अन्तस्करणबाट
अनायासै निस्किएका शब्दहरू
प्रति ध्वनित हुँदा
फूललाई भमराले
आकाशलाई बादलले
धर्तीलाई जूनले स्पर्श गरेजस्तो
दिमागी स्पर्श गरिरहँदा
उस्ता उस्तै लाग्छ
छुट्नु, छुटिनु वा गुमाउनु
टाढिनु, भाग्नु अथवा अदृश्य हुनु।
हेर्दा हेर्दै ओझेल परेजस्तो
दृश्यभन्दा बाहिर समीपमा नभएको
केही हराएको जस्तो
कतै विलीन भएजस्तो
आफ्नै मनभित्र बल्दै गरेको आशाको दियो
भित्रै झ्याप्प निभेजस्तो
आत्माले शरीर छाडेर
उसैलाई वा कसैलाई पच्छ्याएर
उसैसँग वा कसैसँग दूर-दूर गएजस्तो।
महसुसले कता हो कता
मुटुमा सोझै छुरा रोपेजस्तो
पीडाहरूको भवसागरमा
निष्प्राण डुबुल्की मारेजस्तो
खुकुरीले गर्दन रेट्नै लागेजस्तो
अथवा
प्रसव वेदनाले छटपटाएजस्तो
पखेटा काटिएको चरीजस्तो
कस्तो-कस्तो
रोइरहने बर्खा मासको झरीजस्तो।
खोइ के हो, के हो बुझ्नै सकिनँ
कसैले यत्ति सम्झाइदेऊ न मलाई
चलिरहेको दिन यसै रोकिने भए
मात्रै खुसीको पहाड बोकिने भए
उमङ्गको लस्कर आपसमा ठोकिने भए
हरियो वृक्ष पहेँलिएर हेर्दा-हेर्दै नाङ्गो नहुने भए
मन भाँचिएर बाङ्गो नहुने भए
मनमा ज्वारभाटा नफुट्ने भए
जोडेको सम्बन्ध नछुट्ने भए
कस्तो हुन्थ्यो होला यो संसार
कस्तो देखिन्थे होला मायालु जोडीहरू!
याद छ कसैले भनेको
किन बिलाउँछ दिनसँग दिनकै सपना?
किन मोडिन्छन् बाटाहरू र तोडिन्छन् सम्बन्धहरू?
किन झर्छन् पातहरू हरियो वृक्ष पहेँलिएर?
कसरी हुन्छन् ओसिला रातहरू?
चुपचाप
आवतजावत महसुस गरौँ
एक मुठ्ठी श्वासको
जो बाहिर निस्किएन भने
कसरी भित्रिन्छ अर्को
र चल्छ यो ढुकढुकी!
डाली डालीबाट पुराना पातहरू झरेपछि न हो
वसन्तमा पलाउने नयाँ पिपिरीहरू
जति बेला
मृदुल स्वर गुन्जिन्छ कोकिलको
हरिया वृक्षहरूका कुञ्ज कुञ्जमा।
हुलाकी झैँ काफल चरीले
वसन्तबिना कसरी पुर्याउला सु-समाचार
दूर दराजको बस्तीहरूमा
कसले गर्न सक्ला र दिन नबित्दै
अर्को बिहानीको कल्पना
सोचौँ त,
चराले गुँड छोडे जसरी
रित्तो खल्ती हुँदा आफन्तले छोडे जसरी
प्राणले शरीर छोडे जसरी
भूतपूर्व प्रेमिकाले नछोड्ने भए
प्रेम नगरको मुसाफिर झैँ
कसरी आउँछन् होला न्यानो अँगालोमा
कसरी बुनिन्छन् चखेवाको जोडी बनेर सपना
मिठा मिठा रहरका सपनाहरू माकुराले जालो बुने झैँ !
त्यसैले जरुरी छ छुटिनु
एउटा छुटिनु नै अर्को भेटिनु हो
जसरी हिमालबाट छुटेको नदी
समुद्र, बादल हुँदै फेरि मिसिन्छ हिमालमै
बिछोड हुनु नै दोस्रो मिलनको रेखा कोरिनु हो
मर्नु भनेको नयाँ जीवनको आरम्भ गर्नु पनि हो
बिछोडले मिलनको
हराउनुले पाउनुको
दिनले रातको
शिशिरले वसन्तको गर्भ बोकेझैँ
प्राकृतिक कक्षमा घुमिरहेको छ जीवन
बस्
तिमीले बदलिनुपर्छ
बदल्नुपर्छ ती नजरहरू
अनि पो भेटिन्छ, गुमाउनु भित्रको एक निमेष खुसी।