नियमित घरायसी सामान किन्ने किराना पसलमा एक दिन मैले केही सामान किन्दा ८८ रुपैयाँ भएछ। मैले १ सय रुपैयाँ दिएँ। पसलेले १० रुपैयाँ र एउटा चकलेट हातमा थमाइदियो। ठीकै छ भनेँ।
चकलेट खाएँ सकेँ। दिउँसो कार्यालय मध्य बानेश्वर जाँदा टेम्पोमा चढेर गएँ। भाडा कति भनेर सोध्दा १८ रुपैयाँ भनिन् चालकले। २० रुपैयाँको नोट दिएँ मैले। ‘खुद्रा क्वाइन भएन, ३ रुपैयाँ भए दिनोस्, म पाँच दिन्छु’ भनिन्।
मसँग पनि क्वाइन थिएन, त्यसैले होस् त भनेर छाडिदिएँ। फर्केर आउँदा अर्को टेम्पोले भने २ रुपैयाँ फिर्ता दियो। मैले त्यो क्वाइन खल्तीमै राखे पनि घरमा पुगेर कपडा हेरफेर गर्दा कता झरेछ पत्तो पाइनँ र वास्ता पनि गरिनँ।
यसरी खुद्रा क्वाइनलाई महत्व नदिँदा मैले दैनिक ५ रुपैयाँ भन्दा बढी नोक्सानी ब्यहोर्न थालेँ। मेरो नोक्सान मात्रै होइन, नजानिँदो पारामा यहाँ ठगी भइरहेको छ, मैले एक दिन गम्भीर रुपमा विश्लेषण र परीक्षण गर्न उत्रिएँ।
आफैले क्वाइन लिएर हिँड्न थालेँ, जसले खुद्रा १, २, ३ वा ४ रुपैयाँ दिँदैन, उसलाई मैले नै दिएर नोट लिन थालेँ। अहिले किराना पसलेले मलाई चकलेट होइन, खुद्रा क्वाइन नै दिन थालेको छ। पछि थाहा भयो, मैले पाउने खुद्रा २ रुपैयाँमा ५० पैसाको चकलेट थमाइँदो रहेछ।
आजकाल टेम्पो चालकले क्वाइन भएन भन्यो भने मैले भन्ने गरेको छु ‘क्वाइन नभए, बैंकबाट साटेर राख्नु होइन भने तपाईले ठगी गर्दै हुनुहुन्छ, तपाई ठग बन्दै हुनुहुन्छ।’
हो, यस्तै आँट गरौँ सबैले। क्वाइन अर्थात सिक्का पैसा लिने र दिने बानी बसालौँ। भएसम्म आफूले नै क्वाइनको व्यवस्था गरेर हिँडौँ, नजानिँदो ठगलाई नियन्त्रण गरौँ।