बाका कैयौँ रहरहरू
हाम्रा अनेक सपनाहरूसँग साटिए
नयाँ-नयाँ ठाउँ घुम्ने रहरहरू
हामीलाई संसार देखाउने सपनासँग साटिए
थरी थरी सवारी चढ्ने रहरहरू
हामीलाई हातभरि थान-थान पुस्तक दिने सपनाहरूसँग साटिए
ठुलो घर बनाउने रहर
हामीलाई सहर पढ्न पठाउने सपनासँग साटियो
बाको रहरहरू
हाम्रा सपनासँग साटियो
तर कहिले पनि साटिएन बाको माया
साटिएन
बाले हामीमाथि गरेको विश्वास र भरोसा
बाले आफूले नपाएको माया दिन सिक्नुभयो
बाले हाम्रा सपनासँग आफ्ना रहरहरू साट्नु भयो
बा नजिक हुँदा आफू बलियो छु लाग्छ
बा हुँदा घरको जग बलियो हुन्छ
आमा माया हुन्, बा आँट हुन्
बा हुनु अरूका लागि केवल मान्छे हुनु होला,
बोल्ने हाँस्ने साथी हुनु होला
तर बा हुनु मेरा लागि आँट हुनु हो
बा हुनु भनेको जाने ठाउँ हुनु हो
बा हुनु भनेको छत हुनु हो
बा हुनु भनेको सब थोक हुनु हो
बाले कहिल्यै पनि आफ्ना रहरका भारी हामीलाई बोकाउनु भएन
बाले सधैँ हामीलाई आफ्ना सपनाका अंगालो थाम्न सिकाउनु भयो
बा हुनु भनेको मेरा लागि ‘तँ आँट म पुराइदिन्छु’ भन्ने साथ हुनु हो
बाले आफ्ना रहरहरू मरेर
हामीलाई सपना बुन्न सिकाएको हो
त्यसैले बा हुनु बल हुनु हो
बा हुनु नै सपना जीवित हुनु हो।