नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत अहिले जिल्ला सभापति र केन्द्रीय महाधिवेशन प्रतिनधिका लागि अधिवेशन भइरहेका छन्।
अधिवेशनमा अहिले केन्द्रमा सभापति शेरबहादुर देउवा र संस्थापनइतरका पक्ष छन्। संस्थापनइतरमा बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला छन्।
देशका अधिकांश जिल्लामा सभापति देउवा र बरिष्ठ नेता पौडेल पक्षका नेता/कार्यकर्ताबीच प्रतिष्पर्धा भइरहेको छ। तर केही ठाउँमा भने गुटको समिकरण रोचक बनेको छ। कुनै जिल्लामा नेताहरू अर्को गुटसँग मिलेका छन् भने केहीमा आफू-आफूबीच प्रतिष्पर्धा गरिरहेका छन्।
सुदूरपश्चिमको कञ्चनपुरमा सभापति शेरबहादुर देउवाकै समूहमा रहेका दुई नेताबीच टक्कर भइरहेको छ।
कांग्रेस कञ्चनपुरका नेता रमेश लेखक र एनपी साउँद सुदूरपश्चिमबाट केन्द्रीय राजिनीतिमा महत्वपूर्ण स्थानमा आउने नेता हुन्। दुबै जना नेपाल विद्यार्थी संघबाट पार्टी राजनीतिमा आएका हुन्।
दुबै सँगसँगै प्रतिनिधसभा सदस्य बनेका थिए। २०५६ सालमा भएको संसदीय निर्वाचनमा पहिलो पटक लेखक कञ्चनपुर क्षेत्र नम्बर ३ बाट र साउँदले २ बाट जितेका थिए।
लेखक जिल्ला कार्यसमितिको सचिव भइसकेका नेता हुन्। पछि कांग्रेसबाट टिकट पाएपछि उनले जिते भने नेविसंघको केन्द्रीय अध्यक्ष भइसकेका साउदले पनि पार्टीभित्र राम्रो पृष्ठभूमि बनाएका छन्।
शेरबहादुर देउवा सभापति भएपछि पार्टीमा यी दुबै नेता केन्द्रीय सदस्य पनि भइसकेका छन्।
पहिलो संविधान सभामा देउवा कञ्चनपुरबाट चुनाव लडेपछि उनीहरू त्यतिबेला उठेनन्। २०७० को चुनावमा उनीहरू दुबैले जिते। दुबै जनालाई सभापति देउवाले केन्द्रीय सरकारका मन्त्री बन्ने अवसर पनि दिइसकेका छन्।
२०७४ को आम निर्वाचनमा भने दुवैजना पराजित भए। त्यसबेला पनि लेखक कञ्चनपुर-३ र साउद २ बाट चुनाव लडेका थिए।
अहिले महाधिवेशनमा राष्ट्रिय राजनितिमा आफ्नो प्रभुत्व देखाउन उनीहरू आपसी टक्करमा देखिएका छन्।
‘कसको निर्वाचन क्षेत्रमा कसका मान्छे बढी आए भनेर देखाउन उनीहरू लागेका छन्,’ कञ्चनपुरका एक कांग्रेस नेताले भने।
जिल्लामा वडा तहदेखिका अधिवेशनमा साउँद र लेखकका गुटबीच प्रतिस्पर्धामा देखिएको छ। महाधिवेशनका विभिन्न तहका चुनावमा कञ्चनपुरको क्षेत्र नम्बर ३ मा लेखक पक्षका मान्छे बढी आएका छन्। लेखकले आफ्नो निर्वाचन क्षेत्रमा निकटका लागि प्राथमिकता दिएको उनले बताए।
यस्तै कञ्चनपुर-२ मा साउँदका पक्षका बढी निर्वाचित भएका छन्। लेखकनिकट मानिने जिल्ला सभापति हरिप्रसाद बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।
तीन क्षेत्र रहेको कञ्चनपुरमा निर्वाचन क्षेत्र १ मा भने एनपी साउँद र दिवानसिंह बिष्टले सहमति गरेर लडेकाले लेखक पक्ष कमजोर देखिएको विश्लेषण गरिएको छ। यस क्षेत्रमा साउँद पक्षका बढी प्रतिनिधि आएका छन्।
‘जिल्ला सभापतिको चुनावमा यसको असर झन् बढी देखिने छ,’ ती नेताले भने।
कांग्रेस कञ्चनपुरको सभापतिमा लेखक पक्षबाट पदम बोगटीले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन्। अघिल्लो महाधिवेशनमा उनी हरि बोहोरासँग पराजित भएका थिए।
कांग्रेस कञ्चनपुरको सचिव रहिसकेका नेता बोगटीको प्यानलबाट उपसभापतिमा वर्तमान सचिव दिवाकर पाण्डे र वर्तमान कोषाध्यक्ष शंकर चन्द लड्ने भएका छन्।
यस्तै सचिवमा नेपाल ट्रेड युनियनका सुदुरपश्चिम प्रदेश अध्यक्ष सिद्धराज भट्ट र वर्तमान जिल्ला कार्यसमिति सदस्य जनक धामी तथा सह सचिवमा वर्तमान जिल्ला कार्यसमिति सहसचिव पुस्कल चौधरी र जिल्ला कार्यसमिति सदस्यमा कविराज भट्ट उम्मेद्वार बनेका छन्।
उता साउँदका पक्षबाट जिल्ला सभापतिमा बहादुरसिंह थापाको नाम चर्चामा छ।
‘यी सबै देउवाकै पक्षका मान्छे हुन्। यहाँ देउवाका नजिकैकाबीच प्रतिष्पर्धा छ,’ ती नेताले भने।
२०७४ को चुनाव हार्नुको कारण पनि एकअर्कासँगको प्रतिष्पर्धा रहेको कतिपयले विश्लेषण गर्छन्। महाधिवेशनका बेला पनि जिल्लाका शीर्ष नेता आपसमा टकराव गर्दा कार्यकर्ता पनि दुई गुटमा विभाजित देखिएका छन्।
कतिपयले आगामी चुनावमा पनि यसले प्रभाव पार्नसक्ने बताएका छन्। कांग्रेसभित्रको पौडेल-कोइराला पक्ष भने कञ्चनपुरमा त्यति बलियो देखिएको छैन।