेकी छोरी उठ्ली भनेर मुख भित्र हातको मुठ्ठी घुसाएर आवाज बन्द गर्ने कोशिस गरे। अनि हुत्तिएर ट्वाइलेटमा गएर धेरैबेर रोएँ।
उता कोठामा इन्टरभ्यूको तयारीको लागि गाइँगुइँ गरेको सुनें। मन नलगाई नलगाई भान्सामा गएँ। मन नलगाई नलगाई कफी बनाएँ। मन नलागी नलागी पाउरोटी ध्यूमा फुराएर त्यसमाथि अण्डाको अम्लेट राखिदिएँ।
जति समालिन्छु भन्दा पनि आँखाबाट आँसु अझ थामिएन। भक्कानो छोडेर रून मन लाग्यो तर पनि समालें।
प्लेटमा यो सबै नास्ता राखेर स्टडी रूमतिर जाँदैथिए। जति समाल्छु भन्दा पनि मन थामिएन अनि भक्कानिएर रून आयो। नास्ताको प्लेट त्यही छेउमा राखेर दौडिँदै पछाडिको बगैंचामा गए अनि आवाज निकालेर रोएँ।
फेरि कफी चिसो होला भनेर हत्त न पत्त भित्र गएँ र प्लेट समातें। रून अझ पुगेको थिएन। आँसु थामिएकै थिएन। दुइटा ओठ च्याप्प गरेर आवाज बाहिर आउन दिइनँ। आँखा भने मज्जाले चिम्लिएँ। बेस्सरी आँखा चिम्लिनाले दुई आँखाको पूरै आँसु कफीमा गएर घोल्लियो अनि अम्लेटको छातीमा पनि।
फेरि छेउको टेबलमा प्लेट राखेर रूमालले आँसु पुछें। भएभरको नाकको सिगान पूरै निकालें। कपाल मिलाएँ। म्याक्सीमा सल ओडें। केही नभएको जसरी हाँस्दै भित्र गएँ।
जुममा मिटिङ सुरू हुन लागेको रहेछ। यताबाट र उताबाट केही टेक्निकल कुराहरू अझै मिलाउँदै थिए।
मैले केही नबोली ल्यापटपनजिकै कफी र अम्लेट पाउरोटी टक्राएर बाहिर निस्कन खोजें। जुमभित्रको मान्छेले भाउजू नमस्कार भनी बोलायो।
म फर्केर नमस्कार गरें।
सरी भाउजू दाइको इन्टरभ्यू यतिखेर लिनु पर्यो। नेपालमा बिहान, अमेरिकामा साँझ अनि मेरो फुर्सद पनि यतिखेर हुने। तपाईंहरूलाई डिस्टर्ब गरें । माफी पाउँ है।
“तपाईंले किन सरी भन्नुपर्यो र? सधैं डिस्टर्ब गर्नुभएको भए पो माइन्ड गर्ने। आज एकदिनको लागि के नै डिस्टर्ब भयो र ?” मैले हाँसीहाँसी जवाफ दिएँ।
तर पनि सरी है भाउजू। जुमभित्रको मान्छेले फेरि पनि सरी भनिरह्यो।
‘यहाँ गल्ती गर्नेहरूले त सरी भन्दैन् बिना गल्ती तपाईं कि सरी भन्नुहुन्छ फेरि पनि।’ मेरो मुखबाट जवाफमा फ्याट् यही निस्किहाल्यो।
कसैलाई तल गिराउने हेतुले भनेकी थिइनँ। शिव मेरो जवाफ सुने नसुनेको जसरी कफी सुरूप्प पार्दै अम्लेट पाउरोटी मुखले च्याप्प नै तल्लिन देखियो।
म बाहिर निस्किएर ढोका लगाउन खोज्दैथिएँ।
‘दाइ कति भाग्यमानी, यति बिहानै उठेर भए पनि भाउजूले कफी र नास्ता बनाइदिनु भयो।’
जुम भित्रबाट यो प्रंसग पनि निस्कियो।
आज त झन् यो कफी र अम्लेट विशेष मज्जा आइरहेछ– यताबाट जुमभित्र यो जवाफ गयो।
मेरो आँसु पिउँदा त मज्जा आइहाल्छ नि। मनमै कुरा खेलाएर सुस्त ढोका लगाएँ अनि म आफ्नो कोठामा गएँ।
ठूलाठूला कुरा गर्ने, लैङ्गिक समानताको बारेमा भाषण दिने, महिला न्यायको बारेमा इन्टरभ्यू दिने मेरो लोग्नेको त्यो बिहानको असली रूप सम्झेर घिन लागेर आयो।
हामी दलितभित्रै त यो भेदभाव र आतंक छ भने। बाहुनले मलाई नस्वीकारेकोमा के चित्त दुखाउने? एक मनले यो पनि सोच्न भ्याएँ।
आफ्नै जातभित्र पनि तल्लो र माथिल्लोको कुरा ल्याएर मेरो जातलाई यसरी खसालिन्छ र यसरी अपमान सहनुपर्छ भने हामी कुन मुखले समानताको खोजी गर्दै हिँड्ने ? मनमा यस्तै तानावाना खेलिनैरह्यो।
अर्को कोठामा इन्टरभ्यू चलिनैरहेको थियो। यता कोठाबाट इन्टरभ्यूको कुराहरू सुनिरहेको थिएँ।
‘जबसम्म भेदभाव, छुवाछूत सम्बन्धीमा संकीर्ण सोचमा परिवर्तन आउँदैन र योसँगै देशको हरेक कुनाकुनामा नयाँ सोच पुग्दैन, प्रमुख सरकार र राज्य सरकारबाट कडाभन्दा कडा कानुनको व्यवस्था हुँदैन र अपराधीहरूलाई दण्ड दिने काममा प्रशासनीय प्रक्रियाको जबसम्म ढिलाइ भइरहन्छ तबसम्म यो भेदभाव र छुवाछूत थर झैं पुस्तौपुस्तामा हस्तान्तरण भइरहन्छ,’ शिव कडासँग बोलिरहेको थियो।
यो सँगसँगै उताबाट लकडाउनमा महिला घरेलु हिंसा बढ्ने खतरा पनि देखिन्छ ? यो घरेलु हिंसा दिनप्रतिदिन बढ्नुमा तपाईं के भन्नुहुन्छ भनेर पनि सोधियो।
जबसम्म कुनै एउटा पुरूषले आफ्नो श्रीमतीलाई माया साथसाथै इज्जत दिँदैन। ऊ हुनुको महत्व फिल गर्दैन तबसम्म हरेक घरमा श्रीमतीहरू पिल्सिरहने छन् र महिलामाथि घरेलु हिंसा भइरहन्छ। हामीले यो कुराको खुलेर विरोध गर्नुपर्छ। मैले शिवको मुखबाट यो कुरा सुन्न नसकेर कोठाबाट तुरून्त निस्किएर किचनतिर गएँ।
अरूबेला बिहान उठ्ने बित्तिक्कै गुलियो दूधको चिया खाने इच्छा हुन्थ्यो तर आज केही खान मन लागेन।
छोरीको लागि जाउलो बसालें र कोसे बोडी केलाउन थालें। बिहानको खानाको लागि सबै कुरा तयार गरेर मोबाइल लिएर एकछिन बाहिर आँगनमा गएँ।
फेसबुक ‘चेक’ गरें। न्यूज फिडको कमलप्रभात विश्वकर्माले पोस्ट गरेको फेसबुक स्टाटसमा मेरो आँखा गयो।
उनले लेखेका थिए, ‘सोच्छु गोर्खे खुकुरी लिएर रुकुम पहिला जाऊँ कि लिम्पियाधुरा।’ उनको यो स्टाटसमा अहिले चर्चामा आएका जातीय र सीमाना दुवै घटनाको प्रतिविम्ब थियो।
केही दिन अगाडि भारतले नेपाली भूमि लिम्पियाधुरा, कालापानी मिच्दै २७ वैशाखमा भारतको पिथौरागढ हुँदै तिब्बतको मानसरोवर जाने सडकखण्ड निर्माणको उद्घाटन गरेको थियो।
यो मुद्दा सेलाउन नपाउँदै अर्को घटनाले देश स्तब्ध बनाएको थियो।
घटना थियो रुकुम पश्चिम चौरजहारी नगरपालिकाको सोती गाउँकी मल्ल थरकी युवतीलाई प्रेम गरेर बिहे गर्न जाँदा जाजरकोटको भेरी नगरपालिकाकाका २० वर्षीय नवराज विकसहित ६ जना भेरी नदीमा डुबेर बेपत्ता। कमलप्रभातको फेसबुक स्टाटसले यी दुई घटनालाई इंकित गर्दथ्यो।
योसँगै रुकुमको अन्तरजातीय विवाहले मलाई मेरो अतीत सम्झायो।
जब अतीतमा जान्छु निर्भीकलाई नसम्झिएको पल हुँदैनथ्यो। धेरै भएको थियो उसले पनि मैले पनि फोन नगरेको।
आज फोन गर्नुपर्यो अनि उसको छोरीको यो लकडाउनमा अनलाइन कक्षा कस्तो भइरहेको छ भनेर पनि सोध्नुपर्यो भनेर।
यताबाट घण्टी गयो तर उता उसले फोन उठाएन। त्यस्तै पाँच मिनेटपछि उसले आफैंले फोन गर्यो। उसले रुन्चे स्वरमा फोन गर्यो। म झस्किएँ।
ऊ फोनमा मै रून थाल्यो। मैले कुरा बुझ्न सकिनँ।
‘निर्भीक के भयो ? किन रोएको ? सबै ठिक छ ?’
‘केही ठिक छैन सरु। मेरो बुवालाई कार्डिक अट्याक भएर उहाँ हिजो रातिनै खस्नु भयो। देश लकडाउनमा छ। तिमीलाई पनि थाहा नै छ कोरोना असंख्य रूपमा फैलिसकेपछि सरकारले झन कडाइ गरेको छ हिजोदेखि। काठमाडौंदेखि महेन्द्रनगर जाने पास मिलाउनै मलाई साह्रै धौधौ भयो।’
निर्भीक झन् भक्कानिएर रून थाल्यो। मलाई के गरूँ, कसो गरूँ भयो ।
उसले फ्याट्ट भनिहाल्यो, ‘तिम्रो श्रीमान गृहमन्त्रीको सल्लाकार भनेको सुनेको थिएँ। मिल्छ भनेर श्रीमानलाई भनेर यसो पास मिलाइदेऊ न। एकदमै धर्म हुन्छ सरु।’
मैले तिमी नआत्तिऔं। म केही गर्छु भनेर फोन राखिदिएँ।
शिवसँग मैले हात फैलाइरहनु उचित लागेन। अरुलाई भएको भए सायद उसले उत्तिन्नैखेर पास मिलाइदिन्थ्यो पनि होला तर ऊ निर्भीकलाई यसै पनि पास मिलाइदिने वाला थिएन।
मैले मेरो एकदमै नजिकको साथी इन्स्पेक्टर पम्फालाई फोन लगाएँ।
उनले यो परिस्थितिमा पास मिलाइदिने भयो। पम्फाले आफ्नो नम्बर निर्भीकलाई दिनु भनेकोले फेरि निर्भीकलाई फोन गरें।
इन्स्पेक्टर पम्फालाई फोन गर यो नम्बरमा उसले तिमीलाई पास दिन्छ भने। निर्भीक बल्ल ढुक्क भयो जस्तो लाग्यो।
निर्भीकले ‘तिम्रो श्रीमानलाई धेरैधेरै धन्यवाद। उहाँको सधैं ऋणी हुने भयो भनि भनिदेऊ ल।’ भन्यो।
मैले ‘हुन्छ’ भनें तर पास कसरी मिलाएँ भन्नेतिर बेलिविस्तार लगाइनँ।
लकडाउन खुलेपछि पछि उसलाई भनौंला पास कसरी मिल्यो भनेर।
यो भन्न जरूरी पनि थियो। फेरि कुनैबेला किन्डरमा निर्भीकले शिवलाई भेट्ला। पासको लागि धन्यवाद भन्ला अनि शिवले केको पास भनेर सोध्ला। पछि घर आएर अनावश्यक आरोप र झगडा मैले खेप्नुपर्ला। त्यसैले पनि निर्भीकलाई पास कसरी मिल्यो भन्न जरूरी थियो तर अहिले यो अवस्थामा होइन भनेर सोचें।
तर मैले कस्तो सही समयमा फोन गरेछु भन्ने भयो।
निर्भीकको बुवाले जे जति भेदभाव मलाई गरेको भए पनि। उहाँको आत्मा शान्तिको कामना गरे।
***
सात वर्ष अगाडि सिंगापुरको एउटा सेमिनारमा भाग लिन जाँदा निर्भीक र मेरो भेट भएको थियो।
विभिन्न देशबाट चुनेर आएका विद्यार्थीहरूमा नेपालबाट चुनिएका हामी दुईजना मात्रै थियौं। यो हिसाबले पनि हामी साथी भयौं। सिङ्गापुरमा साथी बनेका हामी नेपाल आएपछि यो सम्बन्ध प्रेममा परिणत भयो। हाम्रो प्रेम त्यस्तै तीन वर्षसम्म चल्यो। निर्भीकले एकदिन पनि गुनासो गर्ने मौका मलाई दिएन। उसले सक्ने मलाई प्रेम दियो।
म बरु कहिलेकाहीँ उसँग आफू तल्लो जातको भएको पछि बिहेमा समस्या होला कि भनेर सोध्थें। तर उसले कहिल्यै पनि म माथिल्लो जातको तिमीसँग बिहे गर्दा समस्या हुन्छ भनेन।
मेरो घरमा केटाहरू माग्न आइरहेका थिए। आमाको अब बिहे गर्नुपर्छ भन्ने दबाव पनि थियो। जब मैले यो कुरा निर्भीकलाई भने उसले आफ्नो घरमा कुरा गर्ने भन्यो।
उसले आफ्नो घरमा कुरा पनि गर्यो तर जे को डर थियो त्यही भयो।
म ‘तल्लो’ जातकी दलित भएकै कारण बाह्मण जातको उहाँहरूले मलाई स्वीकार्न मान्नुभएन।
यही कुरामा निर्भीक घरमा झगडा गरेर आयो। निर्भीकले मलाई अब भागेर बिहे गर्ने भन्यो। सुरूमा मलाई डर लाग्यो र भागेर बिहे नगर्ने भने तर निर्भीकले हामी एक हुने अर्को उपाय छैन भन्यो।
हामीले एकअर्कालाई विछट्टै प्रेम गरेका थियौं। जातभातबाट माथि उठेर, यो समाजबाट धेरै नै माथि रहेर।
अन्तिममा हामीले गुह्येश्वरी मन्दिरमा गएर बिहे गर्ने योजना बनायौं। निर्भीकले एक दुई जना आफ्नो मिल्ने साथी र काठमाडौंमा रहेको उसैको काकाका छोराछोरीलाई बोलाएको थियो। मैले पनि मेरो एक दुई जना अत्यन्त नजिकको साथीहरूलाई बोलाएको थिएँ।
बिहेको लागि हामी सबै जम्मा भइसकेका थियौ तर निर्भीकको काकाको छोराछोरी आएनन् तर कताबाट हो टुप्लुक्क निर्भीकको बुवाले पुलिसहरू लिएर आउनुभयो।
यो दृश्य कुनै फिल्मको भन्दा कम थिएन। हामी सबै अचम्ममा पर्यौं। निर्भीक बुवाको अगाडि हात जोड्दै गयो। बिहे नरोक्न आग्रह गर्यो।
निर्भीक मेरो हात समात्दै आज मसँग जसरी पनि बिहे गर्ने भनेर अटल रह्यो।
तैंले यो अछुतसँग बिहे गरिस् भने यसको सिउँदोमा सिन्दुर हाल्नु भन्दा पहिलो यही पशुपतिमा तैले मेरो लास जलाउनु पर्छ भनेर निर्भीकको बुवा तीन हातमाथि उर्फन थाल्नुभयो।
वरिपरिका अन्य मानिसहरू पनि जम्मा भए। बाबु र छोराबीच भनाभना हुँदाहुँदै हात हालाहाल पनि भयो। निर्भीकको बुवाले निर्भीकलाई पिट्न थाल्नु भयो। पुलिसले यो झगडा रोक्न खोज्दै थियो तर अंहकारले क्रूर भएका निर्भीकको बुवा रोकिने मूडमा थिएनन्।
म पनि उहाँलाई रोक्न जाँदा तँ अछुत मलाई नछो भनेर मलाई हुताइदिनु भयो।
पुलिसले घायल निर्भीकलाई हात समात्दै लिएर गयो। म लाचार त्यही रोएर बस्ने काम भन्दा अरू केही गर्न सकिनँ। रमिता हेर्नेहरू यही रमिता हेरेर बसिरहें।
यो बेइज्जत सहन नसकेर म अबदेखि निर्भीकसँग नभेट्ने संकल्प गरें। उता निर्भीक पनि मसँग आँखा जुधाउन नसक्ने भयो। यसरी हामीले त्यहाँबाट सम्पर्क गरेनौं।
केही वर्षपछि मेरो भेट फेरि शिवसँग भयो। शिवलाई मैले मेरो अतीतको बारेमा सबै भनिदिएको थिएँ। यो थाहा हुँदाहुँदै पनि ऊ मेरो घरमा मेरो हात माग्न गयो।
अगुल्टाले हानेको के बिजुलीदेखि तर्सिन्छ भनेझैं मेरो बुवा आमा शिवसँग बिहे गराउन राजी हुनुभएन। हामी दलित जातिमा पनि शिव हामीभन्दा माथिल्लो जातिमा गनिन्थयो। एकपटक जातीय भेदभावको शिकार भइसकेकी छोरीलाई फेरि त्यही दलदलमा पठाउन आमाबुवा राजी हुनुभएन।
तर शिवले धेरै कुरा भनेर आमाबुवालाई बल्ल मनायो र हाम्रो बिहे भयो।
बिहेको वर्षदिनमै छोरी जन्मिइन्। छोरीको मायाले मैले मेरो अतीत भुलाइसकेको थिएँ। तर एकदिन एक्कासि मेरो भेट निर्भीकसँग भयो त्यो पनि छोरीको किन्डरमा। अभिभावक दिवसमा सामेल हुन जाँदा निर्भीकले पनि आफ्नो छोरीलाई लिएर आएको थियो। उसले पनि छोरीलाई त्यही वर्ष भर्ना गरेको रहेछ।
एक्कासि यसरी हामी भेट्दा दुवैको धड्कन जोडले थर्केको थियो जुन हामी दुवैले यो महशुस गर्न सक्थ्यौं।
यही बीचमा हामी दुवैले हाम्रो नयाँ नम्बर पनि साट्यौं। बेलाबेलामा छोरीहरूको पढाइको विषयमा चर्चा गर्न उसको र मेरो कुरा भइरहन्थ्यो।
यही सोचिरहँदा भित्र कोठाबाट छोरी उठेर ‘मामु’ भनेको सुनें।
उता इन्टरभ्यू चलिरहेको थियो। फेरि इन्टरभ्यूमा डिस्टर्ब होला भनेर म आत्तिएर भित्र गएँ र छोरीलाई काखमा लिएँ।
छोरीको डाइपर चेक गरें। दिसा होइन पिसाब फेरेकी रहिछ। डाइपर चेन्ज गरेर उसलाई लिभिङ रूममा ल्याएँ।
‘छोरीको पेट कस्तो छ आज ?’ उसको पेट समात्दै सोधें।
‘ठिक छ मामु। हिजो जस्तो दुखेको छैन।’ अंगालो मार्दै छोरीले जवाफ दिइन्।
‘मामु आज फन पार्क जाऔं न ल ?’ छोरीले बाहिर निस्कने रहर गरिन्।
‘लकडाउनले फन पार्क बन्द छ छोरी, खुलेपछि जाने ल ?’
‘यो लकडाउन कहिले खुल्छ मामु ?’
यसको जवाफ मसँग पनि थिएन। लकडाउनप्रति दिक्क लागेर आयो।
शिव इन्टरभ्यूबाट निस्केर बाहिर आयो र किचनमा यसो आँखा डुलायो।
बाहिर आउँदा भित्र भएको कफीको कप र प्लेट बेसिनसम्म ल्याउन पनि जाँगर गरेन उसले।
‘अहिलेसम्म भात पाकेको छैन?’ उल्टै ऊ हुकुम चलाउन थाल्यो।
मलाई उसँग बोल्नै मन लागेन। उसले अहिलेसम्म बिहानको त्यो आफ्नो गल्तीमा सरी पनि भनेन। उसलाई त यो कुरा सामान्य नै थियो। थप्पड हान्नु र श्रीमतीको चुल्ठो समातेर पछार्नु उसको लागि त कुनै अपराध नै होइन।
नबोली नबोली बिहानको खाना, दिउँसोको खाजा र बेलुकीको खाना पकाएर उसलाई ख्वाएँ।
छोरी दिनभरि मज्जाले खेलिन् र बेलुकी निदाइन् पनि।
आमाको मन यसै सन्तोष हुने। यो भन्दा सुख अन्त कहाँ छ र भन्ने भयो। छोरीको सन्चोले दुखेको मन पनि हराएको थियो।
सुत्नुभन्दा अगाडि टिभीमा नौ बजेको समाचार हेरें।
समाचार वाचिका भन्दै थिइन्,‘देशमा कोरोना लागेर मर्नेहर"को संख्या बाह्र सय पुगेको छ। हिजो राति मात्र दुई सय जनामाथि कोरोना देखिएको छ। महेन्द्रनगरमा हिजो हृदयघात भएर मरेका श्यामसुन्दर पहाडीलाई कोरोना लागेको पुष्टि भएको छ। पहाडी गत महिनामात्रै अस्ट्रेलियाबाट नेपाल आएका थिए। महेन्द्रनगरको लागि सम्बाददाता कुश कुमार हाम्रो सम्पर्कमा हुनुहुन्छ। आउनुहोस् उहाँसँग विस्तृतमा कुराकानी गरौं।
‘कुशकुमार जी, मलाई सुन्दै हुनुहुन्छ ?’
‘हजुर सुन्दैछु।’
‘अहिले अस्पतालको माहोल कस्तो छ ?’
‘कोरोना भएको पुष्टिलगत्तै अस्पतालले अलि बढी सावधानी गरेको छ। मृतकका छोरा निर्भीक पहाडी भर्खरै काठमाडौंबाट आइपुगेका छन् तर उहाँलाई छुन त के लास हेर्ने अनुमति पनि दिइएको छैन। वरिपरिको बस्ती पनि पूरै सिल्ड गरिसकेको छ। अब लासलाई कहाँ लगेर गाँड्ने बन्ने कुरामा छलफल हुँदैछ। सम्भवतः अस्पतालकै एक आधिकारीले लगेर गाड्ने जस्तो देखिन्छ।’
‘हृदयघात भएको मान्छेलाई मरेपछि कोरोना लागेको पुष्टि गरेछ। यो कसरी भयो ?’
‘छोराको जानकारी अनुसार विगत ६ महिनादेखि मृतक र उहाँको श्रीमती अस्ट्रेलियामा छोरी ज्वाइँकोमा बस्दै आएका रहेछन्। एक महिना अगाडि मृतक यहाँको एउटा जग्गा बेच्नु पर्यो भनेर श्रीमतीलाई उतै छोडेर आएको रहेछ। आएको केही दिनमै लकडाउन सुरू भइहाल्यो। गाउँले छिमेकीको अनुसार आएकै बेलादेखि अलिअलि खोक्दै त थिए रे। अनि ज्वरो आयो भनेर ज्वरोको औषधि पनि नजिकै फार्मेसीबाट किनेको पुष्टि भएको छ।’
‘यो विषयमा डाक्टरहरू के भन्छन् त ?’
‘यो विषयमा अहिले डाक्टरहरूले केही भनेका छैनन्। उहाँहरू हाम्रो सम्पर्कमा आउन खोज्नुभइरहेको छैन।’
हत्त न पत्त निर्भीकलाई मेसेज गरें। उसले पनि जे समाचारले भनेको थियो त्यही नै भन्यो। उसको आँसु थामिरहेको थिएन।
त्यो दिन सम्झिएँ। गृह्श्वरी मन्दिर सम्झी, त्यो दुर्व्यवहार सम्झिएँ, मलाई नछो अछुत भनेको सम्झिएँ।
अनि अहिले सम्झिएँ। मरेर आफू अछुत भएर जानुपर्यो। जल्नुपर्ने मान्छे गाडिनु पर्यो।
लगडाउनले गर्दा, अन्तर्राष्ट्रिय विमान नआउँदा न त श्रीमती न त छोरी ज्वाइँ आउन पाए। अमेरिकामा भएका अर्का छोरा बुहारी पनि त्यतै अड्के। यता भएको एउटा छोराले पनि दाग बत्ती दिन नपाउने भए। लास कसैलाई हेर्न र छुन दिइरहेको छैन। अस्पतालमा सबै लासदेखि परपर भागिरहेका छन्। छि:छि:, दूरदूर गरिरहेका छन्।
संसारको लीला। मान्छेको नियति कहाँ कसरी केमा गएर ठोकिन्छ केही थाहा नहुने रहेछ। यो ठूला र साना जातको नाममा कहिलेसम्म लडाइँ। समानरूपले यही माटोमा नै जन्मेका हामी समान रूपले यही माटोमा नै विलिन हुनुपर्दछ। यो दुई दिनमा के को घमण्ड!
निर्भीकको बुवाले आफू बाँचुन्जेल कथित तल्लो जातिहरूलाई छिछि र दूरदूर गरेर छुनु भएन आज उहाँ बित्दा उहाँकै जातिले पनि छुन मानिरहेको छैन।
यो कुराहरु सोच्दै गर्दा आफ्नो मनलाई सम्झाएँ पनि मरेको मान्छेको के अवगुण सम्झने अब?
कोरोनाले सबैको औकात देखाइदिएको छ।
आज कोरोनाले गर्दा एउटा पुजारी बाहुनको लास अछुतो भएको छ।
(निरु त्रिपाठीद्वारा लिखित उक्त कथा नेपाल सेन्टर इन्टरनेशनलबाट भर्खरै प्रकाशित पुस्तक कोभिड–१९’ को कथाहरूमध्ये एउटा कथा हो ।)