फाइल फोटो: यातायात कार्यालय एकान्तकुनामा लाइसेन्सका लागि लागेको सर्वसाधारणको भीड
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिनको लागि सर्वसाधारणले सास्ती खेप्नु परेको भन्दै यातायात व्यवस्था विभागले निकै तामझामको साथ सुरु गरेको अनलाइन फारम प्रणाली प्रयोगविहीनजस्तै भएको छ।
अनलाइन फारम प्रणाली प्रयोगविहीन भएपछि अहिले सयौं सर्वसाधारण बिहानैदेखि लाइसेन्स फारमका लागि यातायात कार्यालयमा लाइन लाग्न पुग्ने गरेका छन्।
गत पुसमा सवारी चालक अनुमति पत्रका लागि अनलाइन फारम प्रणाली सुरु भएको थियो। तत्कालीन भौतिक पुर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले लाइसेन्स नवीकरण, सवारी दर्ता लगायतका कार्यमा अनलाइन प्रणाली लागू गरेका थिए। अनलाइनबाट फारम भरे पनि टोकन लिन लाइन बस्नुपर्ने बाध्यताको कारण अनलाइन सेवा निस्कृय बनेको यातायात कार्यालय बागमति अञ्चल स्वीकार गर्दछ।
अनलाइन फारम प्रणाली प्रभावकारी हुन नसकेपछि कार्यालयका प्रमुख तेज नारायण यादवले फारम नभरी नागरिकताको फोटोकपीमा १० रुपैयाँको हुलाक टिकट टाँसेर बुझाउने प्रकृया सुरु गरेका छन्।
त्यस्तै लाइसेन्समा वर्ग थप गर्नु परेमा लाईसेन्सको फोटोकपीमा टिकट टाँसेर बुझाउनुपर्ने हुन्छ। यसले सेवाग्राहीलाई केही सहजता भएको छ।
यो प्रकृयाले विवरण गल्ती नहुने र फारम भर्ने झण्झट नहुने साथै बिचौलियाहरुबाट सेवाग्राही ठगिने सम्भावना पनि धेरै हदसम्म हट्ने विश्वास गरिएको छ।
अनलाइनबाट फारम भर्नेहरु सबैलाई ब्यवस्थापन गर्न नसकिने तथा टोकन लिन सेवाग्राहीले लाईन नै बस्नुपर्ने भएकोले अनलाईन फारम प्रणली त्यति प्रभावकारी हुन नसकोको सवारी चालक अनुमतिपत्र कार्यालय वागमती अञ्चलका सुचना अधिकारी ईश्वर राज रेग्मीले बताए।
‘अनलाइनबाट कर्मचारीले विवरण भर्नु नपर्ने हुँदा अलि छिटो हुन्छ भन्ने मात्र हो, लाइन बस्नै नपर्ने भन्ने होइन’ उनले भने।
तोकिएको संख्याले आवेदन दिएर सीमा सकिएपछि अनलाइनबाट दर्ता गर्न नमिल्ने, दर्ता भइहाले पनि टोकन लिन पुनः लाइन बस्नुपर्ने आदी समस्याका कारण सेवाग्राही यसतर्फ आकर्षित हुन नसकेको रेग्मीले स्वीकार गरे।
लाइसेन्सको लागि आवेदन दिँदा आफू करिव ४ घण्टा लाइन बस्नुपरेको सेवाग्राही सुरेन्द्र शाक्यले बताए। अनलाइनबाट भर्न लाग्दा सीमा सकिएर भर्न नमिलेपछि आफू लाइनै बस्न बाध्य भएको शाक्यले गुनासो पोखे।