नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको राम्रो पकड भएको सुदूरपश्चिमका तीन जिल्लामा संस्थापन इतर समूह (रामचन्द्र पौडेलको समूह) ले सभापति जितेको छ।
निर्वाचन सम्पन्न भएका यस प्रदेशभित्रका ७ मध्ये तीनमा देउवाइतर समूह (पौडेल पक्ष)ले जितेको छ भने चार जील्लामा देउवापक्षले जितेको छ।
दार्चुला, बैतडी र बाजुरामा संस्थापनइतर पक्षले जिल्ला कार्यसमितिको सभापतिमा जितेका छन्। कञ्चनपुर, डोटी, बझाङ र डढेलधुरामा देउवापक्षले जितेको छ।
देउवापक्षले जितेका कतिपय ठाउँमा पौडेल समूहको चर्को विरोध छ। सभापति देउवाकै गृहजिल्ला डेल्धुरामा एकलौटी अधिवेशन गरेको भन्दै उक्त समूहले अर्को चुनावको माग गरेको छ।
यहाँ देउवा पक्षका भीमबहादुुर साउँदले सभापतिमा जितेका थिए। अधिवेशन निष्पक्ष नभएको भन्दै बहिष्कार गरेको पौडेल पक्ष अहिले पनि आन्दोलनमा छ।
संस्थापनइतर पक्षका एक नेताले देउवापक्षले यहाँ जालझेल र षड्यन्त्र गरेको आरोप लगाए।
‘अर्को पक्षलाई भाग दिइएन, संस्थापन पक्षले दबाएको हो। ठूलो ज्यादती भयो, जालझेल षडयन्त्र भयो, जिल्लामा पार्टीको वैधानिक ढंगले चुनाव हुनुपर्थ्यो तर, त्यसो भएन, यहाँबाट पठाएका क्रियाशील सदस्यताको नाम हटाउनु कहाँसम्मको हो? अहिले पनि कर्ण मल्ल जीहरूले वैधानिक लडाइँ लड्दै हुनुहुन्छ,' उनले भने।
तर, देउवा पक्षका नेताहरू पनि केन्द्रीय समितिको विधान अनुसार जिल्लामा निर्वाचन तय भएको दाबी गर्छन्।
‘एकलौटी भएको छैन, केन्द्रको विधान अनुसार निर्वाचन भएको हो, यसमा विरोध गर्नु राम्रो होइन’, एक नेताले भने।
कञ्चनपुरमा सभापतिमा जितेका पदम बोगटी पनि देउवा पक्षका हुन्।
यस जिल्लामा देउवा पक्षकै रमेश लेखक र एनपी साउँदका दुई प्यानल महाधिवेशनमा भिडेका थिए।
जिल्ला कार्यसमितिको सभापति र सहसचिवमा लेखक पक्ष र बाहेकका पदमा साउँद पक्षले जितेका छन्। समग्रमा यी अधिकांश देउवा पक्षकै हुन्।
नेपाली कांग्रेसको डोटी जिल्ला सभापतिमा नरेन्द्रबहादुर सिंह विजयी भएका छन्। उनी देउवा पक्षकै हुन्। यहाँ सिंह संस्थापनइतर पक्षका भूमिराज बडुलाई हराउँदै विजयी भएका हुन्।
नेपाली कांग्रेसको बझाङ जिल्ला सभापतिमा देउवा पक्षकै खडक बोहरा निर्वाचित भएका छन्। यहाँ देउवा पक्षकै दुई जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए। जसमा उनले सभापतिमा जीत हात पारेका हुन्।
दार्चुलामा संस्थापनइतर पक्षका ललित सिंह बोहरा जिल्ला सभापतिमा विजयी भएका छन्। उनी देउवा पक्षका अमरसिंह धामीलाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन्।
बैतडीमा पनि इतर पक्षका चतुरबहादुर चन्दले सभापतिमा जितेका छन्।
केन्द्रमा उपसभापति रामचन्द्र पौडेलनिकटका दिलेन्द्र बडुको प्रभाव बैतडी र दार्चुलामा छ। यसकारण यी दुई जिल्लामा इतर पक्षले सभापतिमा जितेको हो।
यस्तै, नेपाली कांग्रेस बाजुराको सभापतिमा रामसिंह रावल विजयी भएका छन्। जिल्ला सभापति पदका लागि असोज २१ गते निर्वाचन भएको थियो। उनी पनि पौडेल समूहनिकट हुन्। बाजुरामा पौडेल निकटका दुई नेताको प्रभाव छ। पूर्वराज्यमन्त्री जनकराज गिरी र केन्द्रीय सदस्य बद्री पाण्डेयको प्रभाव देखिएका कारण सभापतिमा पौडल पक्षले जितेको बताइएको छ।
कैलाली र अछाममा अधिवेशन स्थगित भएको छ।
मंसिर १६ र १७ गते धनगढीमा हुने प्रदेश अधिवेशनका लागि समय अपुग भएपछि केन्द्रीय निर्वाचन समितिको अनुमतिमा यी जिल्लामा अधिवेशन स्थगित गरिएको जनाइएको छ।
कैलालीमा ९० प्रतिशत देउवा पक्षको वर्चश्व रहेको विश्लेषण गरिएको छ।
जिल्लामा सभापतिका लागि देउवा पक्षकै आधा दर्जन नेता आकांक्षी छन्। कैलालीभन्दा अछाममा भने संस्थापनइतर पक्ष सशक्त रहेको बताइएको छ।
१३ औं अधिवेशनमा सुदूरपश्चिममा संस्थापनइतर पक्षले प्रतिनिधि चयनदेखि जिल्ला अधिवेशनमा २० प्रतिशत चुनाव जितेको थियो। त्यसबेला दार्चुलामा मात्र यो पक्षले सभापतिमा जितेको थियो।
१४ औं अधिवेशनमा भने अघिल्लो अधिवेशनभन्दा संस्थापनइतर पक्ष बलियो देखिएको छ।
कैलाली र अछामबाहेक निवार्चन भएका ७ जिल्लाको परिणाम हेर्दा ३० प्रतिशत चुनाव जितेको छ।
देउवा पक्षले भने ७० प्रतिशत निर्वाचन जितेको छ। प्रतिनिधि चयनदेखि लिएर जिल्ला अधिवेशनमा संस्थापनइतर पक्ष भन्दा यो बलियो देखिएको हो।
केन्द्र र प्रदेशको महाअधिवेशनका लागि चयन भएका प्रतिनिधिहरू पनि अधिकांश देउवा पक्षकै छन्।
केन्द्रीय महाधिवेशनका लागि ४ सय जना र प्रदेशका लागि ५ सय ४४ जना गरी ९ सय ४४ प्रतिनिधि चयन भएका छन्। जसमा करिब ३ सय जना प्रतिनिधि संस्थापनइतर पक्षका छन्। तथ्यांक हेर्दा ७० प्रतिशत देउवा पक्षका र ३० प्रतिशत संस्थापनइतर पक्ष प्रतिनिधि चयन भएका छन्।
सुदूरपश्चिममा कांग्रेस अधिवेशनमा गृह जिल्लाका प्रभावका कारण देउवा पक्ष बलियो देखिएको कांग्रेसका एक नेताले बताए।
‘टिकट वितरण गर्दा ९० प्रतिशत देउवा पक्षले पाउनु, देउवाको आफ्नोपन, प्रदेशमा देउवाको लोकप्रियता हुनुजस्ता अन्य कारणले यहाँ बलियो देखिन्छ,’ उनले भने।