कैलालीको घोडाघोडीकी रीताकुमारी चौधरीलाई १६ वर्षे जागिरे अवधिमा समाज बुझ्ने अवसर मिल्यो।
उनले समाजमा के कुराको दु:ख छ र राजनीतिले के गर्नुपर्छ भन्ने थाहा पाएकी छन्। जागिरे जीवनमै पनि उनले राजनीतिमा लागेर यी कुराको सम्बोधन गर्नुपर्छ भन्ने उनलाई लागेको थियो।
त्यसैले अहिले उनी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छिन्। उनी भर्खरै सकिएको क्षेत्रीय अधिवेशनमा कैलाली क्षेत्र नम्बर ३ बाट क्षेत्रीय सभापतिमा निर्वाचित भएकी छन्।
२०५८ सालमा आई.एको पढाइ सकेपछि उनी सामाजिक परिचालक भएर काम गर्न थालेकी थिइन्।
‘समूहमा काम हुन्थ्यो, त्यसबेला पनि आर्थिक स्थितिमा कमजोरी, जनचेतनाको कमी, महिलाहरूले भोगेका हिंसाको महसुस गर्न पाएँ। मलाई उनीहरू आफ्ना कुरा भन्थे। पुरूषहरूले पनि समस्या भन्थे,’ उनले भनिन्।
उनका बाजे भलमन्सा भएकाले राजनीति गर्नेहरू घरमा आइरहन्थे। बाजेपछि बुवा पनि राजनीतिमै थिए। उनका बुवा सुखराम डगौरा थारू पहलमानपुर गाउँ कार्यसमितिको सभापति भएका मान्छे हुन्। अहिले पनि उनी राजनीतिमै छन्। तेह्रौं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि रहेका उनका बुवा खेती किसानी गर्छन्।
२०५९ माघमा २४ वर्षको उमेरमा बिहे गरेकी रीताले समाजशास्त्रमा मास्टर्स गरेकी छन्। सामान्य परिवारमा छोरीलाई पढाउने नमान्ने गरेका धेरै घटना उनले देखेकी छन्।
‘मैसँग पढ्ने दुई जना अरू साथी थिए, उनीहरूले ८ कक्षासम्म पढेर बिहे गर्नुपरेको थियो, मेरो बुवा राजनीतिमा लागेका हुनाले चेतना थियो होला सायद, मैले पढ्न पाएँ,' उनले भनिन्।
उनले अवसर पाएपछि गाउँमै डिग्री गर्ने पहिलो महिला बनेकी थिइन्।
स्नातक प्रवेश गरेकै वर्ष स्थानीय विकास कोषबाट सञ्चालित कार्यकक्रमा सामाजिक परिचालकमा काम पाइयो।
यही बेला नागरिकका दु:खसुख बुझेकी उनलाई सहयोग गर्न मन लाग्थ्यो। तर कहिलेकाहीँ भने सहयोग गर्न चाहेर पनि सक्दिन थिइन्। राजनीति गर्नेले मात्र समस्याको समाधान गर्न सकेको उनलाई लाग्थ्यो।
‘महिला, आदिबासी, जनताजाति थारू, पिछडिएकाको पीडा देख्थें, के गरेर सम्बोधन गर्नेहोला लाग्थ्यो, यसको लागि राजनीतिमा आउनु पर्छ भन्ने भयो। बुवाको प्रभावले पनि मलाई राजनीतिमा आउन मन थियो,’ उनले भनिन्।
परिवारिक पृष्ठभूमि राजनीतिक भएकाले बुवाले नै उनलाई २०४८ सालमै नेपाली कांग्रेसको साधारण सदस्यता लिन भनेका थिए। पछि क्रियाशील सदस्यता पनि बुवाले गराइदिएको उनले बताइन्।
‘बुवाले राजनीतिमा आउनुपर्छ भन्नुहुन्थ्यो, मलाई पनि भोलि राम्रै होला लागेको थियो, बुवासँगै पनि हिँड्थें,’ उनले भनिन्।
उनले समाज र राजनीतिबारे थप बुझेपछि कांग्रेसको १२ औं अधिवेशनमा पदको दाबेदार बनिन्। उनी महिला कोटाबाट क्षेत्रीय प्रतिनिधि भइन्।
तेह्रौं महाधिवेशनमा महासमिति सदस्य बनिन्।
२०७४ को स्थानीय तह निर्वाचनमा मेयरको टिकट पाएपछि उनले जागिर छोडिन्।
टिकट पाउन समस्या हुन्छ भन्छन् तर उनलाई त्यति गाह्रो भएन।
‘मैले पुरूष मात्रै मेयरमा दाबी गर्छन्, मैले किन नगर्ने, क्षमता छ भनेर हिम्मतका साथ पार्टीमा कुरा राखें,’ उनले भनिन्।
जिल्ला र केन्द्रमा उनको नाम पुग्यो। महासमिति सदस्य भएकाले नेताहरूसँग चिनजान पनि थियो।
‘केन्द्रमा नाम पुगेपछि थारू महिला, पढे लेखेको पनि, सभापतिलाई पनि पार्टीले सहयोग गर्नुपर्छ भन्ने भयो होला, मैले टिकट पाएँ,’ उनले भनिन्।
उनलाई त्यसबेला महिलाले उपमेयरमै हुनुपर्छ, दोस्रो मान्छे नै हुनुपर्छ भन्ने माहोल बनेको देखेर विरोध जनाएकी पनि थिइन्।
‘मैले गाउँमा अझै पनि विद्युत, बाटो, खानेपानी छैन। यी आधारभूत आवश्यकता पुगाउने एजेण्डा राखेकी थिएँ, महिलालाई आर्थिक रूपले सबल र उद्यमी, आत्मनिर्भर बनाउनतिर जोड दिनुपर्ने भनेकी थिएँ,’ उनले भनिन्।
महिलाले काम गर्न सक्छ भन्ने धारणा नभएर पनि आफूले चुनाव हार्नुपरेको हो कि भन्ने उनलाई लाग्छ। पार्टीभित्रकै असहयोग पनि उनले मेयरमा चुनाव हार्नुको एक पाटो थियो।
विजयी प्रतिद्वन्द्वीसँग उनले १८ सय मतले हारेकी थिइन्।
‘अब सायद सबैले बुझिसके होलान्, यो चार वर्षमा म पनि सबैसँग छु। बजेट र योजनाबाहेक सबै काम गरेकी छु,’ उनले भनिन्।
मेयरमा चुनाव हारेपछि उनले कुटानी पिसानी गर्ने मिल चलाइरहेकी छन्। श्रीमान् एनजिओका जागिरे भए पनि आफू पनि कमाइ गर्न उनले मिल चलाएको बताइन्।
स्थानीय तहको निर्वाचनमा मेयरमा हारेकी रीताकुमारी नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापतिमा निर्वाचित भएकी छन्।
यसअघि महासमिति सदस्य रहेकी चौधरीले प्रतिद्वन्द्वी लोकेन्द्र भण्डारीलाई १ सय ५५ मतले पराजित गर्दै सभापतिमा निर्वाचित भएकी हुन्। उनले ३ सय ८ र भण्डारीले १ सय ५३ मत प्राप्त गरेकी थिइन्।
‘चुनावमा पराजयले मैले हार मानिनँ, म अझ अगाडि जानुपर्छ भनेर लागें, अब म क्षेत्रीय सभापति पनि भएकी छु। अब पार्टीले टिकट दिए जित्छु र आफ्नो क्षेत्रका सबै तीनै स्थानीय तहमा कांग्रेसलाई जिताउन सक्छु पनि,’ उनले दाबी गरिन्।
टिकट नदिएर पार्टीले यदि संगठन चलाउनुपर्छ भने त्यसमा पनि आफू पछाडि नहट्ने उनको भनाइ छ।