एउटा जीवन बिमा कम्पनीलाई तोकिएको चुक्ता पुँजी २ अर्ब रुपैयाँमध्ये ३० प्रतिशत रकम सर्वसाधारणबाट जुटाउनुपर्दछ। सो अनुरुप एउटा कम्पनीले ६० लाख कित्ताका दरले दस जीवन बिमा कम्पनीले कुल ६ करोड कित्ता आइपिओ निश्कासन गर्नेछन्।
सेयर बजारमा सबैभन्दा आकर्षक मानिएको बिमा कम्पनीहरुको अब आइपिओ समेत किन्न पाइने भएको छ। अनुमति पाएका १० जीवन बिमा कम्पनीहरुले सर्वसाधारणका लागि कम्तीमा ६ करोड कित्ता आइपिओ जारी गर्नेछन्।
बैंक तथा बिमा कम्पनीहरुले कुल चुक्ता पुँजीमा कम्तीमा ३० प्रतिशत स्वामित्व सर्वसाधारणलाई दिनुपर्ने प्रावधानअनुरुप सो परिमाणको आइपिओ सर्वसाधारणले पाउने भएका हुन्।
एउटा जीवन बिमा कम्पनीलाई तोकिएको चुक्ता पुँजी २ अर्ब रुपैयाँमध्ये ३० प्रतिशत रकम सर्वसाधारणबाट जुटाउनुपर्दछ। सो अनुरुप ६० लाख कित्ताका दरले दस जीवन बिमा कम्पनीले कुल ६ करोड कित्ता आइपिओ निश्कासन गर्नेछन्।
सर्वसाधारणका लागि छुट्याइएको सेयरबाट बढीमा ५ प्रतिशत कर्मचारी र म्युचुअल फण्ड कम्पनीहरुलाई छुट्याएपछि बाँकी रहेकोमा सार्वजनिक बिक्रीमार्फत निश्कासन गरिन्छ।
बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईंका अनुसार कम्पनीहरुले पहिले संस्थापक पुँजी सुनिश्चित गर्नेछन् र संचालनमा आएपछि मात्रै ३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्नुपर्दछ। संस्थापकतर्फबाट पुँजी १ अर्ब ४० करोड रुपैयाँ सुनिश्चित भएपछि मात्रै सर्वसाधारणका लागि जारी गर्ने बाटो खुल्छ। ‘संस्थापकतर्फको पुँजीमध्ये १ अर्ब २० करोड रुपैयाँ बिमा समितिमा नै सुरक्षित गर्नुपर्ने र बाँकी २० करोड रुपैयाँबाट कार्यालय तथा स्रोत साधनको व्यवस्थापन कम्पनीहरुले गर्नुपर्दछ’ चापागाईंले भने।
सम्पूर्ण जीवन बिमा कम्पनीहरुलाई चुक्ता पुँजी २ अर्ब पुर्याउनुपर्नेगरी बिमा व्यवसाय संचालन निर्देशिका बनेको छ। यो निर्देशिकाअनुसार स्वीकृति पाएका नयाँ जीवन बिमा कम्पनीहरुले भने एकैपटक पुँजी पुर्याउने छन्। सिटिजन्स, स्टार, सन, सानिमा, रिलायन्स, रिलायबल, आइएमई, महालक्ष्मी, ज्योति र युनियन लाइफ इन्स्योरेन्स कम्पनी हालै स्वीकृत पाएका जीवन बिमा कम्पनी हुन्।
कहिले आउँछ त नयाँ कम्पनीको आइपिओ ?स्वीकृति पाएका कम्पनीहरु करिब ६ महिनामा संचालनमा आइसक्ने समितिका अध्यक्ष चापागाईंले जानकारी दिए। संचालनमा आएको एक वर्षमा ति कम्पनीहरुले आइपिओ जारी गर्नुपर्दछ।
नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरीका अनुसार यी कम्पनीहरुले अंकित मूल्य एक सय रुपैयाँमै आइपिओ जारी गर्नुपर्दछ। ‘बैंक तथा बिमा कम्पनीहरुले प्रिमियममा आइपिओ जारी गर्न पाउँदैनन्, उत्पादनमूलक नयाँ कम्पनीहरुका लागि मात्रै प्रिमियममा आइपिओ जारी गर्न पाउने व्यवस्था छ’ सेतोपाटीसितको कुराकानीमा गिरीले भने।
कस्तो छ बिमा कम्पनीहरुको बजार स्थिति ?बिमा कम्पनीहरुको सेयर बजारमा समूहगत रुपमा हेर्दा सबैभन्दा महँगो छ। बजारमा सूचीकृत जीवन बिमा कम्पनीहरुमध्ये कुनैको पनि ११ सय रुपैयाँभन्दा कम सेयर मूल्य छैन। जीवन बिमा कम्पनीको उच्चतम मूल्य प्रतिकित्ता २३ सय रुपैयाँसम्म छ। जीवन बिमामध्ये सबैभन्दा बढी नाफा कमाउने गरेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको मूल्य एक वर्षअघि ४ हजार ५ सय रुपैयाँ नाघेकोमा अहिले भने कम्पनीको मूल्य प्रतिकित्ता २२ सय रुपैयाँको हाराहारीमा छ।
चुक्ता पुँजी पुर्याउन कतिपय कम्पनीले प्रिमियममा एफपिओ निश्कासन गरिरहेका बेला अंकित मूल्यमै आइपिओ पाउनु सर्वसाधारण लगानीकर्ताका लागि निकै आकर्षक पक्ष हो। लामो समयपछि बिमा कम्पनीमा आइपिओको अवसर आएको हो।
बिमा कम्पनीहरुको बजारमा मूल्य उतारचढाव पनि द्रुत हुने गर्दछ। बिमा समूह सबैभन्दा बढी उतारचढाव हुने समूह हो।