संसद, निर्वाचन आयोग र सर्वोच्च अदालतभन्दा पर,
कतै नगएको सरकारलाई,
एकसाथ चिहानमा गाडिँदै गरेका लासहरुले सोधे,
सरकार!
देशमा जनता दु:खी छन् भन्ने थाहा भएरै पनि,
चुनाव सकिएपछि तपाईंलाई देख्नै पाइएन
तपाईं विजय जुलुसको भिडमै हराउनु भएको हो?
तपाईंलाई नदेखेपनि,
तपाईंको इमान्दारिताका चर्चाहरुले
हामीलाई आह्लादित बनाएको छ।
कति डटेर,
आफूलाई जिताउने मतचिन्हको लागि
कत्रो लडाइँ गर्नुभएछ है?
भनिदिनोस् न,
तपाईंलाई जिताउन मत दिने हामी जनताको चाहिँ,
कसरी माया लागेन सरकार?
साँच्चै हामीले प्राण त्याग्न मृत्युशय्यासम्म नपाएको कुरा,
तपाईंले थाहा पाउनु भएन हो?
केही छैन हजुर! हामी त अस्तायौँ
तर, हाम्रो मृत्युको खबर सुन्नुभयो भने,
मतदान गर्नेहरु सकिए भनेर तपाईंले
कत्ति पिर नगरिबक्सियोस् है सरकार,
हामीले छोराछोरीहरुलाई भनिसकेका छौँ,
१८ वर्ष पुगेर मतदान नगरिउन्जेल
मृत्युको कल्पनासम्म पनि नगर्नू!
तपाईंले फेरि देशका लागि जित्नैपर्छ!
लोकतन्त्र जिन्दावाद!