नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सुदूरपश्चिम प्रदेश सभापतिका लागि ६ जना आकांक्षीले उम्मेदवारी घोषणा गरेर मत मागिरहेका छन्।
सहमति नभएर निर्वाचनमा गए मंसिर १६ गते उनीहरूले मनोनयन दर्ता गर्ने तालिका छ। यसअघि आफ्नो पक्षमा प्रतिनिधि ल्याउन प्रदेश सभापतिका आकांक्षी ६ जना नै कसरतमा छन्।
कैलालीबाट बहालवाला जिल्ला सभापति नरनारायण शाह ‘मनु’ र हिमबहादुर रावलले उम्मेदवारी घोषणा गरेका छन्।
रावलले गएको प्रदेश सभा निर्वाचनमा कैलाली २ (ख ) बाट टिकट पाएका थिए। त्यसअघि वडा अध्यक्षमा हारेका उनी प्रदेश सभा सदस्य पदमा पनि पराजित भएका थिए।
बझाङका अर्जुन जंगबहादुर सिंहले पनि प्रदेश अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। सिंह कोरियाका पूर्वराजदूत भइसकेका नेता हुन् भने पूर्वपरराष्ट्र राज्यमन्त्री समेत हुन्।
अछामबाट पूर्वसञ्चार राज्यमन्त्री गोविन्द शाहले पनि प्रदेश सभापतिमा उम्मेदवारी दिएका छन्।
नेविसंघका नेता डोटीका पुष्पकुमार शाही र कांग्रेस सुदूरपश्चिम संसदीय दलका सचेतक तथा प्रदेश सभाका सांसद गोविन्द बोहराले डडेल्धुराबाट प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।
नेपाली कांग्रेस सुदूरपश्चिमका प्रचारप्रसार प्रमुख नृप सुनारले आकांक्षीहरू अहिले पनि सहमतिको प्रयासमा रहेको बताए।
‘सहमतिको प्रयास त हुने नै भयो, नभए निर्वाचन हुन्छ,’ उनले भने।
सभापतिमा को बलियो?
कांग्रेसले १४ औं महाधिवेशनलाई देशको आगामी मार्ग र लोकतन्त्रको सुदृढीकरणका लागि विशेष रूपमा हेरेको छ।
सुदूरपश्चिम प्रदेश सभापतिमा नरनारायण शाह ‘मनु’ लोकप्रिय रहेको केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा धनगढी उपमाहनगरका मेयर नृप वड दाबी गर्छन्।
‘पार्टी, संगठन र जिल्ला सभापति हुदा उहाँले दिएको योगदानका आधारमा सभापतिका लागि योग्य हो,’ वडले भने।
नेता शाहका स्वर्गीय बाजे लोकेन्द्रबहादुर शाह सुदूरपश्चिम कांग्रेसका संस्थापक सभापति, कैलाली र कञ्चनपुर जिल्ला एउटै निर्वाचन क्षेत्र हुँदा वि.सं २०१५ मा क्षेत्रीय सभापतिमा निर्वाचित भएका र नेपालको संसदीय चुनाव २०१५ मा कैलाली र कञ्चनपुरबाट सांसदमा निर्वाचित भएका थिए।
यस्तै, नेता शाहका बुवा स्वर्गीय मोहनबहादुर शाह पनि कैलाली कांग्रेसका जिल्ला सभापति एवं जिल्ला विकास समिति कैलालीका सभापति रहेका थिए।
पारिवारिक पृष्ठभूमिका आधारमा तेस्रो पुस्ताका नेता शाह सभापति जित्नुपर्ने उनी समर्थकहरू दाबी गरिरहेका छन्।
‘जिल्लामा लगातार दुई कार्यकाल सभापति भइसकेका नेता शाहलाई कुशल संगठनकर्ता, कुशल व्यवस्थापक र देशभरका सभापतिमध्ये शाहलाई अपडेटेड नेता मानिन्छ,’ वडले भने ।
कांग्रेस सुदूरपश्चिम प्रदेश अधिवेशनमा ९ सय ७२ जना मतदाता सहभागी हुनेछन्। तीमध्ये नेता नरनारायण शाहको गृह जिल्ला कैलालीबाट मात्रै ३ सय ११ जना प्रतिनिधि छन्।
कैलालीका निर्वाचित प्रतिनिधिमध्ये झन्डै ९० प्रतिशत प्रतिनिधि शाह पक्षमा रहेको दाबी गर्दै उनी बलिया भएको विश्लेषण गरिएको छ।
कैलालीकै निर्वाचन क्षेत्र नम्बर २ का सभापतिका उम्मेदवार हिमबहादुर बिष्ट पनि आफूले सभापतिमा जित्ने आधार थुप्रै रहेको दाबी गर्छन्।
‘म देउवाको आधिकारिक मान्छे हुँ, उहाँले मलाई सहयोग गर्नुहुन्छ, जिल्लामा पनि मेरो राम्रो पकड छ’, उनले भने।
उनले संगठनका लागि कार्यकर्ताको मन जित्ने एजेण्डासहित सभापतिमा उम्मेदवारी घोषणा गरेको बताए।
‘मेरो पार्टीमा लामो योगदान छ। म संगठनलाई बलियो बनाउँछु, युवा महिला, वृद्धलाई समेटेर लैजान्छु’, उनले भने।
अछामबाट सभापतिका लागि उम्मेवार दिएका गोविन्द शाह पनि आफूले जित्ने थप्रै आधार भएको बताउँछन्।
‘मलाई देउवा, एनपी साउँद, रमेश लेखक लगायतका नेताको साथ छ, म सबैलाई मिलाएर लग्छु’ उनले भने।
बझाङबाट सभापतिका लागि उम्मेदवार बनेका नेता अर्जुनजंग सिंह पुराना नेता भएकाले उनको समर्थनमा धेरै प्रतिनिधि रहेको दाबी गरिएको छ।
उनीनिकट स्रोतको नेपाली कांग्रेसको राजनीतिमा उनको कार्यकर्ता र जनताबीच राम्रो पृष्ठभूमि भएकाले उनी प्रदेश सभापतिका लागि बलियो उम्मेदवार रहेको दाबी गर्छन्।
‘उहाँ पुराना नेता, उहाँको पार्टीका लागि थुप्रै योगदान छ, त्यसका कारण प्रतिनिधिहरू उहाँको समर्थन छन्,’ स्रोतले भन्यो।
सभापतिका अन्य पदाधिकारी पनि कोहीभन्दा कोही कम नरहेको दाबी गर्दै आएका छन्।