ठूला एकादशीको अन्त्यसँगै पर्वहरूको रमझम पनि घट्दै थियो। कालिगोठे ठूल्दाइ एकादशीपछि निकाल्ने भन्दै राखेको तिहारको झिलिमिली झार्न व्यस्त थिए।
कसैले गमलामा रहेको तुलसीको बोट सयपत्री मालाले उनेका थिए। कसैले विष्णुको तस्बिर भएको टाइलले छापेको तुलसीको मठ नर्कटले घेरेका थिए।
हाम्रो पनि बाउ बाजेदेखि पुजिँदै आएको आँगन छेउमा रहेको माटोको मठ रातो रङ्गले रङ्गिएको थियो। रातो घुम्टो, नर्कटको छेकबार, फूलका माला, अबिर केसरी, दियोमा बलेको बत्तीले गाउँका सबैजसो घरका तुलसीका बोट दुलहीझैं सिङ्गारिएका थिए। मठ माथि चढाइएका उसिनेको सख्खर अनि अन्य प्रसाद चाख्न लस्कर लागेको मसिना कमिलाले जन्तीको आभास गराउँथे।
तिहारलाई माइत गएका केही चेलीबेटीहरू भर्खर घर फर्किंदै थिए। चौतारीमा बसेर गफ लडाउने, लुकेझैं गरी मूलबाटो हेर्दै तास खेल्नेको जमात पातलिँदै थियो। बा र म बजार पुगेर घर फर्किंदै थियौं। त्यही चौतारी पुगेसी थकाइ मार्न पिपलको बोटमा अडेस लाएर बस्यौं। एक जमात देउसी भैलोको पैसाले वनभोज जाने योजना बुन्दै थिए।
राइला बा बिँडी तान्दै सल्लाहमा मिसिए, 'त्यत्रो १२००० जति उठाएछौ, अलि अलि पैसा थपथाप गरेर भत्क्या मन्दिरमा खर्चे हुन्न? तिमीहरू तन्नेरीले त हो नि विकास गर्ने, हैन त जिते?' आफू गफमा मिसिँदै राइला बाले हाम्रा बालाई पनि मिसाए।
'खै दाइ अचेलका केटाकेटी हामीभन्दा जान्नेबुझ्ने छन्, उनीहरूकै पैसा आफै गरून् जे मन लाग्छ' बा तर्किंदै उत्तर दिनु भो। राइला बा अलमल्ल परे।
यस्ता कुरामा सम्झाइबुझाइ गर्ने, गाउँलाई केही गर्नुपर्छ भन्दै आफै लागिपर्ने बाको त्यो जबाफले म पनि झसङ्ग भएँ। अनि झट्ट सम्झिएँ, देउसी भैलो टोली प्रति बाको मन भाँचिएको।
लक्ष्मी पूजाको साँझ फूलैफूल र दियोका बत्तीले सजाएको घरमा भैलिनी खेल्ने टोली स्वागत गर्न बा दिउँसैदेखि तत्पर हुनुहुन्थ्यो। आँगनको बीचमा रङ्गोली बनाउन तम्सिएकी बैनीलाई रोक्दै भैलिनी नाच्न खुला आँगन जोगाउनु भाथ्यो। बैनी रिसले मुर्मुरिँदै आँगनको कुनापट्टि मयुरको चित्र सप्तरङ्गले कोरेकी थिई।
छिमेकमा देउसीभैलोको मादल घन्किना साथ बा हतारिँदै भित्र पसेर आमालाई 'देउसी खेल्न आउन लाछन्, छिटो नाङ्लो तयार गर' भन्दै अर्ह्राउनु भाथ्यो।
आमाले नाङ्ग्लो निकालेर चार वटा सेल, दुइटा अर्सा, एक जोडी केरा र थोरै चामल ठिक्क पार्दै 'पैसा कति राखम?' भन्दा '५,६ जना छन् १५० जति राख न, धेरैबेर नाचे भनेपछि थपुम्ला' भन्नुभाथ्यो।
बा हर्ष र उत्साह साथ दैलोमा ढुकेर बस्दा एउटी सानी नानी आँगनभित्र पसिसकेकी थिइन्।
पछाडिबाट हात तान्दै अधबैंसे चेलीले भनिन्, 'यता खेल्नी हैन। माटोको टहरामा धेरै दिन्नन क्या। ठूलो ठूलो घरमा खेल्नुपर्छ।'
भैली टोली बाटो काटेर पलतिर तीन तले पक्की घरमा भट्याउन थालेका थिए। घरबेटी झिझिदै १० का दुइटा नोट फुत्त फाल्दै दिँदा उनीहरूको असन्तुष्टि र बाको मलिन अनुहार उस्तै देखेको थिए। बा केही बोल्नु भाथेन तर एकपल्ट घरलाई तल देखि माथि सम्म नियालेर चुपचाप कोठाभित्र पस्नुभएको थियो।
आज राइला बाको कुरामा बाको त्यो प्रतिक्रियापछि मलाई झल्झली त्यही घटना याद आयो।
राइला बासँग बिदा पनि नमागी बा जुरूक्क उठेर घरतिर लाग्नुभो।
'बजारमा मोलभाउमा भनाभन पर्या थियो, थाक्नु पनि भयो होला अलि रिसाउनुभाछ। अहिले लागेँ है राइला बा।' यति भनेर आफै बिदा मागेँ।
बा र म टुइटुइ हिँड्यौं। माहोल शान्त थियो। केही बोलौं जस्तो भाथ्यो, तर के बोल्ने? भैलिनीको त्यही वचन आजसम्म बाको मनमा किलो बनेर गडेको रहेछ। बल्ल चाल पाए। मन हल्का गराउन कसरी सोध्ने? बाको मनमा कति कुरा खेलेको थियो होला त्यो दिन। छोराछोरी हुर्काउन, बढाउन पूरै जवानी खर्चेको बाको घर ठूलो बनाउन नसकेकोमा मन खिन्न भएर आयो। बालाई बचनले परेको पिरचिन्ताबारे सोध्ने जमर्को पनि गरिएन। आमासँग जस्तो खुलापन बासँग किन हुँदैन होला है? त्यही ठाउँमा आमा भको भए एक फेर गाली गर्नु हुँदो, एकफेर भाग्य कोस्नु हुँदो, अनि एकछिन धुरूधुरू रोएर मनका सबै बोझ पखाल्नु हुँदो हो। तर आमाझैं बाहरू आफ्नो मनको कुरा खोल्न, पोख्न किन खोज्दैनन् होला?
करिब १०/१५ मिनेटको हिँडाइपछि घर तलको स्कुल आइपुग्यौं। स्कुल नाघेपछि बल्ल बा बोल्नु भयो, 'योचोटि देउसी भैलो खेल्न कोही आएनन् है हाम्रामा?'
बाको मनलाई अलिक सन्तोक मिल्छ कि भन्दै भनेँ, 'आथे, धन्सार कुनाका नातिनातिना नि आथे, गाउँका अरू केट्केटी नि आथे।'
बा झन् झिझिँदै सोध्नुभो, 'ती भुराहरू हैन, अलिक नाचगान गरेरै लक्षिन भित्र्याउने टोली कोही आएनन्।'
बाको निराश अनुहार हेर्दै भनेँ, 'धनका गरिबलाई, मनका गरिबले आशिष दिँदा लक्षिन लाग्ला र, बा?'
बाको मौनता झनै गाढियो। के बुझ्नुभो, कति बुझ्नुभो जानिनँ। केही नबोली दुबै सरासर घरतिर लाग्यौं।