वर्षौँ भयो मेरो कलमको स्याही सकिएको
या बुझौँ यसको निब भाँचिएको
अरू शब्दमा, यसको तागतमा कमी आएको
तर फेरि मेरो कलमले नयाँ स्याही र ऊर्जाको सहारा पाएको छ।
के फेरि यही कलमले लेख्न सक्ला त भावनाले भरिएका गाथाहरू?
बाटो बिराएर पनि फेरि गन्तव्यमा पुग्न चाहनेहरूको रहर?
युद्धमा हराएका छोराछोरीको गुहार
मनभित्रको अन्तर्द्वन्द्व र मस्तिष्कको संघर्षको कथा?
सक्नेछस् त मुगलान गएर हरेक दिन फर्किने सपना बोकेका युवाको कथा?
बाध्यताको शिर टेकेर छोड्नु परेको आमा र देश
अनि खाडीको तातोमा भेडा चराउँदा-चराउँदै
चाम्रिएको गाला अनि फाटेको ओठको व्यथा?
ए मेरो लेख्दै नलेखी थाक्न खोजेको कलम
सक्लास् त यी सत्यको सत्यलाई नि
सत्य बनाउने पर्ने इतिहासलाई बयान गर्न?
कि लेख्दालेख्दै भावनाको सागरमा डुबेर
आफ्नो निबलाई कमजोर गराउने?
मलाई फेरि लेख्न दे, ऐ मेरो कलम!
फेरि आफ्नो निब नभाँच्नू, आफ्नो स्याही नसुकाउनू
मलाई ती सबै कथाहरू लेख्न छ
ती सबै आँसु
ती सबै प्यास
ती सबै भावना
ती सबै बिछोड
ती सबै वियोगान्त
या नचाहेर पनि चाहनु परेका ती प्रकाशका कथा लेख्नु छ
जो आफैलाई बिर्सिएर वर्षौँसम्म नहराएर पनि हराउन विवश भए
लेख्लास् त यो देशमा बाटो बिराएका नेता, हिउँचितुवा
वा भनौँ देशले बिराएको विकासको बाटो?
के लेख्लास् त गर्मी सकिएर हिउँदमा भूमिगत हुनु पर्नेहरूको बाध्यता?
सक्लास् त सम्झाउन त्यो झरेको पातलाई
जो कहिल्यै फेरि त्यही रूखको हाँगामा जोडिन सक्दैन
र आस सधैँका लागि आस नै भइदिन्छ?
सक्लास् त बत्ताउन कस्तूरीलाई आफ्नो बास्नाको रहस्य?
या सक्लास् त पृथ्वीलाई बचाउन आउँदै गरेको सूर्यको तापबाट?
या लेख्न सक्लास् त देशलाई भ्रष्टाचारबाट मुक्ति दिने कानुन
महिलाहरूलाई उनीहरूको अधिकार प्रयोग गर्न प्रेरित गर्ने अधिकार?
सक्लास् त हुम्ला जुम्लाका गधा-खच्चडहरूको जीवन बारे
जो बोक्दछन् भारी जिन्दगीभरि अनि भारीसँगै खस्दछन् भिरबाट
त्यही भएर ए मेरो कलम, मलाई लेख्न दे र फेरि फेरि पनि लेख्न दे
तबसम्म लेख्न दे जबसम्म तेरो निब कहिल्यै भाँचिँदैन
म फेरि तेरो निब फेर्ने छु र फेरि फेरि लेख्ने छु र दिनु मलाई साथ प्रत्येक पटक
म लेख्ने छु यो मुटु हुँदै आँखाबाट आँसुको धारा नबग्दासम्म
मलाई नरोक्नू है कलम, म फेरि फेरि लेख्ने छु र फेरि तँलाई रुवाउँदै लेख्ने छु
म फेरि फेरि लेख्ने छु जबसम्म ती सबैको कर्मले न्याय पाउँदैन
मलाई नरोक्नू है कलम म फेरि फेरि लेख्ने छु र फेरि तँलाई रुवाउँदै लेख्ने छु।