राजेन्द्र लिङ्देनलाई नजिकबाट चिन्ने साथीभाइ र झापाली जनता भन्छन्- उनी पञ्चायती व्यवस्थाका कट्टर समर्थक हुन्।
२०६० सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहको सक्रिय शासनकालमा उनी त्यसरी नै ‘कट्टर राजावादी’ भनेर चिनिएका थिए।
झापामा भने लिङ्देनलाई पञ्चायत समर्थक र राजावादीको परिचयले मात्र चिनिँदैन। झापाली जनता उनलाई विकासप्रेमी, सरल र मिजासिला नेता मान्छन्। झापा क्षेत्र नम्बर ३ मा लिङ्देनले विकासका थुप्रै इँटा जोडेको उनीहरू बताउँछन्।
राप्रपा झापाका पूर्वनेता मोहन कडरिया भन्छन्, ‘यो काम गर्छु भनेपछि फत्ते गर्ने मान्छे हुन्। सच्चा राजावादी भनेर चिनिन्छन्। आफ्नो ठाउँमा केही गरौं भन्ने भावना राख्ने विकासप्रेमी मान्छे हो।’
जन्मस्थान पाँचथर भए पनि उनका बुवा मानप्रसाद प्रहरीमा सिपाहीको जागिरे भएकाले झापा बस्थे। मानप्रसादले २०२३ सालमा आफ्नो परिवारलाई झापाको तत्कालीन शिवगन्ज, सतासीधाम गाविस (हाल शिवसताक्षी नगरपालिका) मा बसाइँ ल्याएका थिए। अहिलेको पूर्व-पश्चिम राजमार्गभन्दा उत्तरको खाली जंगल क्षेत्रमा उनीहरूको बसोबास थियो।
त्यति बेला राजेन्द्र एक वर्षका थिए। उनले त्यहीँ बसेर कक्षा ३ सम्म पढे।
२०२८ सालमा झापा आन्दोलन भयो। तत्कालीन सरकारले जंगल क्षेत्रका बासिन्दा कोहीलाई गोलधाप, कोहीलाई पृथ्वीनगर सार्यो। कडरियाका अनुसार लिङ्देन परिवारको बसाइँ गोलधाप सर्यो। कक्षा ४ पछि लिङ्देनले गोलधापकै जनजागृति विद्यालयमा पढे।
मानप्रसाद प्रहरी जवानबाट हवल्दार पनि नभई पञ्चायतकालमै जागिर छाडेर गोलधाप गाविसको प्रधानपञ्च भए। सामान्य परिवारका लिङ्देनको बाल्यकाल पञ्चायती वातावरणमा हुर्किन थाल्यो। गोलधापबाट माध्यमिक शिक्षा पूरा गरेपछि लिङ्देन मेची बहुमुखी क्याम्पसमा पढ्न थाले। त्यहाँ पढ्दापढ्दै २०३९ सालमा उनी तत्कालीन पञ्चायत समर्थक स्वतन्त्र विद्यार्थी मण्डलमा आबद्ध भए।
कमल थापा त्यति बेला त्यो विद्यार्थी संगठनका अध्यक्ष थिए। २०१२ सालमा डिल्लीबजारमा जन्मेका कमल थापाको परिवारले लिङ्देनको जस्तो अभावमा गुज्रिनुपरेन। उनका बुबा छत्रबहादुर थापा नेपाली सेनाका कर्णेल थिए।
यसरी थापाकै नेतृत्वमा विद्यार्थी राजनीति सुरू गरेका लिङ्देन उनलाई आफ्नो राजनीतिका ‘आदर्श’ मान्थे।
पञ्चायत समर्थकलाई त्यति बेला ‘मण्डले’ भनिन्थ्यो। उनी गलामा ‘मण्डले’ को माला भिरेरै भए पनि पञ्चायतलाई सहयोग गरिरहेका थिए।
२०४६ सालमा पञ्चायतविरूद्ध जनआन्दोलनको उभार उठ्यो। मेची क्याम्पस पढिरहेका लिङ्देनलाई जनआन्दोलनमा पञ्चायतलाई सघाएको मात्रै आरोप लागेन। मेची क्याम्पसमा विद्यार्थी आन्दोलन हुँदा झापाका राम थापाको हत्या अभियोग पनि लाग्यो। उनी त्यो आरोपमा केही समय जेल परेका थिए।
जनआन्दोलनपछि पूर्वपञ्चहरूको समूह राप्रपा गठन गरेर बहुदलीय राजनीतिक प्रतिस्पर्धामा आएको थियो। हत्या अभियोगबाट मुक्ति पाएपछि लिङ्देन २०४८ मा राप्रपाको प्रजातान्त्रिक विद्यार्थी संगठनमा लागे। संगठनको केन्द्रीय अधिवेशन हुँदा उनी अध्यक्ष चुनिए। त्यसपछि लिङ्देनले लगातार तीन कार्यकाल राप्रपाको विद्यार्थी संगठन हाँके।
विद्यार्थी संगठनको राजनीतिसँगै उनी झापा गोलधापको वडाध्यक्ष पनि भए। लिङ्देनले २०४९ र २०५४ को चुनावमा गोलधापमा वडाध्यक्ष जितेका थिए।
दुई कार्यकाल वडाध्यक्ष चलाएका उनले आफ्नो क्षेत्रमा प्रभाव जमाउन थालिसकेका थिए।
झापा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला थिए। तिनै सिटौलासँग लिङ्देनले चुनाव लड्ने दुस्साहस गरे। २०५६ को संसदीय चुनावमा सिटौलासँग प्रतिस्पर्धा गर्दा उनले तेस्रो मत ल्याए।
जब २०६० सालमा राजा ज्ञानेन्द्रको सक्रिय शासन प्रारम्भ भयो, त्यस बेला पञ्चायतलाई सहयोग गर्ने उपयुक्त पात्रको खोजी हुन थाल्यो। राजाको प्रत्यक्ष शासनकालमा लिङ्देन कमल थापाले नेतृत्व गरेको राप्रपा नेपालमा आबद्ध थिए।
राजाको शासनकालमा राप्रपा नेपाल पदको लाभ लिनेमा ‘अग्रपंक्ति’ मा थियो। लिङ्देन २०६० सालमा जिल्ला विकास समिति झापाको सभापति बनाइए। २०६१ मा दोस्रोपटक उनलाई जिविसको सभापति बनाइएको थियो।
‘लगातार दुई कार्यकाल जिविस सभापति बन्दा उनले आफ्नो निर्वाचन क्षेत्रमा सकेसम्म बजेट खन्याएर विकास गरे,’ उनलाई चिन्ने झापाका एक जना एमाले नेता भन्छन्, ‘त्यसपछि उनी आफ्नो क्षेत्रमा लोकप्रिय हुन थाले।’
२०६२/६३ को दोस्रो जनआन्दोलनपछि ज्ञानेन्द्रको शासन मात्र ढलेन, जनआन्दोलनको बलमा प्रतिनिधिसभा पुनर्स्थापनापछि लिङ्देन आबद्ध राप्रपा नेपालको अस्तित्व नै हराउन थालेको थियो।
२०६४ मा राप्रपा नेपालको केन्द्रीय सदस्य भए पनि राजनीतिक गतिविधिमा लिङ्देन त्यति देखिएनन्। ज्ञानेन्द्रको शासनमा साथ दिएको, पञ्चायती व्यवस्थाको कट्टर समर्थक भएका कारण त्यस बेला उनी माओवादीका ‘आँखी’ भए। माओवादीले उनको घरमा आगो लगाए। उनी विस्थापित भएर बिर्तामोड बजारमा बस्न थाले।
जनआन्दोलनको बलले मुलुक गणतन्त्रमा पुग्यो। उनी राप्रपा नेपालमा रहेर कमल थापालाई सहयोग गरिरहेका थिए।
संविधानसभा निर्वाचनपछि माओवादी पहिलो पार्टी बनेर सत्तामा पुग्यो। उसका गतिविधि सरकारकेन्द्रित भए। माओवादीको जगजगी साम्य हुन थालेपछि लिङ्देन सक्रिय राजनीतिमा फर्के।
पहिलो संविधानसभा असफल भएपछि मुलुक दोस्रो संविधानसभातर्फ केन्द्रित भयो। राप्रपा नेपाल हिन्दु राष्ट्र र राजतन्त्रको पक्ष लिएर २०७० को चुनावमा होमियो। उनी चिरपरिचित प्रतिद्वन्द्वी सिटौलासँग फेरि आमनेसामने हुने अठोटमा पुगे। तर दोस्रो बढी मत ल्याएर पराजित भए।
त्यसपछि लिङ्देन २०७० सालमा थापा नेतृत्वको राप्रपा नेपालमा महामन्त्री भएका थिए।
उनै लिङ्देनले सिटौलालाई भारी मतान्तरले पराजित गर्दै २०७४ को प्रतिनिधिसभामा विजयी भए। त्यस बेलासम्म आइपुग्दा केपी शर्मा ओली नेतृत्वको एमालेले लिङ्देनलाई साथ दिएको थियो।
प्रत्यक्षतर्फको चुनावमा जितेर राप्रपा पार्टीलाई शून्य सिटबाट जोगाएपछि उनले ‘वाहवाही’ कमाएका थिए।
‘हार्डकोर’ राजावादी भएका कारण थापाले लिङ्देनलाई सहकर्मी बनाएका थिए। तर तिनै लिङ्देन थापालाई विस्थापन गरेर राप्रपाको कमाण्डर भएका छन्।
राप्रपाको एकता महाधिवेशनबाट लिङ्देनले थापालाई २२७ मतले पराजित गरे। आइतबार बिहान सकिएको मतगणनामा लिङ्देनले १८४४ र थापाले १६१७ मत ल्याए।
एकता महाधिवेशनमा होमिँदा राप्रपालाई पुस्तान्तरण गर्नुपर्ने आवाज लिङ्देनले नै उठाएका थिए। महाधिवेशनको उद्घाटन सत्र चलिरहँदा लिङ्देनले थापालाई लक्ष्य गर्दै भाषण गरेका थिए- पुरानो नेतृत्वबाट राजतन्त्र पुनर्स्थापना र हिन्दु राष्ट्रको एजेन्डा स्थापित हुन सकेन। अब तपाईंहरू अभिभावक भएर नेतृत्व हस्तान्तरण गर्न तयार हुनुहोस्।
उनले आफू नेतृत्वमा पुगे राजसंस्था र हिन्दु राज्यका लागि छ महिनामै अभियान चलाएर राप्रपालाई सशक्त बनाउने घोषणा गरे।
मंसिर १५ गते उद्घाटन भएको राप्रपाको बन्दसत्र भोलिपल्टसम्म चल्यो। मतदाता नामावलीको विवाद सल्टाउँदै १८ गते १२ बजेबाट मतदान सुरू भयो। मतदान मध्यराति सकियो र गणना हुँदा लिङ्देनले आफूले मानेका आदर्श व्यक्ति थापालाई पराजित गरे।
लिङ्देनलाई राप्रपाभित्र हिन्दुराष्ट्र र राजतन्त्र पुनर्स्थापना गर्नुपर्छ भन्ने आदिवासी, जनजाति लगायत आममतदाताले पत्याएका छन्। साथसाथै लिङ्देनलाई निर्मल निवासले राप्रपा नेतृत्वमा पुर्याएको आरोप लागेको छ।
निर्वाचनबाट पराजित भएपछि राप्रपाको लामो विरासत थामेका थापाले राप्रपाको राजनीतिमा निर्मल निवास हाबी भएको आरोप लगाएका छन्।
कार्यकारी पदमा पुगेसँगै ५६ वर्षीय लिङ्देनलाई लामो समय पार्टी हाँकेका थापाले हजारौंपटक उठाएको राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डामा समर्थन बढाउने चुनौती छ।