म जन्मिएको मलाई हुर्काएको माटो
खेल्दै कोतर्दै मैले खाएको माटो
यो माटोमा मेरो सपना बसेको छ
यो माटो मेरो सपना बनेको छ
बिछट्टै लगाव छ मलाई
यो देशको माटोमा
माटो छुँदा पनि आनन्द हुन्छ
माटोमा पहिलो पाइला टेकेपछि थाहा पाएँ
माटोमा पनि सुगन्ध हुन्छ
आमाको पसिना त्यहाँ बगेको देखेपछि थाहा पाएँ
मेरो देशको माटो जसले मलाई
आधुनिकताको चक्रब्युबाट टाढा
प्रकृतिको सामीप्यतामा राखेर
मेरो बाल्यकाल सुन्दर बनायो
म सधैँ माटोसँग जोडिरहन पाऊँ
त्यस्तो अनौठो रहर बनायो
माटो रहुन्जेल रहनेछ
मानिस हुनुको अस्तित्व
मेरो देशको माटो रहुन्जेल रहनेछ
म हुनुको अस्तित्व
मेरो देशको माटो
कहिले बगेको छ
कहिले बेचिएको छ
हिजो जसलाई आश्रय दियो
आज उनैबाट हेपिएको छ
माटोको माया नहुनेहरूलाई पनि
माटोले माया दिएको छ
आफ्नै छाती चिरेर
अरूको पेट भरिदिएको छ
मेरो देशको माटो
चाहनेहरूको लागि सुन फलाउने माटो
खोट देख्नेहरूको लागि काम नलाउने माटो
ए माटो छुन लजाउनेहरू
माटो छुन घिनाउनेहरू
तिमी पनि एक पटक
मेरो देशको माटो छोएर त हेर
महसुस पक्कै खास हुनेछ
आफ्नोपनको आभास हुनेछ
ममताले भरिएको न्यानोपनले
बिर्साउने छ तिम्रो एक्लोपन
अनि बिरानोपन
छाती फिँजाएर स्वागत गर्न तयार छ
तिम्रो स्पर्शलाई
छोएर त हेर यो देशको माटो
कति प्यारो लाग्छ मेरो देशको माटो।