रामका कथा सुनेर हुर्किएपछि
हिट्लर र अलेक्जेन्डरका इतिहास घोक्दा
फटाफट पास भएपछि
आफ्नै नजरियाले संसार हेर्ने छुट्टै चस्मा बन्नु
र 'आँखा सोजै नाक' मा चस्मा अड्याउनु
कुनै नौलो थिएन।
दिमागमा लगाम कसले लाउने?
खालि खालि रावणकै शस्त्र अस्त्र
टलक्क टल्किएको लङ्काको कथामा
मन अल्झिरह्यो!
जान्न मन थियो उसको विद्वता
उसका अनेकन् चतुरता
अहँ! कहिल्यै बुझेनन् मेरा गुरुले
वा हार्नेहरूको कुनै कथा हुँदैन थ्यो?
हार्नेहरूको कुनै इतिहास लेखिँदैन थ्यो?
प्रश्नै प्रश्नको थुप्रोबाट कहिल्यै
अलग्गिनै सकेन मस्तिष्क।
जिज्ञासाको तृण त्यति क्षीण पनि नहुँदो रहेछ आखिर
खोलेपछि चेतनाको च्यादर
यत्रतत्र देखिन थालेका छन् कथाहरू!
कुनै शास्त्रमा नलेखिएका
कुनै इतिहासको शिलामा नकुँदिएका
इमानको युद्ध जित्दा छलसँग हारेका छन्
बहादुरीलाई धोकाले हराइएका कैयन कथाहरू।
हराएको हरुवाको कथाझैँ
छुटिगएछ पढ्न- आफ्नै आदिवासी इतिहासको
केही गौरवका अध्याय
केही अस्तित्वका पन्नाहरू
र बिर्सिजाँदो रहेछु- मभित्र गर्भधारण गरिरहेको अर्को इतिहास!
यसै कम्पन हुन खोज्छ- पुनः अपाहिज इतिहास नजन्माऊँ म!
मासिँदैमा भाषा- हराउँदैन बोधगम्यता
जसरी बुझ्दै छु आज
इतिहास लेखिने विजेताको पर्दा पछाडिबाट
पुनः एक हरुवा हुनेछ-
र त्यो अलिखित कथाको शृङ्खला मेरै हो भन्ने
तर लिपिबद्ध हुन सक्छन्
हार्नेहरूको दस्ताबेजका राता अक्षरहरू
उनीहरूकै तातो छातीभित्र
मसाल हुन सक्छन् कुनै दिन
थोपरिएका ऐक्यबद्धताहरू
भयानक हुन सक्छ-
हरुवाहरूले आफ्ना कथा समेटेको दिन!
पासा पल्टिनँ सक्छ-
हरुवाहरूले साँच्चै जित्ने अभ्यास गरेको दिन।